Friday, June 13, 2014

एक ध्रुवीय संसारको अन्त्य

द्वितीय विश्वयुद्धपछि विजयी राष्ट्रहरू खासगरी सोभियत संघ र संयुक्त राज्य अमेरिकाले युरोपियन मुलुकलाई भागबन्डा गरी आआफ्नो प्रभाव क्षेत्रमुनि पारी आफूहरूलाई दुई महाशक्तिका रूपमा उभ्याएका थिए।
नर्थ एटलान्टिक सन्धि संगठन 'नेटो' र वार्सा प्याक्ट यसैका उपज थिए। यसरी संसारलाई दुई ध्रुवमा विभाजित गरी ती दुई राष्ट्र शीतयुद्धमा रुमलिएका थिए। त्यो शीतयुद्धको समाप्ति र सन् १९९१ मा सोभियत संघको विखण्डन भएपछि त्यसको प्रभावस्वरूप पूर्वी युरोपियन देशहरूमा रहेको केही सीमासम्मको समाजवादी व्यवस्थाको अवशान भएपछि संयुक्त राज्य अमेरिकाले

नेटो सैनिक गठबन्धन भंग गर्नुपथ्र्यो। तर सोभियत संघको विघटनको घटनालाई अमेरिकाले आफ्नो पुँजीवादी बाटो सधैंका लागि विजय भएको घटनाको रूपमा लिई संसारभरि एकछत्र रूपमा आफ्नो सिद्धान्त लागू गराउने अवसरका रूपमा लियो।

अब इतिहासको अन्त्य भयो भन्ने फुकोयामा जस्ता लेखकले तत्कालीन राष्ट्रपति जर्ज बुसको विजय घमण्डमा थप मलजल पुर्‍याउने काम गरे। त्यसैले त्यतिबेला अमेरिका र इजरायलमा समेत बहुसंख्यक जनताले अमेरिकाको नेतृत्वमा बहुराष्ट्रिय सेनाले इराकमाथिको आक्रमणको विरोध गर्दा गर्दै पनि विजय दम्भले इराकमाथि सन् १९९० फेब्रुअरीमा हमला भयो। सद्दाम हुसेनले गरेको अपराधको तुलनामा लाखौं गुणा बढी सजाय इराक तथा इराकी जनतालाई दिइयो।

त्यतिबेला सोभियत संघको महाशक्तिका रूपमा पतन भइसकेको थियो र मिखाइल गोर्वाचोभले अमेरिकी प्रस्तावको पक्षमा सुरक्षा परिषद्मा मतदान गरेकाले राष्ट्रसंघको नाममा इराकमाथि आक्रमण भयो। यसरी सोभियत संघ विघटनको पहिलो सिकार भएको थियो इराक र यो पनि संयुक्त राष्ट्रको नाममा जसको प्रमुख उद्देश्य भनेको राष्ट्रहरूका बीचमा युद्ध रोक्नु हो।

एक ध्रुवीय संसार भएकैले इराकसँग आमविनाशका हतियार छैनन् भन्ने थाहा हुँदाहुँदै पनि अमेरिकाले इराकलाई सम्पूर्ण रूपमा तहसनहस पार्ने योजना जारी राख्यो र अन्तत: सबै अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाउँदै सन् २००३ मा इराकलाई आफ्नो कब्जामा लियो। अहिले अमेरिकी सेनाले औपचारिक रूपमा इराकी भूमि छोडे पनि त्यो मुलुक अनौपचारिक रूपमा अमेरिकी नियन्त्रणमा छ। भोलि अफगानिस्तानमा अमेरिकी सेनाले छोडे पनि त्यहाँ पनि अमेरिकाले आफ्नो सम्पूर्ण आधिपत्य त्याग्ने छैन र कुनै न कुनै रूपमा त्यहाँ अमेरिकी सुरक्षाबलको उपस्थिति हुनेछ। यसरी एकातिर अमेरिकाले एकध्रुवीय शक्तिको प्रदर्शन गर्दै जाँदा र अर्कोतर्फ नेटो गठबन्धनले हिजो सोभियत संघको प्रभावमा रहेका देशलाई एकपछि अर्को गरी आफ्नो छातामुनि ल्याइरहँदा रूसले त्यसलाई सहज रूपमा लिएको थिएन।

अर्कोतिर पश्चिमी देशको दोहोरो मापदण्डको उदाहरण पनि रूसी नेताले राम्ररी बुझेका थिए र खासगरी युगोस्लाभिया विखण्डनमा र कोसोभोको स्वतन्त्र राष्ट्रको उदयमा अमेरिकाले खेलेको भूमिकाले पनि रूसलाई सधैं सशंकित गराएको थियो। तर अमेरिकाले रूसलाई एउटा अस्ताएको शक्ति ठानेर उसकै वरिपरिका देशलाई नेटो गठबन्धनमा सामेल गराउने कार्य जारी राख्यो र अन्त्यमा रूसको ढोकामै रहेको युक्रेनमा पनि पश्चिमी देशसमर्थित र युरोपेली युनियनमा प्रवेशलाई समर्थन गर्ने सरकारको स्थापनामा आफ्नो समर्थन दियो। यसको प्रतिक्रियास्वरूप रूसले युक्रेनको स्वशासित क्षेत्र क्रिमियालाई आफूमा विलय गर्ला र पूर्वी युक्रेनमा भएका रूसी भाषा बोल्ने जनताको समर्थनमा खुलेर आउला भन्ने अमेरिकालगायत पश्चिमी देशहरूले सोचेका थिएनन्। ती देशले मिखाइल गोर्वाचोभ र बोरिस यल्तसिनले जस्तै गरी भ्लादिमिर पुटिनले पनि उनीहरूको जस्तो नीति स्वीकार गर्नेछन् भन्ने सोच्नु ठूलो भूल थियो।

रूसले आफ्नो शक्ति प्रदर्शन गरेर क्रिमियालाई सहजै आफूमा विलय गराएको घटनाले संसार अब हिजाको जस्तो एक ध्रुवीय रहन सक्दैन भन्ने देखाएको छ।

यद्यपि सैनिक शक्ति र आणविक शक्तिको हिसाबले अहिले पनि अमेरिका अहिलेको विश्वजस्ता २० वटा संसारलाई पनि ध्वस्त पार्ने क्षमता राख्छ। तर अब क्रिमियाको विषयलाई लिएर अमेरिकाले आफ्नो सामरिक र आणविक शक्तिको प्रयोग गरेमा यसले तेस्रो विश्वयुद्धलाई निम्त्याउन सक्छ भन्ने चिन्ता पनि उत्पन्न भएको छ। राष्ट्रसंघमा युक्रेनको विषयलाई लिएर मतदान हुँदा भारत, चीन, ब्राजिलजस्ता देशले अमेरिकाको पक्षमा खुलेर आउन नसक्नु र युरोपेली युनियनका देशले पनि अमेरिकाले चाहेजस्तो सम्पूर्ण रूपमा रूसमाथि आर्थिक नाकाबन्दी लगाउन नमानेकाले पनि अब अमेरिकाले ढिलोचाँडो रूससँगको नीतिमा परिवर्तन ल्याउनुपर्ने आवश्यकता देखिन्छ। एकातिर रूसले अमेरिकी शक्तिलाई चुनौती दिई पश्चिमी देशको खेललाई असफल तुल्याइदिनु र अर्कोतिर बेलाबेलामा उत्तरकोरियाजस्तो सानो र तुलनात्मक रूपमा अविकसित देशले अमेरिकालाई चुनौती दिएको घटनाबाट पनि अब संसार एकध्रुवीय नरहेको पुष्टि हुन्छ।



अमेरिकाले एकतर्फी रूपमा कारबाही गरेमा त्यसको परिणामस्वरूप तेस्रो विश्वयुद्ध हुनसक्ने सम्भावना छ भन्ने युक्रेनलगायतका घटनाले पुष्टि गरेका छन्। अमेरिकाले आक्रमण गरेमा उत्तरकोरियाजस्ता राष्ट्रले पनि आणविक हतियारको प्रयोग गर्नसक्ने खतरा छ भन्ने गएको महिना एसियाको चार मुलुकमा जाँदा अमेरिकी राष्ट्रपति बाराक ओबामाले व्यक्त गरेका विचारबाट स्पष्ट हुन्छ। उनले भनेका छन्- उत्तर कोरियाले सीधै अमेरिकाको सुरक्षामा आँच पु:याउन सक्छ।

उत्तरकोरियाको कारणले पनि अमेरिकी सुरक्षा ढाँचामा खतरा हुन सक्छ भने अबको संसार एक अर्कासँगको विश्वास र सहयोगका आधारमा मात्र बाँच्न सक्छ भन्ने देखाउँछ। आणविक शक्ति भएको राष्ट्र सानो-ठूलो जे भए पनि संसारको अस्तित्व बचाउन ती सबै राष्ट्रको समान उत्तरदायित्व हुन्छ। सानो राष्ट्रप्रति असमान व्यवहार अथवा दाहोरो मापदण्ड अपनाइएको खण्डमा त्यसले ल्याउने परिणामले ठूलो राष्ट्रलाई पनि उत्तिकै प्रभावित गर्न सक्छ। दुई कोरियाका बीचमा युद्ध भयो भने त्यसको असरले अमेरिकाजस्तो महान् शक्ति पनि नकारात्मक रूपबाटै प्रभावित हुनेछ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment