Friday, June 13, 2014

किन कुटे रमेशले विद्यार्थी बालकलार्इ

धरानको सनराइज बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्ययनरत १२ वर्षीय छात्र एसास तामाङमाथि पाइपले शरीरका विभिन्न भागमा निर्घात कुटपिट गर्ने प्रिन्सिपल रमेश राईलाई माफी दिएर घटना गुपचुप पारिएको छ।

पीडित पक्षले प्रहरी र मानव अधिकारकर्मीसँग न्यायका लागि गुहार मागे पनि कतैबाट सहयोग नपाएको भन्दै मिलापत्र गर्न बाध्य पारिएको बताए।
मंगलबार विद्यालयको कक्षा ३ मा अध्ययनरत अविनाश देशसँग विवाद उत्पन्न हुँदा भएको झगडाको विषयलाई लिएर विद्यालय छुट्टी हुने बेला प्रिन्सिपल राईले आफूमाथि निर्घात कुटपिट गरेको एसासले बताए। राईले प्लास्टिकको पाइपले कुटेपछि एसासको ढाड, हात र खुट्टाभरि चोट लागेको छ। उनको नीलडाम अझै निको भएको छैन। कुटपिटपछि बेहोस भएका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराई घर ल्याइएको एसासका बाबु सुरेश तामाङले बताए। उनले एसासलाई कुटपिट गर्ने शिक्षकलाई कारबाही गर्न प्रहरी कार्यालय, बालअधिकारकर्मीकहाँ गुहार मागे पनि सहयोग नपाएको बताए। प्रिन्सिपलबाटै कुटाइ खानु परेपछि बुधबारदेखि एसास स्कुल जान छाडेका छन्। उदयपुर घर भएका बाबु सुरेशले भने आफू धरानमा भाडामा बस्दै आएकाले सहयोग नपाएको गुनासो गरे।

प्रिन्सिपल रमेशले एसासलाई निर्घात कुटपिट गर्नु गलत भएको स्वीकार गर्दै आत्मालोचना गरेपछि प्याब्सन सुनसरीका अध्यक्ष नरबहादुर थापा र एनप्याब्सन सुनसरीका सहसचिव सागर खड्काको उपस्थितिमा मिलापत्र गरिएको छ। पीडित पक्षसहितको छलफलमा प्रिन्सिपल राईले एसासलाई कुटपिट गर्नु गल्ती स्विकारेको र एसासलाई १० कक्षासम्म विद्यालयमा नि:शुल्क पढाउने लिखित सहमति भएपछि घटना मिलापत्र गरिएको एसासका बाबु सुरेशले बताए।

एनप्याब्सन सुनसरीका सहसचिव सागर खड्काले छलफलमा प्रिन्सिपल राईले माफी मागेपछि छात्रको उपचार खर्च बेहोर्ने र १० कक्षासम्म नि:शुल्क विद्यालयमै अध्ययन गराउने लिखित सहमति गरेपछि दुबैतर्फको सहमतिमा घटना मिलापत्र गरेको बताए। उनले छात्र एसास विद्यालयमा नआएको खण्डमा थप क्षतिपूर्ति दिलाउन एनप्याब्सनले पहल गर्ने बताए। एसासका बुवा सुरेशले इलाका प्रहरी कार्यालय धरानमा प्रिन्सिपल राईमाथि कारबाहीको माग गर्दै निवेदन समेत दिएका थिए। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजालले एसासमाथि कुटपिट गरिएको घटनामा विभिन्न संघसंस्थाको रोहवरमा दुवै पक्षबीच सहमति गरी मिलापत्र गरेको जानकारी आएकाले कानुनी कारबाही गर्न समस्या परेको बताए।

प्रिन्सिपलले प्लास्टिकको पाइपले कुटेपछि

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment