Monday, June 9, 2014

आमाकै हातबाट खोसेर बालक अपहरण

काठमाडौं : राजधानीमा आइतबार दिउँसो पेस्तोल देखाएर अपहरण गरिएका एक बालकलाई प्रहरीले २० मिनेटमै सकुशल उद्धार गरेको छ।

दुईवटा motorcycle मा आएका चारजनाले धापासी हाइटबाट पाँच वर्षीय सिद्धान्त बजाजलाई आमा पिंकीकै हातबाट खोसेर अपहरण गरेका थिए।

महाराजगन्जस्थित मिल्सबेरी किड्स वल्र्ड इन्टरनेसनल स्कुलमा यूकेजी अध्ययनरत सिद्धान्तलाई स्कुल भ्यानले अपराह्न ३ बजे छाड्नेबित्तिकै अपहरणकारीले चालकलाई पेस्तोल देखाएर आफूबाट खोसेर लगेको पिंकीले बताइन्। उनीहरू इन्द्रपुरी आवासमा बस्दै आएका छन्।


उनले भनिन्, 'छोरालाई भ्यानबाट झारेर मैले झोला लिनेबित्तिकै खोसेर बा३२प ९०९८ नम्बरको मोटरसाइकलमा हालेर लगेका थिए।'

दुईवटा मोटरसाइकलमा आएका चारजनाले धापासी हाइटबाट पाँच वर्षीय सिद्धान्त बजाजलाई आमा पिंकीकै हातबाट खोसेर अपहरण गरेका थिए।
अपहरणका मुख्य योजनाकार सुमन भनिने खेम खड्का र विवेक राईले सिद्धान्तलाई मोटरसाइकलमा राखेपछि भ्यान चालकलाई पेस्तोल देखाएर भागेका थिए।

सिद्धान्तलाई अपरिचित समूहले लगेको थाहा पाएपछि आवास क्षेत्रकी सञ्चालिका सरिता श्रेष्ठ लामाले प्रहरीलाई खबर गरेकी थिइन्। प्रहरीले तत्काल उक्त सूचना आफ्ना निकायमा सबैतिर प्रवाह गरेर गाडी र मोटरसाइकलमा निगरानी गरेको थियो। सुमनले प्रहरीको जाँच छल्न नयाँ बसपार्कमा मोटरसाइकल रोकी सिद्धान्तलाई सार्वजनिक माइक्रोबसमा हालेर कलंकीतर्फ लागेका थिए।

प्रहरीले हलचोकअगाडि गाडी खानतलासी गर्दा बा१ज ९७७३ नम्बरको माइक्रोबसमा सुमन र अपहृत सिद्धान्तलाई फेला पारेको थियो। सुमनलाई पक्राउ गरेपछि उनको बयानका आधारमा प्रहरीले बाफलबाट केशव तामाङ, निषेध तामाङ र सुरज लिम्बूलाई पक्राउ गरेको थियो।

विवेक राई, रमेश अधिकारी र मनीषा खड्का गोंगबुबाट पक्राउ परेका थिए। मनीषा सुमनकी पत्नी हुन्। पक्राउ परेका सबै झापा धुलाबारीका हुन्।

प्रहरीले अपहरणकारीको झोलाबाट एक थान कटुवा पेस्तोल, एक थान पेस्तोल, त्यसमा लाग्ने तीन राउन्ड गोली र एउटा खुकुरी बरामद गरेको छ। सिद्धान्तका बाबु दीपक न्युरोडस्थित सुरज आर्केडमा जुत्ताको होलसेल व्यापार गर्छन्।

घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसएसपी विजयलाल कायस्थले भने, 'अपहरणकारीले दुई महिनाअगाडिदेखि अपहरणको योजना बनाएका रहेछन्। एक सातादेखि काठमाडौंमा आएर सिद्धान्तको पिछा गरिरहेका रहेछन्।'

तीन बजे सिद्धान्तको अपहरण भएको थियो भने प्रहरीले ३:२० बजे सकुशल उद्धार गरेको थियो। कायस्थका अनुसार अपहरणकारीले सिद्धान्तलाई झापामा लगेर परिवारसँग ३० देखि ४० लाख रुपैयाँ फिरौती मागी आपसमा बाँड्ने योजना बनाएका थिए। अपहरणकारीले सिद्धान्तलाई भुलाउन माइक्रोबसभित्र मोबाइल फोनमा गेमसमेत खेल्न दिएका थिए। 'यो गिरोह संगठित रूपमा अपहरण गर्ने योजनामा देखियो, उनीहरूमाथि अपहरण तथा शरीर बन्धक र संगठित अपराधमा मुद्दा चलाउँछौं', कायस्थले भने।

अपहरणकारी र सिद्धान्तका परिवारबीच चिनजान तथा कुनै सम्बन्ध नदेखिएको प्रहरीले जनाएको छ। महाशाखामा भेटिएका सिद्धान्तका बुवा दीपक र आमा पिंकीले अपहरणकारी कसैलाई पनि आफूहरूले नचिनेको बताए। दीपक र पिंकीले सिद्धान्तको सकुशल उद्धार गर्ने प्रहरीप्रति आभार व्यक्त गर्दै भनेका थिए, 'हामीले छोटो समयमा छोरो सकुशल पायौं, प्रहरीलाई धेरैधेरै धन्यवाद!

अपहरण महानगरीय प्रहरी प्रभाग तिलिंगेटारबाट करिब ५० मिटरको दूरी भएको थियो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment