बिएससीसम्मको अध्ययन गरेका गुप्ताले जागिर छाडेर घरमै भोर्ला पातको थाल बनाउने उद्योग खोलेपछि स्थानीय बासिन्दाले बहुलाएको हो भनी खिल्लीसमेत उडाउने गर्दथे तर उनले सामाजिक आलोचनाको प्रर्वाह नगरी करिब दुई दशकअघि भोर्लाको पातको थाल बनाउने उद्योग सञ्चालन गरे ।
जङ्गल छेउछाउका स्थानीयले चुल्होमा बाल्नका लागि प्रयोग गर्ने भोर्ला पातलाई प्रयोगमा ल्याएर उनले अहिले त्यस क्षेत्रका आधा दर्जन गाविसका ५० भन्दा बढी महिला तथा पुरुषलाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन् । सप्तरीको फत्तेपुर, कञ्चनपुर, उदयपुरको सुन्दरपुर, शिवाई, पर्साहासहितका गाविसका महिला तथा पुरुषले चुरे जङ्गलमा पाइने भोर्लाको पात सङ्कलन गरी पु¥याउने गरेको र त्यही पातलाई थालको रुपमा बनाएर विभिन्न बजारसम्म पठाउने गरिएको छ ।
दसँै, तिहारको बेलामा व्यापारीलाई भोर्ला पातको थाल पुर्याउन आफूलाई भ्याइनभ्याई हुने गरेको गुप्ता वताउछन् । उनी भन्छन् – ‘‘भोज भत्तेर आदीमा खाना खानका लागि प्रयोग गरिने भोर्ला पातको थाल लिनका लागि धेरै टाढाटाढाबाट व्यापारीसमेत घरमै आउने गर्छन् ।” भोर्ला पातको थाल विराटनगर, लहान, ईनरुवा, राजविराज, इटहरी तथा भारतको लौकही, अन्धरामन्ठ, कुनौली भीमनगरसहितका बजारमा अत्यधिक खपत हुने गरेको उनको कथन छ ।
हाल आफ्नो उद्योगमा १६ जना कामदार कार्यरत रहेको हिमाल थाल प्लेट उद्योगका सञ्चालक गुप्ता भन्छन् – जतिबेला उद्योग सञ्चालन गरेँ, त्यतिबेला भोर्ला पातको थाल नौलोे भएकाले खुबै चल्यो, तर पछिल्लो समय बजारमा आधुनिक थालहरू समेत भित्रिसकेकाले अहिले व्यापारमा केही ह्रास आएको छ । - रासस








0 comments:
Post a Comment