युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीकी प्राध्यापक नान्सी इप युक युम नेतृत्वको टोलीले गरेको अनुसन्धानले मस्तिष्क कोषमा यस्तो प्रोटिनको पहिचान गरेको छ जसले सिक्ने र सम्झने शक्तिमा ह्रास ल्याउने काम गर्छ। सँगै चिकित्सकको टोलीले 'क्याट्स क्ल'को नामबाट चिनिएको युकारिया रायनकोफिला जातको वनस्पतिमा एक यस्तो तत्त्व फेला पारेको छ जसले विस्तारै मस्तिष्कको मृत्युलाई कम गर्न सहयोग पुर्याउँछ।
प्राध्यापक इपका अनुसार अहिले पनि घरेलु औषधिका रूपमा लिइँदै आएको उक्त वनस्पतिको प्रयोगबाट अल्जाइमर्सको क्षति कम गर्न सकिन्छ। उनले यस्तो वनस्पतिबाट औषधि बनाउने काम गर्न थप १० वर्षजति लाग्ने पनि बताइन्। 'आशा छ, हाम्रो यो प्रयासले अल्जाइमर्सका नयाँ बिरामीलाई फाइदा पुग्नेछ, हामी यही दिशातिर अघि बढिरहेका छौं', उनले भनिन्।
अल्जाइमर्सको मुख्य कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन। तर, यसको लक्षणका आधारमा क्षति कम गर्ने औषधि भने पाइन्छन्। हङकङका चिकित्सक टोलीले ईपीएचए फोर नामक प्रोटिनको सक्रियताबाट मस्तिष्कमा अल्जाइमर्स हुने विश्वास व्यक्त गरेका छन्। टोलीको यो अध्ययन अमेरिकाको नेसनल एकेडेमी अफ साइन्सेजको जुनको अंकमा पनि प्रकाशित छ।
हङकङमा सन् २००९ मा गरिएको सर्वेक्षणअनुसार एक लाख तीन हजारजना अल्जाइमर्सबाट सताइएका छन्। यही गतिमा बढ्ने हो भने सन् २०३९ मा यो संख्या तीन लाख ३२ हजार पुग्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठनको सन् २०१२ को अध्ययनअनुसार अल्जाइमर्सजस्तै रोग मानिने डिमेन्सियाबाट विश्वमा तीन करोडभन्दा बढी मानिस पीडित छन्। -एजेन्सी








0 comments:
Post a Comment