Sunday, May 27, 2012

किशोरीहरूलाई जीवन उपयोगी सीप तालिम I

सोलुखुम्बु, जेठ १४,

जिल्लाको कोसीपारीको गाविस सोताङमा कम उमेरका किशोरीको विवाह गर्ने सङ्ख्या बढेको छ । पहिलेको वर्षभन्दा अहिले चाँडो विवाह गर्ने किशोरीको सङ्ख्या बढेपछि उनीहरूलाई जीवन उपयोगी सीप र किशोरी अवस्थामा महिलामा हुने शारीरिक पविर्तनका बारेमा तालिम दिइएको छ ।

वीरेन्द्रोदय उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ६५ जना किशोरीलाई सो तालिम प्रदान गरिएको वीरेन्द्रोदय उच्च माध्यमिक विद्यालयका शिक्षक मानबहादुर थापाले बताउनुभयो ।

‘कक्षा ९ मा पढ्दापढ्दै विवाह गर्नेको सङ्ख्या गत वर्षभन्दा ह्वात्तै बढेकाले हामीले शिक्षक युनियन र शिक्षक सङ्गठको सहयोग लिएर तालिमको आयोजना गरेका हौँ,’ शिक्षक थापाले भन्नुभयो । विशेषगरी सानै उमेरमा विवाह गर्नुमा किशोरीको पहिलो भूमिका भएकाले किशोरीलाई जीवन उपयोगी सीपसम्बन्धी तालिम दिइएको शिक्षक थापाले बताउनुभयो ।

तालिमपश्चात वीरेन्द्रदय उच्च माध्यमिक विद्यालयकी कक्षा ९ की अञ्जना राईले अन्य साथीहरूको लहलहैमा लागेर झन्डै विवाह गरेको स्मरण गर्नुभयो । राईले भन्नुभयो, ‘यो तालिम नलिएको भए सायद मेरो पनि यही जेठ महिनाभित्र विवाह हुन्थ्यो, तर अब म आफ्नो खुट्टामा उभिने भएपछि मात्र विवाह गर्छु । यो तालिमबाट मैले सिकेको ज्ञान हो ।’

अञ्जना राई मात्र होइन कक्षा १० मा पढ्दै गरेकी सुशीला नाछिरिङले पनि यही जेठ १८ गते गाउँकै केटासँग विवाह गर्ने सोच बनाएकी थिइन्, तर यो जीवन उपयोगी तालिम लिएपछि उनको पनि विवाह नगर्ने सोच आएको छ । उहाँ भन्नुहुन्छ, ‘किशोरीको यो उमेरमा मन चञ्चल भइरहन्छ, त्यो मनलाई सम्हाल्न सकिएन भने जे पनि हुन सक्छ । त्यसैले यस्तो किसिमका तालिम अन्य किशोरीलाई पनि दिनुपर्छ ।’

जिल्लाको कर्णाली भनेर चिनिने कोसीपारीका गाविसको यो त प्रतिनिधि घटना हो । कोसीपारीकै गाविस वाकु, बुङ, गुदेल र छेस्काममा पनि कमै उमेरमा विवाह गर्नेहरूको सङ्ख्या उल्लेख्य छ ।

यस्तो किसिमका तालिमको आयोजना कोसीपारीका अन्य गाविसमा पनि सञ्चालन गर्नुपर्ने तालिममा सहभागी किशोेरीहरूको भनाइ छ । तालिमको सहजीकरण नेपाल शिक्षक युनियन महिला विभागकी होमा कट्टेल र नेपाल शिक्षक सङ्गठनकी सुजाता राईले गर्नुभएको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment