Sunday, May 27, 2012

समरसंगै बेलायतमा नेपालीहरुको चहलपहल बढ्यो I

धर्मराज अधिकारी, बेलायत ।

वसन्त ऋतुको शुरुवातसंगै बेलायतमा रहेका नेपालीहरुको वाषिर्क समर भेटघाटले तिब्रता पाएको छ । बर्षको एक पटक समर बिबिक्यु गरी साथीभाई, आफन्त तथा परिवार मिलेर खानपीनकासाथ रमाइलो गर्ने नेपाली परम्परा बेलायतमा यो साता बाक्लै रह्यो । फार्नबरोस्थित ओकफार्म कम्युनीटी स्कुलमा विभिन्न संगठनका रुपले भेला भएका नेपालीहरुले नाचगान गर्दै दुखसुख साटासाट गरी वसन्त आगमनको स्वागत गरे ।

यसैसन्दर्भमा गोर्खाको लिगलिग क्षेत्रबाट बेलायत आइ बसोबास गरेका नेपालीहरुले शनिबार भेला भई आफन्त तथा साथीभाइसंग रमाइलो गर्ने अवसर जुटाएका थिए । लिगलिग समाज युकेले आयोजना गरेको सो समर भेटघाटमा सहभागिहरुले विभिन्न परिकारका खाना खाई एक अर्काप्रति सद्भाव बढाउंदै समर मनाए । कार्यक्रममा नेपाली टिभिसंग कुरा गर्दै समाजका अध्यक्ष कृष्ण गुरुङले गाउंलेहरु भेला भइ बर्षको एक पटक आफ्ना बिचार आदानप्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरीएको बताए । उनले एकै गाउंबाट बेलायत आइ बसेका साथीभाइको चिनजानमा यसले टेवा दिएको जानकारी समेत दिए ।

त्यस्तै स्कुल प्रांगणमै भेला भएका इलाम पोखारी समाज युकेका शुभेच्छुक तथा पदाधिकारीहरुले वसन्त आगमनको वाहनामा एक आपसमा नाचगान र खानपिन गरी आफन्तजनसंग भेटघाट गरे । इलामपोखरी आसपासबाट बेलायत आइ विभिन्न पेशा तथा व्यवसाय गरेकाहरुको बाक्लो सहभागिता रहेको कार्यक्रममा बोल्दै समाजका सचिव कृष्ण गुरुङले साथीभाइसंग भेटघाट गर्न कार्यक्रम आयोजना गरीएको बताए । ल्होसार र समर बिबिक्यु गरी बर्षमा २ पटक आफन्त भेटघाट तथा दुखसुखसाटासाट गर्न इलामपोखरी समाजले यस्ता कार्यक्रम आयोजना गर्दै आएको सचिव गुरुङले जनाए ।

विशेष गरी शनिबार र आइतबार सरकारी बिदा हुने बेलायतमा समरभरी नै नेपाली समुदायले यस्ता बिबिक्युपार्टी आयोजान गर्ने गर्दछन । एनआरएन देखि गाउंबस्ती र खोलाको नाममा समेत बेलायतमा दर्ता भएका सयौं नेपाली संघसंस्थाहरुले विभिन्न कार्यक्रमहरु गर्दै आएका छन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment