काठमाडौं : उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले एसएसपी रमेश खरेललाई विवादास्पद अभिव्यक्ति दिएको निहुँ पारेर काठमाडौं प्रहरी प्रमुखबाट हटाउने उपयुक्त मौका पाएका छन् र रमेश खरेलार्इ हटाइयो भन्ने शिर्षकमा अाजको अन्नपूर्ण पोस्टे प्रकाशित गरेको छ ।
गृहमन्त्रीको आदेशमा एसएसपी खरेल हटाइए
गृह मन्त्रालयको दबाबमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले खरेललाई सोमबार मुख्यालय तान्ने आदेश दिएका हुन्।
काठमाडौंमा गुन्डा तह लगाउन 'अपरेसन' सुरु गरेदेखि गृहमन्त्री गौतमलगायत दलका नेता र प्रहरीभित्रकै उच्च अधिकारीहरू रुष्ट थिए। सर्वसाधारणमा खरेलको कामको सकारात्मक चर्चा भएकै कारण गृहले अर्को ठाउँमा सार्न सकेको थिएन। खरेलले शनिबार महेन्द्र पुलिस क्लबमा आयोजित सम्मान कार्यक्रममा डीआईजीबाट एआईजीमा बढुवा हुन पैसाको चलखेल भइरहेको तिखो टिप्पणी गरेका थिए।
उक्त कार्यक्रममा उपस्थित पराष्ट्रमन्त्री महेन्द्र पाण्डेलाई समेत ध्यानाकर्षण गराउँदै उनले भनेका थिए, 'नेपाल प्रहरीमा प्रमोसनको बेला आएको छ। अहिले सोकेसहरू बोकेर पावरसेन्टर चाहार्नेहरू मलाई प्रमोसन गरिदिनुस् भनेर दौडधुप चलिरहेको छ। हजुरकहाँ पनि खुब आएका होलान्। जो हजुरकोमा भिजिट गर्छन्, उनीहरू अपर्चुनिस्ट (अवसरवादी) हुन्। कृपया यसमा ध्यान दिनु होला। इमानदार व्यक्तिलाई बढुवा गरेर एक्जाम्पल (उदाहरण) दिनोस्, मेरो आग्रह यही छ।' गृहमन्त्री गौतमले खरेल आफूलाई भेट्न नआएको कुरा पटकपटक सार्वजनिक गरेर उनीप्रति असन्तुष्टि प्रकट गरेका थिए।
खरेलले पनि एक टेलिभिजन अन्तर्वार्तामा नामै लिएर केही सीमित प्रहरी अधिकृतलाई स्वच्छ र अरूलाई भ्रष्टका रूपमा चित्रण गरेपछि उनी संगठनभित्रै आलोचित भएका थिए। प्रहरी महानिरीक्षक अर्यालसँगै प्रहरी सेवामा प्रवेश गरेका केही डीआईजीहरूले तत्कालीन समयमै खरेलको सरुवाका निम्ति दबाब दिएका थिए। तर मिडियामा बोलेकै कारण खरेललाई सरुवा गर्दा त्यसले नराम्रो संकेत जाने भन्दै अर्यालले रोकेका थिए। खरेलले शनिबार दिएको अभिव्यक्तिका कारण गौतमकै आदेशमा डीआजी विज्ञानराज शर्माको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भए पनि त्यसको प्रतिवेदन नआउँदै उनीमाथि दबाबका भरमा कारबाही भएको हो।
प्रहरी प्रमुख अर्याल र गृहसचिव सूर्यप्रसाद सिलवालले काठमाडौंमा खरेलको स्थानमा पठाउने प्रहरी अधिकृत निश्चित नभई नहटाउन गृहमन्त्री गौतमलाई आग्रह गरे पनि तत्काल हटाउन निर्देशन दिएका थिए। 'पहिला हटाऔं अनि कसलाई ल्याउने खोजौं' भनेर गौतमले निर्देशन दिएको उच्च स्रोतले बतायो। खरेललाई सरुवा गरिएको कुरा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले गोप्य राखेका छन्। काठमाडौं प्रहरी प्रमुखमा एसएसपी उत्तम कार्की, सर्वेन्द्र खानाल, योगेश्वर रोमखामीलगायतको नाम चर्चामा छ। केन्द्रीय अनुसन्धान ब्युरोका निमित्त प्रमुख कार्कीलाई नै पठाउने सम्भावना बढी रहेको स्रोतले बतायो।Latest News via Annapurna Post








0 comments:
Post a Comment