'अन्तरिम संविधानले बाटो बिराएको अवस्था थियो। तर अहिले जनताद्वारा निर्वाचित सार्वभौम संविधानसभा छ। निर्वाचित सरकार छ। र, अन्तरिम संविधानबाट प्रयोग गरिएको विशेष व्यवस्था पनि सार्वभौम सभाबाट अनुमोदन भई संविधान निर्माण गर्ने क्रममा छौं', राष्ट्रपति यादवले बुधबार अन्नपूर्णसँग विशेष कुराकानी गर्दै भने, 'बाटो बिराएको राजनीति र अन्तरिम संविधान ट्र्याकमा आएको छ। प्रजातान्त्रिक अंगहरू पूर्ण भइनसके पनि काम गर्न थालेका छन्।'
पहिलो संविधानसभा विघटनपछि अर्को संविधानसभा निर्वाचन गर्ने संवैधानिक व्यवस्था नहुँदा समस्या परेको थियो। त्यस्तै राजनीतिक दलहरूबीच सरकार निर्माणमा सहमति नजुट्दा अन्तरिम संविधानविपरीत बहालवाला प्रधानन्यायाधीशको नेतृत्वमा गैरदलीय चुनावी सरकार गठन गर्नुपरेको थियो। दुवै कामका लागि संविधानको धारा ५८ अनुसार राष्ट्रपतिले बाधाअड्काउ फुकाउ आदेश जारी गर्नुपरेको थियो।
गणतन्त्रको ६ वर्षे कार्यकालमा धेरै उतारचढाव र त्रुटिबाट राजनीति गुज्रिएको राष्ट्रपतिले बताए। 'तर अब त्यस्तो त्रुटि मुलुकले धान्न सक्दैन', उनले भने, 'राजनीतिक दलहरूले त्रुटिबाट पाठ सिक्दै सच्चिएर अघि बढ्नुपर्छ।'
राष्ट्रपति यादवले २०६२/६३ को परिवर्तनले जनतामा उत्साह आए पनि दलहरूका पछिल्ला गतिविधिले निराश बनाएको बताए। 'नेपाली जनतामा धेरै उत्साह थियो। पहिलो संविधानसभाले शान्तिप्रक्रिया टुंगो लगाउने काम गरे पनि संविधान निर्माण गर्न नसक्दा जनतामा निराशा आयो', उनले भने, 'तर अहिले फेरि आशा पलाएको छ। संविधान निर्माण हुने र मुलुक विकास प्रक्रियामा अघि बढ्नेमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विश्वासको वातावरण निर्माण भएको छ।' उनका अनुसार कताकता ढिलासुस्ती भइरहेको हो कि जस्तो देखिए पनि संविधान निर्माणका लागि सकारात्मक बाटोमा दलहरू अघि बढिरहेका छन्।
संविधान कहिले बन्लाजस्तो लाग्छ भन्ने जिज्ञासामा उनले मिति तोक्न चाहेनन्। तर समयमै संविधान निर्माण हुने उनमा विश्वास छ। राष्ट्रपतिले भने, 'संविधानसभामा दलहरूबीच सकारात्मक सहमति भइरहेको छ। सहमति गरेर उनीहरू अगाडि बढेका छन्। समितिले पनि काम थालिसके। यति-उति भन्नेभन्दा पनि समयमै संविधान बन्छ भन्ने मलाई विश्वास छ।'
गणतन्त्र संस्थागत गर्न जनताको हितलाई सर्वोपरि ठान्नुपर्ने उनको भनाइ थियो। 'जनताको सर्वोपरि हितलाई ध्यान नदिई गणतन्त्र संस्थागत हुन्न। समयमै संविधान जारी गरी जनताको सर्वोपरि हितलाई ध्यान दिँदै आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अघि बढाउन राजनीतिक दलहरूले ध्यान दिनु आवश्यक छ', यादवले भने, 'गणतन्त्र स्थापनापछि पनि हामीले धेरै उतारचढाव बेहोरेका छौं। अब संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै अगाडि बढ्नुपर्छ। राजनीतिक दल, संविधानसभा तथा नागरिक समाजले पनि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।'
राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रका संस्थाहरू एकले अर्काको मर्यादाको ख्याल नगरे लोकतन्त्र या गणतन्त्र दुवै संस्थागत हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरे। उनले भने, 'लोकतान्त्रिक गणतन्त्रका संस्थाहरूको मर्यादा नगरे न त गणतन्त्र, न लोकतन्त्र मजबुत हुन्छ। गणतन्त्र आएपछि हामीले संस्थाहरूको मर्यादा राख्न सकेका छैनौं। लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने हो भने सबै संस्थाको मर्यादा राख्नुपर्छ।'
राष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वप्रतिबद्धताअनुसार तोकिएको समयभित्र संविधान जारी गर्नेगरी अघि बढ्न दलहरूलाई आग्रह गरेका छन्। 'अनुकूल र सहज बन्दै गएको पछिल्लो परिवेशमा नयाँ संविधान निर्माणको कार्य अगाडि बढाउन संविधानसभा र राजनीतिक दलहरूलाई अवश्य पनि सहज भएको हुनुपर्छ', राष्ट्रपतिको सन्देशमा उल्लेख छ, 'यस सन्दर्भमा दलहरूले कबुल गरेको समयावधिभित्र नयाँ संविधान निर्माण गर्नुको विकल्प बाँकी छैन।'
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी अग्रगामी संविधान निर्माणमा केन्द्रित हुन सबै पक्षलाई अपिल गरेका छन्। उनको सन्देशमा उल्लेख छ, 'प्राप्त उपलब्धि नयाँ संविधानमा लिपिबद्ध गर्नु नै गणतन्त्र संस्थागत गर्ने कार्यको प्रारम्भिक खुट्किलो हो।' Anna Purna Post









0 comments:
Post a Comment