जेठ २४ गते हुन लागेको सरकारको रारा सवारीको तयारीबारे हामी बीच केहीबेर कुरा भयो । मैले ‘अघि सरकारबाट रारा भ्रमणको तयारी र व्यावस्थापनबारे हुकुम भएको छ, त्यो सवारी बाहेक अरु कुरा केही छ ?’भनेर सोधेँ ।
सुन्दर कर्साबले ‘आज खासै अरु केही छैन, सरकारको दर्शनभेट छ, संवादसचिवले दर्शनभेट गराउँदै हुनुहुन्छ’ भन्नुभयो । शुक्रबार बिहान संवाद सचिव मोहनबहादुर पाण्डेको जाहेरी थियो । उहाँको सचिवालय सम्बन्धी काम सैनिक सचिवालयलाई त्यति धेरै थाहा या चासो हुँदैन पनि । आ–आफ्नो काम गर्ने हो । त्यो साँझ उहाँले स्पटलाइट म्यागजिनका सम्पादक माधवकुमार रिमाललाई वीरन्द्र सरकारसँग दर्शनभेटको समय मिलाउनुभएको थियो । सायद त्यो साँझ उहाँको लागि मात्र दर्शनभेटको कार्यक्रा निर्धारण भएको थियो ।
अपराह्न चियाका लागि डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेको घर सवारी भएर सरकारहरु करिब ४५ मिनेट राज भएको थियो । त्यहाँ युवराजधिराजको पनि सवारी भएको थियो । मैले पछि सुने अनुसार युवराजधिराज त्यहाँ एक शब्द पनि बोलिबक्सेन् । साँझ संवाद सचिवालयका तर्फबाट दर्शनभेट मिलाइएको हुनाले संवाद सचिव मात्र बस्ने, अरु सबै सचिवहरु जाने भन्ने उर्दी थियो । ६ बजे अफिसको सबै काम सकेर म बाहिर निस्केँ । शाही रक्षक वाहिनीमा हाम्रो ‘ड्रेस चेन्ज’ रुम थियो । त्यहीँ गएर ड्रेस चेन्ज गरेँ । त्यही बेला मैले डा. दुमन थापालाई फोन गरेँ । उहाँ मेरो साथी । हामी दुवैलाई एक जना साथीले खाना खान बोलाएको थियो, नयाँबजारमा । डा. दुमन र म भेटियौं । ठमेलमा अर्को साथी गणेश पाण्डेलाई लिएर नयाँबजारस्थित साथीको घर गयौं । हामी त्यहाँ पुग्दा करिब साढे ७ बजेको थियो । हामी ड्रिङ्क्स गरिरहेका थियौं ।
त्यस्तै ९ बजेर १५÷१६ मिनेट गएको थियो, मेरो mobile बज्यो । घरबाट गीता (श्रीमती) ले फोन गरेकी रहिछिन् । निकै आत्तिएको स्वरमा उनले सोधिन्, ‘तिमी कहाँ हो ? महेन्द्र मन्जिल एडीसी अफिसबाट फोन आएको थियो ।’ मलाई अचम्म लाग्यो ।
महेन्द्र मन्जिल एडीसी अफिसबाट मलाई किन फोन आयो ? मलाई त श्री सदन एडीसी अफिसले खोज्नुपर्ने हो । महेन्द्र मन्जिल मुमा बडामहारानी रत्नको निवास हो भने श्री सदन महाराजधिराजको । मैले तुरुन्तै महेन्द्र मन्जिल एडिसि अफिसमा फोन गरँ । ‘त्यहाँबाट मलाई फोन गरेको हो ?’ भनेर सोधेँ । ‘होइन’ भन्ने जवाफ आयो । ड्युटीमा एक जना लप्टन थिए । उनले ‘उता त्रिभुवन सदनतिर फायरिङको आवाज आएको थियो, त्यताबाट फोन आएको हो कि ?’ भने । यो कुरा करिब ९ बजेर २० मिनेटतिरको हो । फायरिङको आवाज भन्ने कुराले मेरो मनमा एकै पटक अनेकौं तरङ्गहरु जन्मायो । मैले तुरुन्तै अन्नपूर्ण एडिसि अफिसमा फोन गरेँ । त्यहाँ फोन उठेन् । त्यसपछि मलाई ‘समथिङ इज रङ’भन्ने लाग्यो । तुरुन्तै म सबै कार्यक्रम छोडेर ‘राजदरबार जान्छु’ भनेर निस्किएँ । दुमन, गणेशजी र म बाटोमा आइरहेका थियौं, एकदमै हताश र आत्तिएको स्वरमा शाही रक्षक सैनिक प्रहरीका प्रमुख महासेनानी केशव महतको फोन आयो, ‘सर, भयङ्कर समस्या आइप¥यो, तपाई तुरुन्तै सैनिक अस्पताल आउनुप¥यो ।’ त्यति बेला हामी सोह्रखुट्टे आइसकेका थियौं । त्यहीँबाट हामी तुरुन्तै गाडी मोडेर विरेन्द्र सैनिक अस्पतालतिर लाग्यौं । त्यसलगत्तै समारोह प्रबन्धक कार्यालयका प्रमुख चिरनशमशेर थापाको फोन आयो ।
उहाँको स्वर पनि निकै आत्तिएको र हताश थियो । ‘जर्साब, मलाई सैनिक प्रहरीबाट आत्तिएको स्वरमा फोन आयो । दरबारमा के भयो ? मैले केही बुझ्न सकिनँ । सायद तपाईलाई आउनुपर्ने फोन मलाई पो आएको हो कि ?’ भन्नुभयो । सर मलाई तुरुन्तै वीरेन्द्र अस्पतालमा छोडि दिनुभयो र उहाँहरु फर्कनुभयो । ९ बजेर ३५÷३६ मिनेटजति भएको थियो म सैनिक अस्पताल पुग्दा । अलिअलि भीड जम्मा भइसकेको रहेछ । प्रधान सेनापति प्रज्वल्लशमशेर जबरा पनि आइसक्नुभएको रहेछ । त्यस बेलासम्म मलाई के भएको हो भन्नेबारे केही थाहा थिएन । तर सबै जना मलाई नै ‘के भो ?’ भनेर सोध्दै थिए । महासेनानी सुन्दरप्रताप राना त्यति बेला ड्युटीमा प्रमुख एडिसि हुनुहुन्थ्यो । म भित्र पस्दै थिएँ, उहाँसँग जम्काभेट भयो । त्यहीँ टीका धमला जर्साबसँग पनि भेट भयो । उहाँहरु दुवैले ‘सर खत्तम भयो’ मात्र भन्नुभयो । टीका जर्साबले नै मलाई लिएर जानुभयो ट्रमा सेन्टरमा । त्यहाँ कल्पनै नगरेको कारुणिक दृश्य देख्नुप¥यो । सहनै नसकिने, मुटु थाम्नै नसकिने दृश्य ।
जता हे¥यो, उतै क्षत–विक्षत र रक्ताम्मे शरीहरु मात्र ढलेका थिए । वीरेन्द्र सरकार र बडामहारानीको क्षत–विक्षत शरीर । सपना जस्तो लागिरहेको थियो । वीरेन्द्र सरकारलाई बचाउन सकिन्छ कि भनेर धेरै नै कोसिस भइरहेको थियो । तर मौसुफमा कहीँकतै होस थिएन । मैले पनि मौसुफको नाडी छामेँ । शरीरमा अलिअलि मात्र तातो बाँकी थियो । सायद सरकार महाप्रस्थानमा लागिसकिबक्सेको थियो । यसअघि नै बडामहारानीको स्वर्गे भइसकेको रहेछ । सबै डाक्टर हतासमै थिए । छेउमै मुमा बडामहारानी सरकार होइबक्सँदो रहेछ । सरकार स्तब्ध होइबक्सन्थ्यो । मैले अभिवादन गरेँ । त्यसपछि मैले सुन्दर कर्साबसँग कुरा गरेँ । उहाँले घटनाको बेलिबिस्तार लगाउनुभयो, ‘वीरेन्द्र सरकार दर्शनभेटको कार्यक्रम सकेर आफ्नो कार्यालयबाट त्रिभुवन सदन सवारी होबक्स्यो । सरकार रात्रिभोजका लागि त्रिभुवन सदनभित्र सवारी होइबक्सेपछि हामी एडीसी रुममा थियौं । भित्र पार्टी भइरहेको थियो । राजपरिवारका सदस्यको मात्र जमघट भएकोले सदाझैं हामीले त्यति धेरै चनाखो हुनुपर्ने अवस्था थिएन । त्यसैले हामीले त्यति धेरै चासो दिएनौं । शान्त थियो वातावरण ।
कहीँकतै पनि यस्तो होला भन्ने कल्पनै गरिएन । अचानक सुटिङको आवाज सुनिन थाल्यो । युवराधिराजबाट सुट भएछ । हामी ढोका फोरेर भित्र छि¥यौं । भित्र छिर्दा त सबै जना भुइँमा ढलेको दृश्य मात्र देखियो । वीरेन्द्र सरकार पनि रक्ताम्मे अवस्थामा भुइँमा ढलिबक्सेको थियो । तत्काल हामीले स्थितिलाई नियन्त्रण गर्ने कोसिस त ग¥यौं, तर नहुनु भइसकेको थियो । गोली लागेका सबैलाई कहाँ लैजाने लैजाने भयो । सल्लाह गर्ने कुरा पनि भएन । त्यो अवस्थामा तत्काल जे मनमा आयो, हतार–हतारमा हामीले त्यही ग¥यौं । जर्साब , अब के गर्ने ?’ मैले सबैभन्दा पहिले पाएको जानकारी यही थियो । कस्तो पत्याउनै गाह्रो । घटनास्थलमा रहेका सुन्दर कर्साबसहित अन्य एडीसी र प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार वीरेन्द्र सरकार रात्रिभोजमा सवारी हुनासाथ युवराजधिराज रक्सी लागेको बहाना पार्दै भुइँमा ढलिबक्सेछ । त्यहाँ उपस्थित सबैलाई युवराजधिराज नशाले ढलेको भान भयो । युवराजधिराजलाई खोपीमा सुताएर चारै जना पार्टी स्थल फर्कनुभयो ।
खोपीमा युवराजधिराजसँग भएका हतियार सधैं क्याबिनेटमा हुन्थे । तर त्यो दिन बाहिरै थिए रे । महाराजधिराज पार्टी स्थलमा सवारी भएपछि पार्टी चलिरह्यो । पार्टी स्थलमा सवारी होइबक्सेर सबैभन्दा पहिले वीरेन्द्र सरकारले मुमा बडामहारानीसँग कुरा गरिबक्सेको रहेछ । त्यसपछि सरकार बिलियार्ड रुममा सवारी होइबक्सेछ । शाही रनर र नानी (द्वारे जमुना) का अनुसार अधिराजकुमार नीराजनसहित शाही नातेदारहरु खोपीबाट फर्केपछि दीपेन्द्र सरकारले कम्ब्याट डे«स लगाइबक्सेछ । ¥याम्बो र टर्मिनेटर सिनेमाका नायकले बोकेको जस्तो गरी युवराजधिराज दीपेन्द्रले चार वटा बन्दुक (एमपी–५ सब मेसिनगन, एम–१६ एटु कमान्डो राइफल, अटोमेटिक १२ बोर गन र पेस्तोल) भिरिबक्सेछ । यसपछि पार्टी भइरहेको बिलियार्ड बैठकमा सवारी भएर सबैप्रथम एक राउन्ड सिलिङमा फायर गरेर सबैको ध्यान आकर्षण गरिबक्सेछ । त्यसपछि बिलियार्ड टेबल अगाडी राज होइबक्सेका आफ्ना बुबा महाराजधिराजलाई पहिलो राउन्ड गोली हानिबक्सेछ ।
गोली लागेर भुइँमा ढलेपछि वीरेन्द्र सरकारबाट आफ्नो साथमा रहेको पेस्तोल झिक्न खोजिबक्सेको रहेछ । यसै क्रममा धीरेन्द्र शाहले दीपेन्द्रको बन्दुक खोस्न खोज्दा दीपेन्द्र सरकारबाट वीरेन्द्र सरकारलाई पुनः र अन्य सहभागीलाई पनि एमपी–५ सब मेसिनगनबाट अटोमेटिक फयर गरेर निसाना साधिबक्सेछ । यसपछि यहाँ कोलाहलको अवस्था सिर्जना भएछ । त्यहाँ जोजो उठे, सबै युवराजधिराजको बन्दुकको गोलीको निसाना बनेछन् । त्यहाँबाट युवराजधिराज बगैँचातिर सवारी भएछ । रात्रिभोजमा युवराजधिराजलाई बडामहारानीले पछ्याइबक्सेको रहेछ । त्यति बेला युवराजधिराजले बडामहारानीलाई अगाडी नबढ्न चेतावानी समेत दिइबक्सेको रहेछ । तर, बडामहारानीले पूरै आक्रोशमा आएर युवराजधिराजको हतियार खोसेर दीपेन्द्र सरकारलाई नै गाली हान्न खोजिबक्सेको रहेछ । सुत्ने कोठा (खोपी) सम्म जान लाग्दा पनि बडामहारानी भ¥याङमा उक्लँदै गर्दा एमपी–सब मेसिनगनबाट अटोमेटिक बस्र्ट फायर गरिबक्सेछ । आधा टाउको गोलीले उडाएपछि बडामहारानी भ¥याङबाट भुइँमा लडिबक्सेछ ।
यही समय नीराजन सरकार बडामहारानीलाई पछ्याउँदै बङ्गलानजिक पुगिबक्सेको रहेछ । त्यही बेला युवराजधिराजको आखिरी निसानामा नीराजन सरकार समेत परिबक्सेछ । यस बेलासम्म दीपेन्द्र सरकारको हातमा रहेको एमपी–५ सब मेसिनगनको म्यागजिनमा गोली सकिएको थियो । साथै एम–१६ एटु कमान्डो राइफलको पनि म्यागजिनमा गोली समाप्त भएको थियो । त्यपछि युवराजधिराजमा ‘सिक्स सेन्स’ आएको हुनुपर्छ । साधरणतया यस किसिमका हत्याराहरु अरु सबै सकिएपछि अन्त्यमा आफैंले आफैंलाई सुट गर्ने मनोवैज्ञानिक स्थितिमा पुगेका हुन्छन् । अब सबै समाप्त भयो, मेरो पनि बाँच्ने केही आधार छैन भन्ने विचार गरेर होला, युवराजधिराजले आफ्नो बायाँतर्फ वेप बेल्टमा रहेको पेस्तोल निकाली बायाँ कन्चटमा एक गोली हिर्काएर आफू त्यसैमा ढलेको देखिन्छ । मौसुफको दाहिने हातमा एमपी–५ बन्दुक थियो, गोली सकिएको अवस्थामा ।
उद्धारका क्रममा दीपन्द्र सरकारको बायाँ हातमा रहेको पेस्तोल छेउकै पोखरीमा खसेको थियो । अन्य हतियारहरु सुरक्षाकर्मीले सरकारको शरीरबाट निकालेर यत्रतत्र फालिएको अवस्थामा थिए । यस्तो अवस्था भएपछि ड्युटीमा रहेका एडीसी र अन्य सुरक्षाकर्मी मिलेर सबै घाइतेहरुलाई उठाउँदै वीरेन्द्र सैनिक अस्पताल लगेका रहेछन् । त्यस क्रममा सबैभन्दा अन्त्यमा बडामहारानीलाई फेला पारिएको रहेछ । युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल र धीरेन्द्र शाहलाई अपरेसन थिएटरमा राखिएको थियो । त्यो सबै दृश्य देखेपछि अब के गर्ने होला भनेर मेरो मनमा अनेक कुरा आउन थाले । मैले सोचेँ, अब आत्तिएर हुन्न । त्यसपछि डाक्टरहरुसँग कुरा गरेँ । बाहिरबाट डाक्टर झिकाउन पहल भइरहेको थियो ।
मैले पनि चाँडो गर्न सुझाव दिएँ । डा. गोविन्द शर्मा, डा. उपेन्द्र देवकोटा र डा. भगवान कोइरालालाई बोलाउने कोसिस भइरहेको रहेछ । कोही आइसक्नुभएको थिएन् । डा. राजिव शाहीले विभिन्न डाक्टरलाई सैनिक अस्पतालमा आउन अनुरोध गरिरहनुभएको थियो । उहाँ पनि घटनाको प्रत्यक्षदर्शी हुनुहुन्थ्यो । मैले बाहिर आएर प्रधान सेनापतिसँग कुरा गरेँ, ‘अब के गर्ने’ भनेर । हामी दुईले सल्लाह ग¥यौं, सेनालाई स्ट्यान्डबाई ड्युटीमा राख्ने । सशस्त्र प्रहरी र प्रहरीलाई समेत आ–आफ्नो ड्युटीमा स्ट्यान्डबाई राख्ने कुरा तय भयो । शाही जङ्गी अड्डास्थित सैनिक अपरेसन (डीएमओ) खोल्नुपर्छ भन्ने सल्लाह भयो । त्यस अनुसार चिफसाबले त्यहीबाट डीएमओ सहायक रथी प्रदीपप्रताप बम मल्ल र युद्वकार्य महाशाखा प्रमुख महासेनानी दिलीप रायमाझीलाई खबर गर्नुभयो । सबैलाई आफ्नो जिम्मेवारीमा तैनाथ रहन आदेश ग¥यौं । यही बेला दीपेन्द्र सरकारका एडीसी राजु कार्कीले पोखरामा अधिराजकुमार ज्ञानेन्द्र सरकारसँग सम्पर्क गरिरहनुभएको थियो ।
मोबाइलमा उहाँले नै सरकारलाई घटनाबारे पहिलो जाहेरी गर्नुभएको थियो । सरकारको काठमाडौं सवारीका लागि हेलिकप्टर पठाउने तयारी गरियो । काठमाडौं एयरपोर्टमा सेना परिचालन गरियो, रात्रि हवाई अवतरणका लागि । मेरो मनमा भने विभिन्न शङ्का–उपशङ्काका साथै कसरी समस्यासँग जुध्ने भनेर अनेक तरङ्ग उब्जिरहेका थिए । सबै जना धेरै आत्तिएर दौडधुप गरिरहेको देखिरहेको थिएँ । तर त्यसले मात्र समस्याको समाधान नहुने थियो । अब समस्यालाई कसरी पार लगाउने भनेर एकदमै सोचेँ । तर केही उपाय पनि देखिरहेको थिइनँ ।
त्यस बेला मेरो मनले के भन्यो भने–यहाँ यताउता गरेर मात्र हुँदैन, एउटा निश्चित योजनाका साथ अघि बढ्यो भने मात्र समस्याबाट मुक्ती पाउन सकिन्छ । यसैबीच सरकारहरुको हत्या भएको समाचार हावासरि फैलिन थाल्यो । मलाई चिन्ने विभिन्न साथीभाइ, नाता–सम्बन्ध सबैतिरबाट फोन आउन थाल्यो । क्षणक्षणमा म प्रधान सेनापतिसँग छलफल गरिरहेको थिएँ । यसैबीच मैले वरिष्ठ जर्साबहरु, गृहसचिव, दुवै प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई फोन गरेँ । सबैलाई एउटै कुरा भनेँ, ‘दरबारमा ज्यादै संवेदनशील घटना घटेको छ । तपाईहरु सबै आ–आफ्नो कार्यालयमा स्ट्यान्डबाई ड्युटिमा बस्नुहोला ।
आफू अन्तर्गतका सबै युनिटलाई समेत स्टन्डबाई राख्नुहोला ।’ सेनाको बलाभ्यक्ष रथी दुर्गानाथ अर्याल र बलाधिकृत रथी प्यारजङ्ग थापा हुनुहुन्थ्यो । त्यही बेला बलाधिकृत थापाको फोन आयो । उहाँलाई पनि मैले त्यही भनेँ । राजदरबारको एडीसी अफिसमा फोन गरेर मैले सबै सचिवलाई तुरुन्त बोलाएर सचिवालयहरु खोल्न अह«ाएँ । मङ्गल सदन खोल्न भनेँ । मेरो सचिवालयमा कार्यरत प्रमुख सेनानी कुमार बुढाथोकीलाई फोन गरेर कार्यालय खोलेर बस्न भनेँ । साढे १० जति बज्दा हेलिकप्टर उडेको आवाज सुनियो । त्यो हेलिकप्टर पोखराका लागि उडेको थियो । तर केही बेरमै खराब मौसमका कारण पोखरा जान नसकेको खबर आयो ।
हामीलाई राति एभ्रो उड्न सक्छ भन्ने होस भएन । हामी खाली हेलिकप्टरको पछि लाग्यौं । त्यसपछि म दरबार गएँ । सिभिल लुगामा भएकोले अफिस पुगेर युनिफर्म लगाएँ । त्यतिन्जेल प्रमुख सचिव पशुपतिभक्त महर्जन, प्रमुख निजी सचिव सुदनप्रसाद पोखरेल, सचिव सागरप्रसाद तिमिल्सिना, संवाद सचिव मोहनबहादुर पाण्डे, प्रमुख राजदरबार पदाधिकारी शारदाप्रसाद प्रधान आइसक्नुभएको थियो । हामी महाराजधिराज सरकारको कार्यालय मङ्गल सदनको मिटिङ हलमा जम्मा भयौं । मैले सबै सचिवलाई त्यति बेलासम्म थाहा पाएको सबै वृतान्त जानकारी गराएँ । मेरो ख्यालमा त्यो बेलासम्म उहाँहरुलाई खासै जानकारी थिएन ।
एकदमै चाँडो–चाँडो हामीले के गर्ने भनेर निधो गर्नुपर्ने थियो । मैले नै प्रधानमन्त्रीलाई खबर गरेर यहाँ बोलाऔं कि बालुवाटार नै जाऔं भनेर कुरा राखेँ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पशुपतिभक्त महर्जनले फोन गरेर ‘एकदमै जरुरी भएकोले म भेट्न आउँछु’ भन्नुभयो । उहाँले बोलाएपछि प्रमुख सचिव प्रधानमन्त्री निवास, बालुवाटार जानुभयो । प्रमलाई यो कुराको औपचारिक जानकारी चाँहि भइसकेको रहेछ । प्रम र प्रमुख सचिव केही बेरमै राजदरबार आइपुग्नुभयो । साढे ११ बजिसकेको थियो । मैले नै अहिलेसम्मको घटना जानकारी गराएँ । प्रम र हामी सचिवहरुले मङ्गल सदनमै छोटो छलफल ग¥यौं । प्रधानमन्त्रीले ‘यस्तो आपतमा के गर्ने तपाईहरु योजना बनाउनुस्, त्यस अनुसार श्री ५ को सरकारले आवश्यक सबै व्यवस्था मिलाउनेछ, बरु हामी सैनिक अस्पताल जाऔं, त्यही बसेर सबै विषयमा छलफल गरौंला’ भन्नुभयो । उहाँको भनाइमा हामी सहमत भयौं र सबै जना अस्पताल पुग्यौं । त्यहाँको कारुणिक दृश्य देखेर प्रधानमन्त्री निकै भावविह्वल हुनुभयो ।
एक छिन त केही बोल्नै सक्नुभएन । त्यसपछि प्रमले मुमा बडामहारानी सरकारको दर्शन गर्नुभयो र डाक्टरहरुसँग कुरा गर्नुभयो । के गर्ने कसो गर्ने भनेर उच्च चासो दिनुभयो । हरेक विषयमा प्रमले अग्रसरता लिन थाल्नुभयो । त्यति वृद्व मान्छेको फुर्ति देखेर हामीमा पनि होस र जोस आयो । उहाँ कत्ति पनि आत्तिनुभएको देखिएन । घटनाले भावविह्वल हुनु त स्वाभाविक नै थियो । हामीले दरबारबाटै प्रधान न्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहम्मद मोहसिन, राजपरिषद् स्थायी समिति सभापति डा. केशरजङ्ग रायमाझी र प्रमुख विपक्षी दलका नेता तथा नेकपा एमाले महासचिव माधव कुमार नेपाललाई खबर गरेका थियौं । डा. रायमाझी सैनिक अस्पताल पुगिसक्नुभएको रहेछ । दरबारबाटै उपप्रधानमन्त्री रामचन्द्र पौडेल र अन्य मन्त्रीलाई पनि घटनाबारे जानकारी गराइएको थियो । घटनास्थलको निरीक्षणपछि प्रमले ‘अधिराजकुमार ज्ञानेन्द्र कहाँ होइबक्सन्छ ?’ भनेर सोध्नुभयो ।
ज्ञानेन्द्र सरकार पोखरा भएको जानकारी गराएपछि उहाँले ‘सबैभन्दा पहिले सरकारलाई काठमाडौं ल्यानुप¥यो, त्यसपछि के गर्ने भनेर सल्लाह गरौंला’ भन्नुभयो । उहाँले सुरक्षा प्रबन्ध राम्रोसँग मिलाउन पनि सबैलाई निर्देशन दिनुभयो । यसैबीच सैनिक अस्पतालको माथिको अतिथि कक्ष, कार्यालय, बैठक कक्ष सबै खोलियो । प्रम रातैभर अस्पतालमा बस्नुभयो । मुलुकमै समस्या आइपरेका बेला प्रम अग्रसर नहुने प्रश्नै थिएन । उहाँ अस्पताल आएर बसेपछि काम गर्न धेरै सहज भयो ।
प्रधान न्यायाधिश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, एमाले महासचिव नेपाल आइसकेपछि प्रम, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझीसहित उहाँहरु सबै एउटै कोठामा बसेर घटनाबारे छलफल गर्दै अब कसरी अगाडी बढ्ने भनेर सल्लाह गर्न थाल्नुभयो । प्रम कोइराला क्षण–क्षणमा सोधिरहनुभएको थियो, ‘ज्ञानेन्द्र सरकारको सवारी कति बेला हुन्छ’ भनेर । काठमाडौंबाट हेलिकप्टर उड्ने क्रम जारी थियो । तर, धेरै प्रयास गर्दा पनि काठमाडौं र पोखराबीचको खराब मौसमका कारण हेलिकप्टर पोखरा पुग्नै सकेन । ज्ञानेन्द्र सरकारलाई जसरी भए पनि काठमाडौं ल्याउनैपरेको थियो । ‘अब हेलिकप्टरबाट सम्भव छैन, त्यातिर नलागौं, मोटरबाटै सवारीको प्रबन्ध गरौं’ भनेर आफैंले पोखरा फोन गरेर ज्ञानेन्द्र सरकारसँग जाहेर गरेँ ।
सरकारलाई काठमाडौंको सबै स्थितिबारे जानकारी भइरहेकै थियो । मैले ‘हेलिकप्टर आउन सकेन, मोटरबाटै सवारी चलाउनुपर्ला, सुरक्षाको प्रबन्ध गरौं ?’ भनेर जाहेर गरें । त्यसपछि ३ नम्बर वाहिनीका वाहिनीपति सहायक रथी प्रकाशबहादुर बस्नेतलाई फोन गरेर ‘प्रहरी र सेनाको राम्रो सुरक्षा स्कर्टिङसहित ज्ञानेन्द्र सरकारको काठमाडौंका लागि सवारी चलाउनू’ भनी अह«ाएँ । यसरी रातको साढे २ बजे मोटरमा पोखराबाट काठमाडौंका लागि सरकारको प्रस्थान भयो । हामीले काठमाडौंबाट गजुरीसम्म हेलिकप्टर पठायौं । ज्ञानेन्द्र सरकारको पोखरा कार्यक्रमबारे हामीलाई केही थाहा थिएन । वीरेन्द्र सरकारलाई थाहा थियो होला । सरकारहरु कहीँकतै जाँदा वीरेन्द्र सरकारलाई सोधेर जाने चलन थियो । ज्ञानेन्द्र सरकार सात दिनअघि मात्र चितवन गइबक्सेको थियो भन्ने सुनेको थिएँ ।
सायद चितवनबाटै पोखरा सवारी होइबक्सेको थियो । श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष होइबक्सेकोले सरकार कोषका कार्यक्रममा सरिक हुन चितवन र पोखरा सवारी भएको हुनुपर्छ । सरकारका साथमा प्रभुशमशेर जबरा र वीरेन्द्रबहादुर शाह (लव राजा) पनि हुनुहुन्छ भने सुनेँ । सरकार पोखराको रत्न मन्दिरनजिकै रहेको हिमा गृहमा राज होइबक्सेको रहेछ । अधिराजकुमार हिमालयको निधनपछि अहिले यो बङ्गला ज्ञानेन्द्र सरकारको नाममा सारेको हो । राति ३ बजे म एक पटक पुनः दरबारमा गएँ । सरकारका एडीसीहरु र सैनिक प्रहरीका अधिकृतहरु गएर घटना घटेको त्रिभुवन सदनमा हे¥यौं । बिलियार्ड बैठकको सिसाको ढोका फुटेको थियो । घटनापछि भित्र जाने क्रममा एडीसीहरुले फुटाएका रहेछन् । गोलीका खोका यत्रतत्र छरिएका थिए । वीरेन्द्र सरकारको चस्मा र टोपी त्यहीँ देखेँ । कैयौंको हाते व्याग र अन्य ससाना सामान छरपस्ट थिए ।
जताजतै रगतैरगत । कोठामा पङ्खा र एसी चलिरहेको थियो, बत्ती बलिरहेको थियो । त्यो दृश्यले मलाई स्तब्ध बनायो । मैले सेन्ट्री थप्न लगाएँ । ‘कसैलाई पनि भित्र पस्न नदिनू, जेजस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहन दिनु’ भनेर म फेरि अस्पताल आएँ । हामी अस्पताल फर्कदां वीरेन्द्र सरकारसहित अन्य सरकारहरुको स्वास्थ्यमा केही सुधार होला कि भन्ने आशा मारिसकिएको रहेछ । वास्तवमा अस्पताल पु¥याउनुअघि नै बाटोमा वीरेन्द्र सरकारको मृत्यु भइसकेको रहेछ । नयाँ राजा घोषणा नगरेसम्म महाराजधिराजको मृत्युको घोषणा गर्न नमिल्ने राजपरम्परा रहिआएको छ । त्यसैले अब के गर्ने भनेर हामी छलफलमा बस्यौं । सरकारको मृत्युको घोषणा कसरी गर्ने र कसलाई कसरी नयाँ राजा बनाउने भन्ने कुरा बहुतै कठिन र जटिल थियो । त्यस अवस्थामा प्रम, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझि, सभामुख रानाभाट, एमाले महासचिवले प्रभावकारी भूमिका निर्वाह गर्नुभयो । राजदरबारका सबै सचिवहरु सक्रिय हुनुभयो । त्यहाँ प्रम सहितको बैठक पटक–पटक बस्यो । बिहान राजपरिषद्को बैठक बोलाउने निधो भयो ।
बैठकमा महान्यायाधिवक्तालाई पनि बोलाउने तय भयो । बिहान ६ बजे हेलिकप्टर सैनिक अस्पतालमा अवतरण भयो । प्रम कोइराला, राजपरिषद्का सभापति डा. रायमाझि, रभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन र एमाले महासचिव नेपाल हेलिप्याडसम्म ज्ञानेन्द्र सरकारलाई लिन जानुभयो । प्रधान सेनापति र राजदरबारका हामी सचिवहरु पनि हेलिप्याडसम्मै गयौं । ज्ञानेन्द्र सरकार अस्पतालमा माथि सवारी भयो । ट्रमा सेन्टरमा सबैभन्दा पहिले राजा वीरेन्द्रको शव थियो । त्यसपछि रानी ऐश्वर्यको । अन्य शवहरु त्यहीँ छोपेर राखिएका थिए । अपरेसन थिएटरमा युवराजधिराज दीपेन्द्र, अधिराजकुमारी कोमल, कुमार गोरख, केतकी चेस्टर र अधिराजकुमारी शोभाको अपरेसन भइरहेको थियो । अपरेसन थिएटरको कमी भएकोले डाक्टरहरुले अस्पतालको डे«सिङ रुममै पनि अपरेसन गरिरहनुभएको थियो । त्यो दिन डाक्टरहरुले ठूलै जोखिम मोलेर र साहसका साथ राम्रो काम गर्नुभयो । ज्ञानेन्द्र सरकारले अस्पतालको सबै दृश्य हेरेपछि प्रम, राजपरिषद्का सभापति र प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग कुरा गरिबक्स्यो ।
सरकारको अनुहार मार्मिक र शोकविह्वल देखिन्थ्यो । सरकारको सवारीपछि सैनिक अस्पतालको हलमा अधिराजकुमार ज्ञानेन्द्रका साथै प्रम कोइराला, प्रधान न्यायधीश उपाध्याय, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् स्थायी समितिका सभापति डा. रायमाझि र प्रमुख विपक्षी दलका नेता नेपाल सम्मिलित बैठक बस्यो । हामी सचिवहरुपनि सहभागी भयौं । बैठकमा राजपरिषद्को बैठक बसेर त्यसले नयाँ राजा घोषणा गर्ने तय भयो र यस घटनाको जाँचबुझ गर्नेबारे छलफल भयो । सरकारबाट घटना सम्बन्धी सबै छानबिन प्रक्रिया कानुन बमोजिम नै गर्न हुकुम भयो । साथै यस घटनामा मृत्यु भएका सबैको पोस्तमार्टम गर्नसमेत निर्देशन बक्स्यो । यही बैठकमा राजदरबार हत्याकाण्डबारे जाँचबुझ गर्न एक उच्चस्तरीय आयोग गठन गर्ने निधो भयो । मलाई के सम्झना छ भने, ‘यत्रो घटना घट्यो अब यसको निष्पक्ष छानबिन हुनुपर्छ’ भनेर एमाले महासचिव माधवकुमार नेपालले निकै जोड दिनुभएको थियो ।
सुरुमा न्याय क्षेत्रका व्यक्ति मात्र राखेर आयोग गठन गर्ने प्रस्ताव आएको हो । तर महासचिव नेपालले नै ‘होइन, पार्टीका वरिष्ठ नेताहरु र विपक्षी नेतासमेत बसेर आयोग गठन गरौं’ भनेर प्रस्ताव गर्नुभयो । साथै उहाँले ‘यदि त्यसो नगर्ने हो भने उच्चस्तरीय आयोगमा प्रधान न्यायधीशलाई अध्यक्ष राखेर सदस्यमा सभामुख रानाभाट र प्रमुख विपक्षी दलको नेताका रुपमा मलाई समेत राख्नुहोस्’ भनी प्रस्ताव गर्नुभयो । बैठक सकेर फर्कने क्रममा समेत उहाँले ‘आयोगमा म छुँटुला नि !’ भनिरहनुभएको थियो । वास्तवमा उहाँको प्रस्ताव र तर्क सहि पनि थियो । उहाँकै प्रस्तावलाई प्रमले समर्थन जनाउनुभएको हो । त्यही प्रस्ताव अनुसार प्रधान न्यायधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निधो भएको हो । राजपरिषद्को बैठकपछि दीपेन्द्र सरकारलाई नयाँ राजा घोषणा गरियो ।
वीरेन्द्र सरकारको मृत्युको घोषणा समेत भयो । राजपरिषद्को बैठकद्वारा अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायक बनाउने निर्णय भयो । शनिबार दिउँसो स्वर्गीय राजाको शव दाहसंस्कारका लागि आर्यघाट लैजानुपूर्व अस्पतालको प्राङ्गणमै ज्ञानेन्द्र सरकार, प्रम कोइराला, प्रधान न्यायाधीश उपाध्याय, सभामुख रानाभाट, रास्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, राजपरिषद् सभापति डा. रायमाझि, प्रमुख विपक्षी दलका नेता नेपाल लगायत वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा राजदरबार हत्याकाण्डबारे उच्चस्तरीय आयोग गठन सम्बन्धमा पुनः छलफल चल्यो । उप्रप्रधानमन्त्री तथा गृहमन्त्री रामचन्द्र पौडेल, सबै सुरक्षा अङ्गका प्रमुखहरु, श्री ५ को सरकारका केही सचिवहरु पनि छलफलमा सहभागी हुनुहुन्थ्यो ।
छलफल पश्चात् बाहिरको वातावरण एकदमै तनावग्रस्त बन्दै गएको कारण उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निणर्य भएको कुरा तत्काल सञ्चार माध्म मार्फत आनौपचारिक रुपमा सार्वजनिक गर्ने र औपचारिक रुपका राज्यसहायक श्री ५ ज्ञानेन्द्रबाट घोषणा गर्ने तय भयो । यो कुरा प्रम कोइरालाले प्रस्ताव गर्नुभएको थियो, जसमा जहाँ उपस्थित सबैले सहमति जनाएका थिए । त्यसपछि प्रमुख सचिव पशुपतिभक्त महर्जनले आयोगमा रहने सबै सदस्यलाई छेउमा गएर उहाँहरुको कानैमा आयोगको सदस्यमा बस्ने कि नबस्ने भन्नेबारे सोध्नु पनि भयो, जसमा सबै जनाले स्वीकृति जनाउनुभएको थियो । त्यसपछि राजदरबार हत्याकाण्डबारे छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने निर्णय भएको कुरा सार्वजनिक गरियो । तर, आयोग गठन भइसकेपछि एमाले महासचिव माधवकुमार नेपालले के कारणले हो, आयोगमा नबस्ने भनेर राजीनामा दिनुभयो ।
यस्तो किसिमको दुर्घटना हुँदा के गर्ने, कानुनी रुपमा यसका केके उपाय छन् भनेर सोच्ने र विचार गर्ने समय थिएन हामीसँग । अधिराजकुमार ज्ञानेन्द्रबाट मृत्यु भएका सबैको पोस्टमार्टम गरी कानुन अनुसार सबै प्रक्रिया पूरा गर्न हुकुम भएको हो । पोस्टमार्टमका लागि डा. हरिहर वस्ती, प्रहरी र जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधि समेत झिकाइसकेका थियो । सरकारी वकिल पनि अस्पतालमै झिकाउने तयारी भइरहेको थियो ।
घटनाको फाइल तयार पार्ने काम चलिरहेको थियो । यसैबीच मुमा बडामहारानीबाट ‘महाधिराजको शरीर चाहिँ नचिर्ने हो कि ?’ हुकुम भयो । अनि प्रम कोइराला पनि यस कुरामा सहमत हुनुभयो । उहाँले ‘घटना यो व्यक्तिले गराएको हो भन्ने स्पष्टै छ, मृत्युको कारण सबै छर्लङग छँदै छ’ भन्नुभयो । यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पनेस्टमार्टम नगर्ने कुरा तय भयो ।
त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउँछ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो । यस्ता कुराको निर्णय लिने को हो त ? यसको इन्चार्ज हुने कुरा नै भएन । नयाँ राजाको घोषणा गर्न भने सबैभन्दा महत्वपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजधिराज दीपेन्द्र स्वर्गे नभएकोले सरकारलाई नै राजा बनाउने निर्णय ग¥यो । साथै राज्यसहायकका रुपमा अधिराजकुमार ज्ञानेन्द्रलाई जिम्मेवारी दिने निर्णय ग¥यो । दीपेन्द्र सरकारको उपचार भइरहेको थियो । बाँच्ने आशा लगभग थिएन । तर पनि चिकित्सकले मृत्युको घोषणा नगरेकोले सरकारलाई राजा घोषणा गर्न बाध्य हुनुपरेको थियो । परम्परा अनुसार राजगद्दी खाली राख्नु हुन्न ।
नेपालको कानुन र राजपरिषद्को कार्यविधि अनुसार नै दीपेन्द्र सरकारलाई राजा घोषणा गरिएको थियो ।
राजपरिषद्का सभापति डा. रायमाझिको अध्यक्षतामा बसेको बैठकमा प्रम कोइराला, सभामुख रानाभाट, राष्ट्रिय सभाका अध्यक्ष डा. मोहसिन, प्रधान न्यायाधिश उपाध्याय, प्रमुख विपक्षी दलका नेता नेपाल, उपप्रधानमन्त्री पौडेल, भूतपूर्व प्रधानमन्त्रीहरु, प्रधान सेनापति , महान्यायधिवक्ता लगायतको पूर्ण उपस्थिति थियो । बैठकमा कोही कसैले पनि दीपेन्द्रलाई राजा घोषणा गर्नुहुन्न भनेनन् । न कसैले अधिराजकुमार ज्ञानेन्द्रलाई राज्यसहायकको जिम्मेवारी दिने कुराको विरोध नै गरे । अझ प्रम र प्रमुख विपक्षी दलका नेता लगायतबाटै यो प्रस्ताव आएको थियो । नयाँ राजा घोषणा गरियो तर राज्यरोहण गर्न सकिएन ।
परम्परा अनुसार राजाको स्वर्गारोहण हुँदा पहिले नयाँ राजाको राज्यारोहण गर्ने अनि मात्र स्वर्गीय राजाको दाहसंस्कार गर्ने प्रचलन थियो । यस पटक यसो गर्न सकिएन । यस्तो भएको पनि नेपालको इतिहासमा पहिलो पटक नै थियो । यसै क्रममा स्वर्गीय राजा–रानी लगायत राजपरिवारका स्वर्गीय सदस्यहरुको उकै पटक दाहसंस्कार गर्नुपर्ने भयो । सेनाका लागि यो पनि निकै ठूलो जिम्मेवारी थियो । एकातिर सारा सुरक्षाको व्यवस्था मिलाउनु थियो भने अर्कातिर एकै पटक यति धेरै संख्यामा आर्यघाटमा दाहसंस्कारको प्रबन्ध गर्नुथियो । परम्परा अनुसार ब्राह्मणहरुले शव बोकेरै आर्यघाटसम्म पुग्नुपर्ने । पाँच वटा चिता तुरुन्त बनाउनुपर्ने भयो ।
अन्तिम सलामीको व्यवस्था गर्नुप¥यो एकैपटक । राजा सम्बन्धि प्रशासनिक र कानुनी सबै काम प्रमुख राजदरबार पदाधिकारी र प्रमुख सचिवालयले तथा सुरक्षा प्रबन्ध र दाहसंस्कारसँग सम्बन्धित सबै काम सैनिक सचिवालयबाट हेर्ने गरि कामको बाँडफाँड गरियो । यसमा मलाई प्रधान सेनापति प्रज्वल्लशमशेर जबराले निकै मद्दत गर्नुभयो । गृहसचिव श्रीकान्त रेग्मीको सहयोग पनि उल्लेखनीय रह्यो । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख देवीराम शर्मा, प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबरा र कृष्णमोहन श्रेष्ठले पनि निकै कुशलतापूर्वक आफू मातहतका सुरक्षाकर्मीलाई परिचालन गरेर निकै महत्वपूर्ण सहयोग पु¥याउनुभयो ।
राजपरिषद्को बैठकपछि अधिराजकुमार ज्ञानेन्द्रबाट राज्यसहायकका रुपमा देशवासीका नाममा पहिलो सम्बोधन गर्ने तय भयो । राज्यसहायकले गर्ने सम्बोधनमा के विषय समेट्ने भनेर चार जना सचिवले तय ग¥यौं । त्यसमा प्रमुख सचिव पशुपतिक्तत मर्हजन, प्रमुख निजी सचिव सुदन पोखरेल, संवाद सचिव मोहनबहादुर पाण्डे र म थियौं । सम्बोधन भाषण लेख्ने कामको जिम्मेवारी मुख्यतः संवाद सचिव र प्रमुख सचिवको हुन्थ्यो । यो सम्बोधनको ड्राफ्ट चाहिँ मोहनबहादुर पाण्डेले तयार पार्नुभएको थियो । ज्ञानेन्द्र सरकार र प्रधानमन्त्रीको सुझाव अनुरुप त्यो सम्बोधन तयार भएको थियो । राजदरबारका सचिवले सम्बोधन भाषण तयार पारेर सरकारबाट सहमति भएपछि अक्सर जानकारीका लागि प्रम लाई देखाउने चलन थियो । यो सम्बोधन भाषण पनि प्रमलाई देखाइयो । उहाँले ‘हुन्छ’ भनेपछि सरकारबाट देशवासीको नाममा सम्बोधन गरियो । (विवेककुमार शाहको मैले देखेको दरबार पुस्तकबाट )








0 comments:
Post a Comment