आफ्नो टोली उपाधि होडबाट बाहिरिनुअघिसम्म रोनाल्डोको एउटै चाहना थियो, ब्राजिल विश्वकपमा टोलीका लागि धेरैभन्दा धेरै गोल गर्नु।
तर आफ्नो टोली अनपेक्षित रूपमा पहिलो चरणबाटै बाहिरिएपछि रोनाल्डोको इच्छा पनि फेरिएको छ। स्पेनिस क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्ने दुईपटकका फिफा वर्ष खेलाडी रोनाल्डोको नयाँ इच्छा के होला त?
रोनाल्डोको नयाँ इच्छा हो, विश्वकपको फाइनलमा ब्राजिलका युवा खेलाडी नेमार र अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीबीचको भिडन्त हेर्नु।
उनले यिनै दुई दक्षिणअमेरिकी राष्ट्र विश्वकपको फाइनलमा पुग्ने अनुमान पनि लगाइसकेका छन्। 'मेरो विचारमा ब्राजिल र अर्जेन्टिना नै फाइनलमा पुग्नुपर्ने हो। म पनि नेमार र मेसीबीचको भिडन्त हेर्न आतुर छु', रोनाल्डो भन्छन्, 'यी दुवै गजबका खेलाडी हुन्। ब्राजिल र अर्जेन्टिना फाइनलमा पुगे दर्शकले पनि गतिलो मनोरञ्जन पाउनेछन्।'
नेमार र मेसी दुवैले चालू विश्वकपमा चारचार गोल गरिसकेका छन्। यी दुवै खेलाडीप्रति उनीहरूको टोली पनि निकै आशावादी छ।
जारी विश्वकपमा नेमार र मेसीसँगै जर्मनीका थोमस मुलर पनि चार गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अग्रस्थानमा छन्। प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा ब्राजिलले चिलीको र अर्जेन्टिनाले स्विट्जरल्यान्डको सामना गर्नेछन्। -एजेन्सी








0 comments:
Post a Comment