अख्तियारका तर्फबाट प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहको नेतृत्वमा खटिएको टोलीले बरौनी र रक्सोलबाट पेट्रोलियम पदार्थ बोकेर आएको ट्यांकर नियन्त्रणमा लिएको हो।
आयल निगमका कर्मचारी, इन्धन ढुवानीकर्ता र ट्यांकरचालकको मिलेमतोमा टेम्प्रेचर लस अर्थात् तापक्रम नोक्सानीको बहानामा संस्थागत रूपमै वर्षौंदेखि ठूलो परिमाणमा इन्धन चोरी, चुहावट भइरहेको गुनासो आएपछि अख्तियारले ट्यांकर नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको ट्यांकर अख्तियारको निगरानीमा प्रहरीले स्कर्ट गर्दै अमलेखगन्जस्थित निगमको डिपोमा पु:याएर विशेषज्ञको उपस्थितिमा इन्धनको परिमाणमा नाप्ने कार्य गरिएको छ।
भैरहवामा अवस्थित निगमको डिपोमा ट्यांकरबाट इन्धन झार्दा तापक्रम नोक्सानी शून्य प्रतिशत फेला परेपछि शुक्रबार वीरगन्ज, नेपालगन्जसहितका नाकाबाटै ट्यांकर नियन्त्रणमा लिएर परीक्षण गर्न लागिएको अख्तियार सम्बद्ध स्रोतले जानकारी दिएको छ। अख्तियारबाट खटिएको टोलीको उपस्थितिमा इन्धनको परिमाण मापण क्यालिब्रेसन भइरहेको निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनालले बताए। भारतीय सीमा (रक्सोल) बाट मुस्किलले ४० किलोमिटर दूरीमा अवस्थित बाराको अमलेखगन्जस्थित निगमको डिपोसम्म पुग्न मुस्किलले एक घन्टाको समय लाग्छ। बरौनीबाट अमलेखगन्जसम्म दुई सय ४० किलोमिटर ढुवानी गर्न बढीमा आठ घन्टाको समय लाग्ने गरेको छ। भारतीय नाका (रक्सोल) बाट अमलेखगन्जसम्मको दूरी तय गर्न मुस्लिकले एक घन्टा लाग्ने भएपनि इन्धन ढुवानी व्यवसायीले दोस्रो दिन मात्र ट्यांकर पु:याउने गरेका छन्। उही दिन पु:याउँदा टेम्प्रेचर लस दाबी नपाइने भएकाले नियतवश व्यवसायीले ट्यांकर बीच बाटोमै थन्क्याउने र इन्धन चोर्ने गर्छन्।
चोरी गरिएको परिमाणवापतको इन्धनलाई निगमका कर्मचारीले तापक्रम नोक्सानी र डिपो नोक्सानीको शीर्षकमा मिलान गरेर चुहावटबापत ढुवानी व्यवसायी र चालकसँग घुस असुल्ने गरेको सम्बद्ध स्रोतको दाबी छ।
अमलेखगन्ज र रक्सौलबीच तीनदेखि पाँच डिग्री सेल्सियस र अमलेखगन्ज र बरौनीबीच पाँचदेखि सात डिग्री सेल्सियससम्म तापक्रम भिन्नता हुने दाबीसहित निगमका कर्मचारीले इन्धन व्यवसायीलाई फर्जी क्षतिपूर्ति दिंदै आएका छन्।
आयल निगमका कर्मचारी, इन्धन ढुवानीकर्ता र ट्यांकरचालकको मिलेमतोमा टेम्प्रेचर लस अर्थात् तापक्रम नोक्सानीको बहानामा संस्थागत रूपमै वर्षौंदेखि ठूलो परिमाणमा इन्धन चोरी, चुहावट भइरहेको गुनासो आएपछि अख्तियारले ट्यांकर नियन्त्रणमा लिएको हो।
निगमले अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मान्दै एक डिग्री सेल्सियस घटबढ बराबर नौ लिटर इन्धनको मापदण्ड तय गरेको छ अर्थात् भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगम (एनओसी) को डिपो अवस्थित भौगोलिक क्षेत्रमा तापक्रममा एक डिग्री फरक पर्दा ढुवानी व्यवसायीले नौ लिटरसम्म इन्धन चुहावट दाबी गर्न पाउँछन्।
यति मात्र नभएर निगमको डिपोमै पनि तापक्रममा गिरावटका कारण एक डिग्री तापक्रम बराबर थप नौ प्रतिशत चुहावटसमेत कर्मचारीले नोक्सानी हिसाबमा देखाउने सुविधा पाएका छन्।
बरौनीमा कच्चा इन्धन प्रशोधनको समेत काम हुने भएकाले तापक्रम ज्यादै उच्च हुन्छ, इन्धन ढुवानी व्यवसायी सुरेन्द्र श्रीवास्तवले भने, 'अमलेखगन्जको तापक्रम कम हुँदा चिसोमा तेल खुम्चिएर नापतौल गर्दा घटी परिमाण देखिन्छ। पेट्रोलियम पदार्थमा तातो वातावरणमा फैलिने र चिसोमा खुम्चिने विशेषता हुन्छ।'
'इन्धन चोर्ने र चुहावट गर्ने कार्यमा ट्यांकरचालक, ढुवानी व्यवसायी र निगमका कर्मचारीको समेत मिलेमतोको आधार फेला पारेका छौं', पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले भने, 'बीच बाटोमै इन्धन चोरी हुन्छ भन्ने प्रमाण भेटिए पनि नियन्त्रणका लागि निगमका कर्मचारीले कहिल्यै हामीलाई गुनासो गर्दैनन्।'








0 comments:
Post a Comment