Sunday, July 13, 2014

विश्‍वकप फाइनलमा अर्जेन्टिना र जर्मनी कस्ले जित्ला त?

रियो दे जेनेरियो : सन् १९८६ को विश्‍वकप फाइनलमा तत्कालीन पश्‍चिममजर्मनीलाई ३-२ गोलले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो। त्यसको चार वर्षपछि आयोजित संस्करणको फाइनलमा अर्जेन्टिनालाई नै १-० गोलले हराएर पश्चिमजर्मनीले मीठो बदला लियो। संयोग नै मान्‍नुपर्छ, त्यसयता जर्मनी र अर्जेन्टिना फेरि विश्वविजेता बन्नसकेका छैनन्।

 दुई दशकभन्दा बढी भएको छ, विश्वकपमा यी दुई टोलीको उपाधिविहीन यात्रा। तर यी दुईमध्ये एक टोलीले आइतबार राति उपाधिको भोक मेटाउने निश्‍चित छ। अर्जेन्टिना र जर्मनी आइतबार राति २० औं विश्वकप फुटबलको उपाधिका लागि भिड्दैछन्।

जर्मनीसँग फाइनलमा हारेयता अर्जेन्टिना फेरि सेमिफाइनलसम्म पनि पुग्नसकेको थिएन। तर यसपटक लियोनल मेसी, एन्जेल डी मारिया, सर्जियो एगुएरो, गोन्जालो हिगुएनलगायत स्टार खेलाडीको प्रेरणामा अर्जेन्टिना २४ वर्षपछि फाइनलमा पुग्न सफल भयो। यसपटक अर्जेन्टिना २८ वर्षपछि उपाधि जित्‍न प्रयासमा छ।

जर्मनीको कथा भने केही फरक छ। जर्मनी अन्तिमपटक सन् २००२ को विश्‍वकपमा फाइनलमा पुगेको थियो। त्यतिबेला जर्मनी फाइनलमा ब्राजिलसँग पराजित भएको थियो। त्यसयता पनि जर्मनी हरेक संस्करणमा कम्तीमा सेमिफाइनलसम्म पुगेको थियो। फिलिप ल्याह्यम, बास्टियन स्वेन्सटिगर, मिरोस्लाभ क्लोस, लुकास पोडोल्स्की, मेसुट ओजिललगायत खेलाडीको प्रेरणामा यसपटक जर्मनी फाइनलमै पुग्न सफल भएको छ।

पछिल्लो समय जर्मनीको सफलताको कथामा युवा स्ट्राइकर थोमस मुलर लगातार छाउँदै आएका छन्। त्यसैले आइतबार हुने फाइनल भिडन्तलाई दुवै टोलीको गोल्डेन जेनरेसन (सुनौलो पुस्ता) बीचको लडाइँका रूपमा पनि हेरिएको छ। जर्मनीले पहिलो खेलमा पोर्चुगललाई ४-० गोलले हराएर जारी विश्वकपमा गतिलो सुरुआत गरेको थियो। सेमिफाइनलमा घरेलु टोलीलाई ७-१ गोलले हराएर जर्मनी फाइनलमा पुगेको हो।

अर्जेन्टिनाका लागि भने प्रतियोगिताका हरेक खेल कठिन रहे। अर्जेन्टिनाले पहिलो खेलमा बोस्निया हर्जगोभिनालाई २-१ गोलले हराएको थियो। सेमिफाइनलमा अर्जेन्टिनाले साबिक विजेता नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४-२ गोलले हरायो। प्रतियोगितामा दुवै टोलीले कुनै खेल हारेका छैनन्। फरक यति छ, अर्जेन्टिनाले सबै खेल जित्यो भने जर्मनीले एक खेल बराबरी खेल्यो।

जर्मनीका गोलरक्षण, मिडफिल्ड र अग्रपंक्ति बलियो छ। ब्राजिल र पोर्चुगलविरुद्ध भएको गोल वर्षाले पनि जर्मनीको क्षमता प्रस्ट हुन्छ। यता गोलका लागि हरेक खेलमा संघर्ष गरिरहनु परेकाले अर्जेन्टिनाभन्दा जर्मनीलाई बलियो मान्ने पनि धेरै छन्। अर्जेन्टिनाका मिडफिल्डर म्याक्सी रोड्रिगुएज फाइनलमा कुनै पनि टिमलाई बलियो र कमजोर भन्न नहुने बताउँछन्। सोही टोलीका स्ट्राइकर एगुएरो पनि आफ्नो प्रतिद्वन्द्वीबाट निकै सजग छन्।

'जर्मनी बलियो टिम हो। ब्राजिलसँग जर्मनीले जुन नतिजा निकाल्यो, त्यो अरू टिमले पनि भोग्न सक्छ', एगुएरो भन्छन्। आफ्नो टोलीको अग्रपंक्तिप्रति उनलाई विश्वास छ। जर्मनीका स्टार स्ट्राइकर थोमस मुलर मेसीलाई रोक्न सके खेल सहज हुने बताउँछन्। 'मेसीमाथि लगातार ध्यान दिइराख्नुपर्छ। मुख्य कुरा उनलाई खेल्न दिनु हुँदैन।

हामीले एक ढिक्का भएर खेल्नुपर्छ', जारी प्रतियोगितामा पाँच गोल गरिसकेका मुलर भन्छन्। जारी विश्‍वकपमा मेसीले चार गोल गरिसकेका छन्।

कोलम्बियाका जेम्स रोड्रिगुएज ६ गोलसहित सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा छन्। सर्वाधिक गोलकर्ताले पाउने गोल्डेन बुटका दाबेदार मेसी र मुलरका लागि व्यक्तिगत रूपमा समेत फाइनल खेलले अर्थ राख्‍नेछ।

सन् २००१ देखि जर्मनी टोलीमा रहेका स्ट्राइकर मिरोस्लाभ क्लोसका लागि यो विश्वकपले विशेष महत्त्व राख्नेछ। उनी हरेक विश्वकपमा छाए, केही कीर्तिमान पनि बनाए तर उपाधि भने जित्न सकेका छैनन्। ३६ वर्षीय क्लोसले आगामी विश्वकप खेल्ने सम्भावना पनि कम छ। 'म यसपटक फाइनल हार्न चाहन्नँ। उपाधि जित्नु मेरो एकमात्र लक्ष्य हो', क्लोस भन्छन्। जर्मनीले सन् १९९६ पछि ठूला प्रतियोगिताको उपाधि जित्नसकेको छैन। अर्जेन्टिनाले पनि एकपछि अर्को खेलमा सुधारिएको प्रदर्शन गरिरहेको छ। अर्जेन्टिनाको गोलरक्षक र रक्षापंक्ति बलियो देखिएको छ।

जर्मनी र अर्जेन्टिनाबीच हालसम्म २० पटक प्रतिस्पर्धा भएको छ। अर्जेन्टिना नौ र जर्मनी सातपटक विजयी भएका छन्। यी दुईबीच भएका चार खेल भने बराबरीमा सकिएका थिए। विश्वकपमा यी दुई टोली ६ पटक भिडेका छन्। सन् १९८६ पछि विश्वकपमा अर्जेन्टिनाले जर्मनीलाई हराउनसकेको छैन।

सन् २००६ को विश्वकपमा जर्मनीले अर्जेन्टिनालाई क्वार्टरफाइनलमा टाइब्रेकरमा पराजित गरेको थियो। सन् २०१० मा आयोजित संस्करणमा जर्मनीले क्वार्टरफाइनलमै अर्जेन्टिनालाई ४-० गोलले हराएको थियो। सन् २०१२ मा यी दुई टोलीबीच भएको पछिल्लो भिडन्तमा भने अर्जेन्टिना ३-१ गोलले विजयी भएको थियो। -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment