Saturday, July 12, 2014

सुखद समापनमा ब्राजिल र नेदरल्यान्ड्सले अन्तिम खेल खेल्ने

रियो दे जेनेरियो : जारी विश्‍वकप फुटबलको तेस्रो स्थानका लागि शनिबार राति ब्राजिल र नेदरल्यान्ड्सबीच घम्साघम्सी पर्ने भएको छ। सेमिफाइनलमा पाँचपटकको विजेता ब्राजिलले जर्मनीसँग ७-१ गोलको अप्रत्यासित हार बेहोरेको थियो। नेदरल्यान्ड्स भने सेमिफाइनलमा अर्जेन्टिनासँग टाइब्रेकरमा ४-२ गोलले पराजित भएको थियो।

नेदरल्यान्ड्सका प्रशिक्षक लुइस भान गालले तेस्रो स्थानका लागि हुने खेल अर्थहीन भनेका छन्। ब्राजिल भने उक्त खेलमा नेदरल्यान्ड्सलाई हराएर आम समर्थकलाई सान्त्वना दिने योजनामा छ। जर्मनीसँग खराब नतिजा बेहोरेपछि ब्राजिलियन टोलीको निकै आलोचना भइरहेको छ।

ब्राजिल छैटौंपटक विश्वविजेता बन्ने प्रयासमा थियो। यसमा ब्राजिलका लागि घरेलु मैदान उपयोगी सिद्ध हुन सक्थ्यो तर स्थिति ठीक उल्टो भयो।

जर्मनीसँगको हारपछि ब्राजिलियन टोलीको भविष्यका विषयमा पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यस्तो अवस्थामा ब्राजिलका लागि आफ्ना आलोचकलाई गतिलो जबाफ दिने यो उपयुक्त अवसर हुनसक्छ। ब्राजिलका लागि अहिले निकै बलियो देखिएको नेदरल्यान्ड्सलाई हराउनु ठूलो उपलब्धि हुनेछ। यसले टिमको आत्मबलमा पनि सुधार ल्याउन सक्छ।

लुइज फेलिपी स्कोलारीको प्रशिक्षणमा ब्राजिलले अन्तिमपटक सन् २००२ मा विश्वकपको उपाधि जितेको थियो। त्यतिबेला टोलीलाई उपाधि दिलाएर स्कोलारीले ब्राजिलको जिम्मेवारी छाडेका थिए। त्यसपछिका दुई संस्करणमा ब्राजिल क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेन। फेरि ब्राजिलको टोलीमा फर्किएका स्कोलारीले यसपटक भने निकै ओलाचना खप्नुपरेको छ। अहिले उनको राजीनामाको माग पनि चर्को रूपमा उठिरहेको छ। त्यसैले स्कोलारीका लागि पनि नेदरल्यान्ड्सविरुद्धको खेल अग्निपरीक्षाको घडी हो।

'हामी १२ वर्षपछि सेमिफाइनलमा पुग्यौं। यो पनि त ठूलो उपलब्धि थियो नि', लगातारको आलोचनाबाट आजित भएका स्कोलारी भन्छन्, 'यतिबेला टोलीको मनोबल उच्च बनाउन पनि नेदरल्यान्ड्सविरुद्धको खेल हाम्रा लागि महत्त्वपूर्ण छ। अन्तिम खेलमा केही राम्रो सन्देश दिन सक्यौं भने त्यो नै ब्राजिलको सफलता हुनेछ।'

स्कोलारीले भनेजस्तै शनिबार हुने खेलमा नेदरल्यान्ड्सलाई हराउन सके त्यसले ब्राजिलियन समर्थकको घाउमा पनि गतिलो मलमको काम गर्नेछ। जारी प्रतियोगिताभर ब्राजिलको रक्षापंक्ति कमजोर देखियो। कोलम्बियाविरुद्धको खेलमा रक्षापंक्ति केही सुधारिएको देखिए पनि सेमिफाइनलमा ब्राजिलले पुरानै गल्ती दोहोर्‍याएको थियो।

अग्रपंक्तिमा पनि नेमारको बलियो विकल्प कोही देखिएको छैन। जर्मनीसँग पनि यही समस्या देखिएको थियो। कप्तान तथा रक्षक थियागो सिल्भा फाइनलमा उत्रने भएकाले निराश ब्राजिलियन खेलाडीको आत्मबल केही बढ्ने देखिन्छ।

डच टोलीको कथा भने बेग्लै छ। प्रतियोगिता सुरु हुनुअघि उपाधि दाबेदारका रूपमा हेरिएको थिएन नेदरल्यान्ड्सलाई। तर धेरै फुटबल पण्डितको अनुमानविपरीत नेदरल्यान्ड्स उच्चस्तरको प्रदर्शन गर्दै ब्राजिल विश्वकपको सेमिफाइनलसम्म पुग्यो। यो युरोपेली टोलीका लागि आफैंमा ठूलो सफलता थियो।

डच टोलीका प्रशिक्षक भान गालले तेस्रो स्थानका लागि खेल नहुनुपर्ने तर्क अघि सारेर शनिबार रातिको खेलका लागि आफू गम्भीर नभएको संकेत दिएका छन्।

'विश्वकपमा एउटै उपाधिका लागि प्रतिस्पर्धा हुनुपर्छ। उपाधि होडबाटै बाहिरिइसकेपछि अरू खेल खेल्नुको कुनै अर्थ हुन्‍न', भान गाल भन्छन्। तैपनि प्रतियोगिताको सुखद अन्त्य गर्नुपर्ने चुनौती उनीमाथि पनि छ।

अझ तेस्रो स्थानका लागि हुने खेलमा ब्राजिलजस्तो पूर्वविजेता र घरेलु टोली प्रतिद्वन्द्वी भएकाले डच टोलीलाई सफलता दिलाउन सक्नु भान गालका लागि ठूलो सफलता हुनेछ। ब्राजिल र नेदरल्यान्ड्सबीच हालसम्म ११ पटक प्रतिस्पर्धा भएको छ।

विश्‍वकपमा यी दुई टोली चारपटक आपसमा भिडेका छन्। सन् २०१० मा भएको विश्वकपमा ब्राजिल क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो। वेस्ली स्नाइडरको दुई गोलको मद्दतमा नेदरल्यान्ड्स २-१ गोलले विजयी भएको थियो। यी दुई टोलीबीचको खेलमा नेदरल्यान्ड्सले तीन जित, चार हार र चार बराबरीको नतिजा निकालेको छ। -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment