सन् २०१० देखि स्थानीय तहमा रूख रोप्ने अभियानमा लागेका किरातले हालसम्म १० हजारभन्दा बढी बिरुवा रोपिसकेका छन्। उनको यो अभियानलाई स्थानीयवासीले सहयोग गरेका छन्। उनले सन् २०२० सम्ममा २० लाख बिरुवा रोप्ने योजना बनाएका छन्।
जलवायु परिवर्तन र विश्वव्यापी उष्णीकरणका कारण सिंगो हिमाली क्षेत्रको वातावरण बिग्रिएकोमा उनलाई धेरै चिन्ता छ। पानीको मुख्य स्रोत हिमशृखला बचाउन उनको अभियानले सहयोग गर्ने अपेक्षा गरिएको छ। 'पानीको स्रोत नासिँदैछ। प्राकृतिक विपत्को जोखिम बढ्दो छ', किराँतले भने, 'प्रदूषित हावा र पानीबाट विभिन्न प्रकारका रोग फैलँदैछन्। यो समस्याबाट मुक्त हुन अभियान थालेको हुँ।'
अभियानलाई देशव्यापी बनाउन लागेका किराँतले सन् २०२० भित्र जिल्लाका ३४ वटै गाविसमा दुई लाख बिरुवा रोप्ने योजना बनाएका छन्। लुक्लादेखि हलेसीसम्म दूधकोसी किनारमा २० लाख बिरुवा रोप्ने उनको अभियान छ। 'रूखले प्रदूषणलाई फिल्टर गर्नसक्छ। यसले वायुमण्डलमा भएका विषलाई सोस्ने गर्छ। मानवजीवनलाई स्वस्थ रहन मद्दत गर्छ', किरात भन्छन्।
उनले रोप्ने बिरुवामा ओखर, चिउरी, बाँस, कफी, एभोकाडो, लिची, किवी, रुद्राक्ष, तेजपात, सिसौ, कटुस, लप्सी, लिची, सुन्तला, औलोसल्लालगायत छन्। यी सबै बिरुवा फल तथा काठका लागि उपयोगी मानिन्छन्।
उनले बिरुवा उत्पादन गर्न नर्सरी पनि तयार गरिसकेका छन्। 'मैले हङकङदेखि बेइजिङसम्मको आकाश रातो देखेँ। युरोप, अमेरिकाको आकाश पनि रातो छ। उनीहरूले धेरै औद्योगिक कलकारखानासहित उच्च रूपमा प्रविधिको उपयोग गरेका छन्। त्यसको सीधै असर वायुमण्डलमा परेको छ', किरातले अनुभव सुनाए। नेपालको आकाश भने स्वच्छ भएका कारण नीलो भएको उनको बुझाइ छ।
एउटा बिरुवा रोपेर हुर्काउनेले लाख रुपैयाँ दान गरेसरह हुने र सय बिरुवा रोप्नेले त करोडौं दान गरेजस्तो मूल्य हुने उनको धारणा छ। वरपीपल रोपेर धर्म गर्ने प्रचलन नजानिँदो रूपमा वातावरण जोगाउनकै लागि भएको उनको तर्क छ।
उनको यो अभियानलाई सघाउन डब्लूडब्लूएफले लप्सीका पाँच हजार बिरुवा उपलब्ध गराएको छ। यती एअरलाइन्ससँगको सहकार्यबाट उनी झनै उत्साहित भएका छन्। AnnaPurnaPost.com बाट साभार








0 comments:
Post a Comment