हरियो पत्तीको मूल्य बढाउन सरकार उद्योगलाई पटकपटक आग्रह गर्दा पनि बेवास्ता गरेपछि यो व्यवसाय नै नगर्ने निष्कर्षमा उनीहरू पुगेका छन्। हरियो पत्तीको उचित मूल्यका विषयमा पटकपटक ध्यानाकर्षण गराउँदासमेत चिया उद्योगी र सरकारले वास्ता नगरेकोले किसानले चिया बगान मासेर व्यवसाय परिवर्तन गर्न सुरु गरेका हुन्।
किसानका अनुसारअहिलेको मूल्यअनुसार एक केजी हरियो पत्तीमा पाँच रुपैयाँ घाटा छ। घाटामा दिइनुपर्ने बाध्यताबाट मुक्त हुन किसानले बगान नै फाँडेर धानखेती र पशुपालन फर्मतिर लागेको मंगलबार जलथलामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो।
एक केजी हरियो पत्ती उत्पादन गर्न मल, कीटनाशक औषधि र मजदुरलगायत गरी प्रतिकिलो १२ देखि १५ रुपैयाँ खर्च आउँछ तर उद्योगीले प्रतिकिलो ९/१० रुपैयाँ दिइँदै आएको किसान बताउँछन्।
'खर्च नै नउठ्ने भएपछि व्यवसाय नै परिवर्तन गर्न लागेका हौं', जलथला साना किसानका अध्यक्ष श्रीप्रसाद मैनालीले भने, 'सरकारको कमजोर नीतिका कारण चिया किसान बाध्य भएर कृषि व्यवसाय नै परिर्वतन गर्न लागेका हौं।' पाँच बिघा जग्गामा रहेको चिया बगान फँडानी गरी हाल घन्सी छरेको र धान लगाउने तयारी गरेको मैनालीले बताए।
चियामा अत्यावश्यक पर्ने मलसमेत पर्याप्त नपाइने उनले बताए। एउटा लालपुर्जा बराबर एक बोरा मल मात्रै पाइने भएकाले पनि समस्या भएको मैनालीको भनाइ छ।
उनका अनुसार २० परिवारले शतप्रतिशत चिया बगान फँडानी गरेका छन्। झापामा दुई हजार बढी चिया किसान छन्। चिया किसान र चिया उद्योगीबीच केही दिनअघि भएको सहमति उद्योगीले तोडेपछि किसानले यो नर्णय लिएको किसान शिवकुमार ओलीको भनाइ छ। उनका अनुसार चिया उत्पादकलाई सरकारले कुनै पनि विषयमा सुविधा नदिएकाले किसान व्यवसाय नै परिवर्तन गर्ने अवस्थामा पुगेका हुन्।
सरकारले किसानले उठाएका मागका विषयमा चालू आर्थिक वर्षभित्र सुनुवाइ नगरे सबै चिया बगान फाँड्ने योजनामा रहेको ईश्वरी दाहालले बताए। उद्योगीको आश्वसनमा परेर १८ वर्षअघि धानखेतीलाई परिवर्तन गरी चिया बगान लगाएका जलथलाका सरोज विमली पनि अहिले चिन्तित छन्।
उनले १० बिघा जग्गामा लगाएको चिया बगानमध्ये तीन बिघाको बगान फँडानी गरिसकेको बताए। नेपालको चियाले भारतको बजारभाउमा भर पर्नुपर्ने अवस्था, मल, कीटानाशक औषधिमा सरकारी सहुलियत नहुनु र मूल्य पनि नपाउनुलगायतका समस्या यो क्षेत्रमा छन्।








0 comments:
Post a Comment