निगमका प्रबन्ध निर्देशक मदन खरेलका अनुसार यस्तो योजना पूरा गर्न करिब ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने भएको छ। निगमको आन्तरिक उडानमा हाल एउटामात्रै ट्विनअटर जहाज छ।
अर्को एउटा मर्मतबाट छिट्टै सञ्चालनमा आउने भएको छ। चीनबाट ६ वटा जहाज आगामी कात्तिकभित्र आइसक्ने निगमले जानकारी दिएको छ। अहिले निगमको अन्तराष्ट्रिय उडानमा दुईवटा ७५७ नामक एक सय ९० सिटे बोइङ सञ्चालमा छन्।
आगामी वैशाखसम्ममा एअरबस कम्पनीका दुई जहाज आउने तय भइसकेको छ। आगामी एक वर्षपछि निगमको आन्तरिक उडानमा नौ र अन्तर्राष्ट्रिय उडानमा चारवटा जहाज हुनेछन्। एक वर्षपछि अन्तर्राष्ट्रिय उडानमा एअरबस कम्पनीका ए३२० नामक एक सय ५६ सिट क्षमताका दुईवटा जहाज आउने र हाल उडानमा रहेको बोइङ पुरानो भएको र मर्मत खर्चसमेत अधिक हुने थालेकै कारण यसलाई विस्थापन गर्दै जाने योजना निगमको छ। एक वर्षभित्रमा थप हुने र हाल भएका जहाजबाहेक नै आन्तरिक उडानका लागि ६ र अन्तर्राष्ट्रिय उडानका लागि सातवटा जहाज थप गर्नेसहितको १० वर्षे व्यापारिक योजना तय भएको निगमले जानकारी दिएको छ।
निगम व्यवस्थापनले तयार पारेको यो योजनालाई निगम सञ्चालक समितिले स्वीकृति दिइसकेको छ। यसलाई कार्यान्वयन गर्न सैद्धान्तिक सहमतिका लागि निगमले तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसमक्ष यो योजना पेस गरेको खरेलले जानकारी दिए।
उनले भने, 'निगमले तयार पारेको यस्तो योजनामा आन्तरिक उडानमा ६ वटा विमान चाहिन्छ भनेका छौं।' यसमा चिनियाँ नै हुनुपर्छ भनिएको छैन। नाफामूलक क्षेत्र मानिने ट्रंक रुटमा चल्ने एम ६० प्रकृतिकै दुईवटा र दुर्गम क्षेत्रमा उडान भर्न सक्ने थप चारवटा जहाज हुनुपर्छ भन्ने योजना निगमले तय गरेको छ।
निगममा सरकारको अहिलेसम्म जम्मा ३७ करोड रुपैयाँ लगानी रहेकोले यसलाई बढाएर अधिकृत पुँजी ३५ अर्ब रुपैयाँ र चालू पुँजी ३० अर्ब रुपैयाँ बनाउनुपर्ने प्रस्ताव अगाडि सारिएको छ।
अन्तर्राष्ट्रियमा ६ वटा न्यारो बडी र तीनवटा वाइड बडी जहाज आगामी १० वर्षसम्ममा हुनुपर्ने योजना भने तय भइसकेको छ। निगममा सरकारको अहिलेसम्म जम्मा ३७ करोड रुपैयाँ लगानी रहेकोले यसलाई बढाएर अधिकृत पुँजी ३५ अर्ब रुपैयाँ र चालू पुँजी ३० अर्ब रुपैयाँ बनाउनुपर्ने प्रस्ताव पनि अगाडि सारिएको छ।
निगमले अबको जहाज खरिदको मोडालिटी सरकार जमानत बस्ने र निगमले ऋण लिएर जहाज किन्नेमात्रै नभएर सरकारी लगानी नै हुनुपर्ने उल्लेख छ। यसका लागि सरकाले निगमको पुँजी वृद्धिमा लगानी गर्नुपर्छ। यो रकम एकैपटक बढाउने नभएर निगमलाई जहाज आवश्यक परेको अवस्थामा सहज हुने गरी १० वर्षभित्रमा थप गर्दै जान पनि निगमले व्यापारिक योजनामार्फत आग्रह गरेको छ।
निगमलाई निजीकरण गर्ने, सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा जाने तथा रणनीतिक साझेदार ल्याउने भन्ने विषयलाई भने यस्तो योजनामा समावेश नगरिएको निगमले जानकारी दिएको छ। व्यावसायिक सम्भावना, लगानीको क्षेत्र, कर्मचारीको अवस्था सबैलाई विचार गरेर कम्पनीको अवधारणा तय हुने भएकोले व्यापारिक योजनामा यसलाई नराखिएको खरेलले जानकारी दिए।
थप गरेका आन्तरिक उडानका जहाजमार्फत अबको एक वर्षपछि नै आफ्नो बजार हिस्सा २१ प्रतिशसम्म हुने निगमको भनाइ छ। सरकारी वायुसेवा भएकोले आन्तरिक र बाह्य दुवैमा ४०/४० प्रतिशत बजार हिस्सा हुनुपर्ने खरेलले बताए। आन्तरिक उडानमा जहाज थपको काम भइसकेकोले एकदुई वर्षमा नै बजार हिस्सा २५ प्रतिशतभन्दा माथि जाने विश्वास उनको छ। अन्तर्राष्ट्रिय उडानमा भने ४० प्रतिशतको बजार हिस्सा बनाउन जहाज थप गरेरै जानुपर्ने भएकोले १० वर्षको समय लिइएको पनि खरेलको बुझाइ छ।








0 comments:
Post a Comment