Friday, June 20, 2014

झाडापखाला नियन्त्रण गर्न सात अर्ब खर्च

झाडापखालाका संक्रमित र मृतक बढ्दै
काठमाडौं : सरकारले तीन दशकदेखि नियन्त्रणका लागि विभिन्‍न कार्यक्रम चलाए पनि झाडापखालाबाट संक्रमितको संख्या र मृत्युदर बढिरहेको छ। यसबाट झाडापखाला नियन्त्रण कार्यक्रम लक्षित वर्गसम्म पुग्न नसकेको प्रस्ट हुन्छ।
झाडापखाला नियन्त्रणका लागि सरकार र दातृ निकायबाट ३० वर्षमा सात अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। सुरुमा सरकारले झाडापखाला नियन्त्रण कार्यक्रम छुट्टै परियोजनाका रूपमा सञ्चालन गर्दा यसले केही सफलता पाएको थियो। तर उक्त कार्यक्रम २०५० सालदेखि स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले समुदायमा आधारित एकीकृत बालरोग व्यवस्थापनअन्तर्गत गाभेपछि स्तर खस्किँदै गएको अध्ययनले देखाएको छ।

विकसित मुलुकमा झाडापखालाबाट मृत्यु हुनु लाजमर्दो विषय हुन थालिसकेको छ। नेपालमा भने सरसफाइ अभाव, दूषित पानी तथा खानाका कारण झाडापखाला लाग्दा ज्यान गुमाउनुपरिरहेको छ। विभागको महामारी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने, 'झाडापखालाको संक्रमण घटाउन नसक्दा नेपालको पर्यटन क्षेत्रमा समेत नराम्रो असर परेको छ। विदेशी पर्यटक झाडापखाला भएमा फेरि फर्केर आउन चाहँदैनन्। यो विषय अन्त्यन्तै गम्भीर छ।'

अध्ययनअनुसार झाडापखालाबारे पर्याप्त जानकारी भएमा मात्र पनि यो रोगबाट जोगिन सकिन्छ। तर चेतनामूलक कार्यक्रमका लागि छुट्ट्याइएको रकम अनावश्यक काममा बढी खर्च हुँदा सन्तोषजनक उपलब्धि हात नपरेको हो। स्वास्थ्य, खानेपानी, सरसफाइ र वातावरणका क्षेत्रमा काम गर्ने सरकारी निकायबीच समन्वय नहुँदा पनि झाडापखाला नियन्त्रणमा आउन नसकेको हो। मन्त्रालयले नियन्त्रणका लागि चेतनामूलक कार्यक्रमसँगै औषधिउपचार लक्षित वर्गसम्म पुर्‍याउन सकेको छैन। खानेपानी संस्थानले स्वच्छ पिउने पानी उपलब्ध गराउन र स्थानीय निकायले सरसफाइ र सफा खानाबारे चेतना फैलाउन सकेका छैनन्।

अझै पनि देशका झन्डै ४० प्रतिशत मानिसलाई स्वच्छ पानी प्रयोग गर्दा झाडापखालाबाट बच्न सकिन्छ भन्ने ज्ञान छैन। विभागका पूर्वमहानिर्देशक डा. लक्ष्मीराज पाठकले भने, 'दुर्गम क्षेत्रमा झाडापखाला भएका बेला पानी खानु हुँदैन भन्ने धारणा छ। सोही कारण यसबाट ज्यान गुमाउनेको संख्या घट्न नसकेको हो।'

करिब ४० प्रतिशत मानिसले खुला ठाउँमा दिसा गर्नु, ६० प्रतिशत मानिसले खानुअघि र शौचालय गएपछि साबुनपानीले राम्ररी हात नधुनुलगायत कारणले पनि झाडापखाला संक्रमणदर बढ्दोछ। साबुनपानीले राम्ररी हात धोएमा झाडापखाला संक्रमण ४० प्रतिशत र श्वासप्रश्वाससम्बन्धी संक्रमण २३ प्रतिशत घटाउन सकिन्छ।

विभागका अर्का पूर्वमहानिर्देशक डा. यशुवद्र्धन प्रधानले झाडापखाला नियन्त्रणमा सरकारले पहल गरे पनि उपलब्धि सन्तोषजनक नभएको बताए। उनले भने, 'पछिल्लो समयमा नयाँनयाँ भाइरसले पनि झाडापखाला फैलाउने गरेको छ।'

सरकारले बर्सौंदेखि झाडापखाला नियन्त्रणका लागि जीवनजल र जिंक चक्की नि:शुल्क बाँड्दै आएको छ। मरासिनीले भने, 'पछिल्लो समयमा रुकुमलगायत पहाडी जिल्लामा जाँदा मैले त्यहाँका अधिकांश मानिसमा झाडापखाला लाग्दा जीवनजल त परैको कुरा, पानी खुवाउनुपर्छ भन्ने ज्ञानसमेत नभएको पाएँ। अनि क सरी यो कार्यक्रम सफल भयो त?' सहरकै मानिसमा पनि यसबारे ज्ञान नभएको पाइएको उनले बताए।

गरिबी पनि झाडापखालाको अर्को कारण हो। चिकित्सक केदारनरसिंह केसीले भने, 'सरकारले जीवनजल र सिटामोलमात्र बाँडेर हुँदैन, जनताको आर्थिक स्तर पनि उकास्नुपर्छ।'

विभागका अनुसार गत आर्थिक वर्षमा झाडापखालाबाट १७ लाख ५३ हजार सात सय ५८ जना थलापरेका थिए। त्यसमध्ये एक सय १६ जनाको ज्यान गएको थियो। आर्थिक वर्ष २०६८/०६९ मा १८ लाख ९२ हजार पाँचजना झाडापखालबाट प्रभावित भएका थिए। तीमध्ये ४५ जनाको ज्यान गएको थियो। २०६६ सालमा जाजरकोट, रुकुम, रोल्पा, हुम्लालगायत जिल्लामा एकैपटक ६२ हजार सात सयजना बिरामी भएका थिए। त्यसमध्ये तीन सय ४६ जनाले ज्यान गुमाउनुपर्‍यो। २०६५ सालमा ६ हजार पाँच सय १५ जना बिरामी भएकामध्ये ३८ जनाले ज्यान गुमाए। २०६४ सालमा मुलुकभर ३३ हजार सात सय ४६ जनालाई झाडापखाला लागेको थियो। त्यस वर्ष दुई सय ४७ जनाले ज्यान गुमाए।

चालू आर्थिक वर्षको चैतसम्म १० लाख ८५ हजार सात सय चारजना झाडापखालाबाट प्रभावित भएका छन्। यस आवको हालसम्म झाडापखालाबाट ७५ जनाले ज्यान गुमाइसकेका छन्। यो तथ्यांक सरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा भर्ना भएका बिरामीको मात्रै हो।

एक दिनमा तीनपटक वा त्यसभन्दा बढी पातलो दिसा भएमा झाडापखाला भएको मानिन्छ। पानीजस्तो पातलो दिसा हुनु, धेरैपटक दिसा हुनु र धेरै मात्रामा दिसा हुनु झाडापखालाका मुख्य लक्षण हुन्। झाडापखाला हुँदा शरीरबाट धेरै पानी, नुन तथा पोषण तत्त्व खेर जाने भएकाले मानिसको मृत्युसमेत हुन्छ।


कसरी गर्ने झाडापखाला रोकथाम ?
बच्चा जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खुवाउने
खाना खानु वा खुवाउनुअघि साबुनपानीले हात धुने
बच्चा नौ महिना पूरा भएपछि दादुराको खोप लगाउने
परिवारका सबै सदस्यले सरसफाइमा ध्यान दिने

शौचालय नियमित प्रयोग गर्ने

दिसामा आउँ र रगत देखिएमा प्रतिजैविक औषधि प्रयोग गर्ने

निको नभएमा स्वास्थ्य संस्थामा जाने

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment