Sunday, June 29, 2014

के फर्केला राजतन्त्र

मिश्र लेखिएको मैले नचिनेको मान्छे। उनको इमेल आउँछ नियमितरूपमा कुनै जानकारी या लिंक लिएर। नचिनेको कारणले होला वास्ता गर्दिनँ म यस्तो इमेललाई।
तर यसपालिको उनले पठाएको लिंकमा अनायास क्लिक गर्दा त्यसले 'दि डिप्लोम्याट' भन्‍ने न्युज म्यागजिनमा छापिएको अखिलेश पिल्लल्मरिर्रलको लेखमा पुर्‍यायो मलाई। पूर्वराजा ज्ञानेन्द्रको फोटोसहित शीर्षक रहेको छ, 'के नेपाल राजतन्त्रमा फर्किन सक्छ?' आजको छलफल यसबाटै सुरु गरौं। यो प्रश्‍नको उत्तर खोज्ने जमर्को गर्दा तीन कुरालाई आधार मान्नुपर्ने हुन्छ। पहिलो, नेपालको पढेलेखेको सचेत मध्यमवर्गको भूमिका। दोस्रो, भारतको भूमिका। तेस्रो, नेपालको वर्तमान अवस्था।

सन् १९९० को जनआन्दोलनलाई गहिरिएर हेर्दै जाँदा मैले नेपालमा परिवर्तन गराउने शक्ति देखे। यो शक्ति भनेको आफैंमा शक्ति नभईकन पनि नेपालमा परिवर्तन गराउन सक्ने वर्ग हो। यसलाई १९९० पश्चात् मैले पढेलेखेको सचेत मध्यम वर्ग भनेर ठम्याएको छु र यसले खेलेको भूमिकाबारे लेख्दै आएको हुँ। हो, यो आफैंमा कहिल्यै पनि शक्ति बन्‍न सकेन र बन्‍न पनि सक्तैन। तर त्यसो भएर पनि यसको ताकत भने घटेको छैन। वास्तवमा झन् बढेको छ। यसो हुनुको एउटै मात्र कारण हो- यो वर्गमा परिवर्तन गराउन सक्ने क्षमता सन्निहित छ। तर परिवर्तन गराउन आफैं भिड्न जाँदैन यो। अनि कसरी परिवर्तन हुन्छ त संवाहककारी भूमिकाबाट। नेपालमा परिवर्तन गराउने सशक्त संवाहक हो यो। विभिन्न जातजाति, धर्म, समुदाय र सांस्कृतिक विविधताले अत्यन्त विभाजित हुन्छ यो वर्ग। राजा आऊ देश बचाऊदेखि कट्टर गणतन्त्रवादी छन् यसभित्र।

यसको तागत यही विभाजनबाटै आउँछ। अघिपछि कहिल्यै मिल्दैनन् र तीनजना छलफल गर्न बसे भने चारवटा विचार निकाल्ने यो वर्गको चरित्र हो। तर यो वर्गले मुलुकको बृहत्तर हितलाई चनाखो भएर हेरेर बसेको हुन्छ जसले गर्दा जब नेपालको हितका कुरा आउँछ त्यतिबेला यो एक ढिक्का हुन्छ। यसरी हेटेरोजिनिटीबाटै होमोजिनिटी उत्पत्ति हुन्छ त्यो बेलामा जब मुलुकको बृहत्तर स्वार्थको जगेर्ना गर्नुपर्ने हुन्छ। यसले जब एक निर्दिष्ट धारणा बनाउँछ तब त्यो धारणा विभिन्‍न तप्का हुँदै तलसम्म जनमानस छिचोल्दै जान्छ। अन्तत: यो धारणै मुलुकको धारणा बन्छ। अनि यसले परिवर्तन ल्याउँछ मुलुकमा। १९७९ होस् या १९९० या २००६, परिवर्तनको वेग यही हो। यसरी आफू शक्ति नबनेर पनि परिवर्तनकारी शक्ति बनेको छ यो। अब अलिकति राजतन्त्रबारे हेरौं।



ठूलो माछाले सानोलाई खाएजस्तै जमिन जितेर आफ्नो अधीनमा राख्ने चलनको स्वरूप बदलिँदै गएर टाढाटाढा अधिपत्य कायम गरेर उपनिवेश बनाउनेमा पुग्यो। पैसा कमाउने उद्देश्य परिपूर्ति गर्न यो अत्यन्त लाभप्रद ठहरियो। आधुनिक उपनिवेशवादी युगमा आइपुग्दा मूलत: युरोपेली मुलुक फ्रान्स, बेलायत, स्पेन, पोर्चुगल र नेदरल्यान्डले मर्कन्टेलिस्ट सोच अर्थात् सरकार र व्यापारीको साझेदारीमा राजनीतिक पकड बलियो पारेर पैसा कमाउने अभियानलाई नै अगाडि बढाए। यसको लागि सैनिक तागत, विकसित प्रविधि, आधुनिक सीप र राम्रो व्यवस्थापनबाट उपनिवेशवादी शोषणपूर्ण मान्यतालाई बलियो पारे। यसरी जहाँ यी पुग्न सके त्यहाँ सम्पत्ति कमाउन उद्योग व्यापार र त्यसलाई टेवा दिने पूर्वाधारको विकास गरे। अनि त्यतिबेला सधैं आपसमा लडिरहनुपर्ने अवस्थाले सैनिक तागत बढाउँदै लगे।

अहिलेको संयुक्त राज्य अमेरिकामा कलोनी राख्न युरोपेली यी मुलुक सबैजसो त्यहाँ पुगेका थिए र आज अमेरिका जहाँ आइपुगेको छ त्यसको जग यिनीहरूले नै हालिदिएका हुन्। अमेरिका त कोलम्बसले १४९२ मा पत्ता लगाएको नयाँ ठाउँ पर्‍यो तर अन्यत्र जहाँ राजा थिए ती विस्थापित भए। भारतमा मुगलहरू धपिएजस्तै। समयको अन्तरालमा क्रान्तिबाट राजतन्त्र फालिने क्रम चल्यो। भोल्टेयर र रूसोको वैचारिक ऊर्जाबाट विश्वमा पहिलोपटक निस्केको समानता, स्वतन्त्रता र भ्रातृत्वको उर्लंदो पिपुल पावरले १७९३ मा फाल्यो फ्रान्समा।

राजतन्त्र फर्किने या नफर्कने त्यति महत्त्वपूर्ण छैन जति महत्त्वपूर्ण यो मुलुकको बृहत्तर राष्ट्रिय स्वार्थ हुन्छ।फर्केनै पनि सक्रिय हुने सम्भावना छैन। भएमा हुने भनेको संवैधानिक, अलंकारिक, सांस्कृतिक या बेबी किङमध्ये एक हो।
अनि कम्युनिस्टहरूले वोल्सेभिक क्रान्तिबाट १९१७ मा फाले रसियामा। र, यदाकदा फिर्ता पनि ल्याइयो जस्तो बेलायतमा १६६० मा। दोस्रो विश्‍व युद्धपश्‍चात् राजतन्त्रबाट उपनिवेश बनेका मुलुकहरूले स्वतन्त्रता प्राप्त गरेपछि स्वत: गणतन्त्र भएजस्तो भारत या भारतबाट बनेको पाकिस्तान अनि तत्कालीन सिलोन या बर्मा र यस्तै अमेरिकी मुलुकहरू। करिब दुई सय मुलुकहरू भएको विश्वमा अहिले ४० देशमा राजतन्त्र छ, चार देशमा सक्रिय। ४४ पूर्वराजाहरू अहिले जिउँदा छन्, जसमध्ये ६ मुलुकमा राजतन्त्र समाप्त भएर हो भने बाँकीमा राजीनामा दिएर या छोराका लागि राजपाठ त्याग गरेर हो। र, २००८ मा राजतन्त्र हटेको पछिल्लो मुलुक हो नेपाल विश्वको एक मात्र हिन्दुराष्ट्र।

दक्षिण एसियाको एउटा पुरानो र कहिल्यै पनि उपनिवेश नभएको मुलुक हो नेपाल। १८१६ को सुगौली सन्धिपश्चात् उपनिवेश नरहेर पनि स्वतन्त्र निर्णय गर्न सक्ने क्षमतामा ह्रास आएका कारण विश्व शक्ति बनेको बेलायतको उपनिवेशवादी नीतिअन्तर्गत नेपाल रहन गयो। असन्तुलित हुँदै गएको नेपालमा यसको ३० वर्षपछि जंगबहादुरले १४ सेप्टेम्बर, १८४६ को रातमा कोतपर्वबाट सत्ता हत्याए। अनि क्रमिकरूपबाट आन्तरिक सन्तुलन कायम गराए। बेलायत सरकारको काठमाडौंमा रहेको प्रतिनिधि, जसलाई ब्रिटिस रेजिडेन्ट भनिन्थ्यो, तिनले पठाएको प्रस्ताव बेलायत सरकारले स्वीकृत गरेको भए राजतन्त्रको स्वरूप नेपालमा त्यतिबेलै बदलिसकेको हुन्थ्यो। अर्थात् श्री ५ महाराजाधिराज शाह राजा नभएर जंगबहादुर हुन्थे।। श्री ५ हुन नपाए पनि जंगबहादुरले १८५६ मा आफूलाई राजा सुरेन्द्रबाट कास्की तथा लमजुङको महाराजा भएको घोषणा गराएका थिए।

दोस्रोपटक अनुरोध गरेर १८५७ को सिपाही बगाबत दबाउन दोस्रोपटक प्रधानमन्त्री बनेलगत्तै आफैं भारत पुगे जंगबहादुर। यसरी आन्तरिक सन्तुलन कायम रहेको नेपालभित्र बेलायतले हस्तक्षेप गर्ने या गिलगिलाउने काम गरेन। हो, विश्वयुद्धमा लडाउनका लागि हाम्रा तन्नेरी ज्यानहरू लिएर गए। मूलत: भन्नुपर्दा १९४७ मा बेलायतले मुक्त गरिदिएपछि नेहरूले एकातिर पञ्चशीलअन्तर्गतको असंलग्न परराष्ट्र नीति लागू गरे भने अर्कोतर्फ भारत सरकारका बाबुहरूले नेपालमा उपनिवेशवादी विदेश नीतिलाई निरन्तरता दिन लागिपरे। यस्तो दोहोरो नीतिको प्रचण्ड विरोधाभाष समाहित हुनसक्ने कुरै होइन। जसले गर्दा नेपाल-भारत सम्बन्धमा सधैं अविश्‍वास, असन्तोष, बेइमानी र थिचोमिचो गर्ने प्रवृत्तिको ज्वारभाटा उठिनैरहेका छन्। भारतबाट बनाइएको पाकिस्तान र पाकिस्तानबाट बनाइएको बंगलादेशलाई जति स्वतन्त्र मुलुकको रूपमा स्वीकार गरेका छन् सरकारी बाबुहरूले त्यति सधैं स्वतन्त्र भएर रहेको मुलुक नेपाललाई स्वीकार्न सकेका छैनन्। अनि त माइक्रो म्यानेजमेन्ट बढ्दैछ हाम्रो मुलुकभित्र जुन अस्वस्थ छ अनि चरम हानिकारक दुवै देशको लागि।

के राजतन्त्र फर्कन्छ नेपालमा भन्ने कुरा अब हेर्न सकिन्छ। राजतन्त्र फकिर्नुपर्छ भनेर कसैले भन्नेबित्तिकै त्यो अपराधसरह मान्ने मानसिकता प्रत्येक नागरिकको स्वतन्त्र अभिव्यक्तिको प्रजातान्त्रिक अधिकारको बर्खिलाफ हुन्छ। विश्वमा राजतन्त्र फर्केर आएका पनि छन् जस्तो बेलायत या स्पेनमा। जनताको नाममा लाखौं जनतालाई तहसनहस पारेका थिए क्रान्तिकारी कम्युनिस्टहरूले क्याम्बोडियामा। त्यहाँ पनि राजतन्त्र फर्कियो। ग्रीसमा १९३५ मा भएको जनमत संग्रहले फिर्ता ल्यायो तर फेरि गयो। इटली, रोमानिया र अफगानिस्तानमा र अझ सर्बियामा अभियान चालू छ। फ्रान्स, जर्मनी र रसियासम्ममा पनि असंगठित झीनामसिना आवाज सुनिन्छ। भनिन्छ- जर्मनीमा हरेक पाँचमा एकजना पहिलो विश्‍वासयुद्धका बेला राज त्याग गरेका राजा विलियम फस्र्टका पनातिलाई राख्न चाहन्छन्, जो राजतन्त्र फर्कनुपर्छ भन्दै आएका छन्। तर त्यस्तो सम्भावाना बिल्कुल देखिँदैन। रुमानियाका अपदस्थ राजा माइकल फर्स्ट अझै त्यहाँको राजा भएको नाटकमै छन्। हामीकहाँ पनि दिन तोकेर फिर्ता ल्याउने घोषणा गर्ने जमात जम्जमाइरहेको छ।

राजतन्त्र फर्किने या नफर्कने त्यति महत्त्वपूर्ण छैन जति महत्त्वपूर्ण यो मुलुकको बृहत्तर राष्ट्रिय स्वार्थ हुन्छ। फर्केनै पनि सक्रिय हुने सम्भावना छैन। भएमा हुने भनेको संवैधानिक, अलंकारिक, सांस्कृतिक या बेबी किङमध्ये एक हो। माथि छलफल गरेजस्तै पढेलेखेको सचेत मध्यमवर्गले कस्तो धारणा बनाउँछ त्यसमा यो कुरा निर्भर गर्छ। यो वर्गको तलसम्म छिचोल्दै जान सक्ने धारणा बन्ने भनेको बृहत्तर राष्ट्रिय स्वार्थको लागि मात्र हो। यस्तो स्वार्थ अडेको हुन्छ दुई कुरामा। पहिलो, मुलुक सन्तुलित हुनुपर्ने। दोस्रो, मुलुक आर्थिकरूपबाट बाँच्न सक्नुपर्ने। नकि जसरी प्रचार गरिएको छ भारतको प्रधानमन्त्री नरेन्द मोदी भएकोले राजतन्त्र फर्कने वातावरण अनुकूल भएको छ। त्यस्तै न कि विश्व हिन्दु परिषद्का अध्यक्ष वा भारतीय जनता पार्टीका नेताहरूले के कति समर्थन गरे भन्नेमा। मूलत: हाम्रो आन्तरिक कारण नै हो। बाहिरी शक्तिले निर्णायकरूपमा खेल्ने भनेको उसको स्वार्थका लागि हाम्रो आन्तरिक कारण उसको अनुकूल भएको बेलामा या अनुकूल पारिएको बेलामा हो।

यसरी बाहिरी शक्तिहरू र अझ हाम्रो सन्दर्भमा भारतले हाम्रो आन्तरिक मामलामा खेल्दै र दखल दिँदै आएको उसको नेपाललाई हेर्ने दृष्टिकोणको मिलान नभएर हो। हामीले माथि हेर्‍यौं भारतको विदेश नीतिले एकातिर ब्रिटिसको उपनिवेशवादी नीतिलाई निरन्तरता दिइरहेको छ भने अर्कोतिर असंलग्न विदेश नीति वकालत विश्वमा गर्दै आएको छ। यो मिलान नहुँदा प्रशस्त विकृति निस्केको छ। यो विकृति झन् बढाउने काम भारतले दुई देशबीचको सबन्धलाई राजनीतिक स्तरबाट झारेर भारतीय ब्युरोक्रेसीका बाबुहरू र खुफिया एजेन्सीका बाबुहरूलाई सुम्पिएपछि भएको छ। यी बाबुहरूले राजासँग बार्गेन गर्न माओवादीलाई हुर्काए, बाह्रबुँदे समझदारी गराएर आन्दोलन चर्काए अनि राजतन्त्र फाल्ने काममा निर्णायक भूमिका खेले।

तर तिनीहरूले राजतन्त्र फाल्ने भूमिका खेल्न सकेको हाम्रो पढेलेखेको सचेत मध्यमवर्गले निर्दिष्ट धारणा बनाएपछि मात्र हो। नत्र भने दोस्रो जनआन्दोलनको अजेन्डा राजतन्त्र हटाउने किमार्थ थिएन। समस्या बल्झिएको एकमात्र कारण राजा ज्ञानेन्द्रले पावर सेयर गर्नै नचाहेर हो। स्लिप वाकर प्रवृत्तिमा वशीभूत भएर २००५ मा उनले जसरी सत्ता लिएर हर्ताकर्ता भए त्यसपछि यो वर्ग नराम्रोसँग झस्किन पुगेको हो। त्यसैले यो वर्गले धारणा नबनाईकन हिन्दुत्व बोकेको मोदी प्रधानमन्त्री हुँदैमा राजतन्त्र फर्कने अनुकूल अवसर भएको भनेर अनुमान गर्नु गलत हुनेछ। हो, नेपालको वर्तमान अवस्था ठीक छैन। मुलुक कम्पास हराएको जहाजजस्तो भएर असन्तुलित भएको छ। आर्थिक रूपबाट यो मुलुक बाँच्न सक्छ कि सक्दैन भन्‍ने प्रश्‍नको उत्तर झन् धुमौलो भएको छ। प्राय: हरेक पार्टीका 'छोटे राजाहरू' ले राष्ट्रको स्वार्थमा चोट हानेर आआफ्नो लोभको तुष्टि गरिरहेका छन्। यो नै डरलाग्दो असन्तुलनको उतपादन गृह बनेको छ। सामाजिक सञ्जालमा प्रश्न व्यापकरूपमा उठेको छ- के राजा फालेको धेरै छोटे राजाहरू जन्माउनका लागि हो त? अहिले त छोटे राजाहरू र सुमार्गीहरूको लुटपाटको परमानन्द क्षेत्र बनेको छ यो मुलुक। त्यसैले यहाँनिर यो पढेलेखेको सचेत वर्गले कसरी सोच्ने हो या कस्तो धारणा बनाउने हो त्यो नै अन्तत: नेपालको राजनीतिमा निर्णायक हुनेछ यदि चतना भए।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment