Tuesday, June 17, 2014

एमाले पार्टी र त्यसको गुट - कस्तो छ हेर्नुस

नेकपा एमाले महाधिवेशनको चटारोमा छ। तुलनात्मकरूपमा अन्तरपार्टी जनवादको उम्दा प्रयोग गर्ने पार्टी यही हो।

सैद्धान्तिक मतभिन्नता नभए पनि नेतृत्व प्राप्तिको लागि माधव नेपाल र खड्गप्रसाद ओली समूहबीच अन्तरविरोध चुलिएर गुटमा फेरिँदै गाली मौलाएको छ। प्रतिक्रियाका अभ्यासगाली गोलीका पर्रा झैं छुटेका छन्। राजनीतीकरण गर्ने प्रयास पनि त्यतिकै भएका छन्।

यो एमालेभित्रको समस्यामात्र नभएर नेपाली राजनीतिक संस्कृतिको पीडा हो। पार्टी गुटमा फेरियो भने आफन्त पराइमा फेरिएर सहयोद्धा विरोधी मात्रै नभई शत्रु नै दरिन पुग्छन् भने प्रतिक्रिया चालक शक्तिमा। भिन्न सोचको हित हुने कुनै काम अर्को पक्षले गरिदेलान् भन्ने कल्पना गर्नै सकिँदैन। अझ सत्ताखेलमा फेरिए त भद्दारूपको जैविकरूप जंगलीपना बनेर देखापर्छ पनि। यो फैलिएको मन्दविष गुटमा लाग्दा बौलाउनेले मिल्दा पछुतो गर्दैन।



सबै पार्टीका कथाव्यथा उस्तै हुन्। गुटैगुटको संयुक्त मोर्चामा फेरिएको कांगे्रसको हविगत उस्तै छ। उसलाई गुट अन्त्य गर्न माओवादीको हाउगुजी देखाउनुपर्छ। फुट्नमा माहिर मधेसकेन्द्रित दललाई जुट्न मधेसकै भावनामा खेल्नुपर्छ। वामपन्थीहरू नै अरूभन्दा गाली संस्कृतिमा माहिर छन्। हरेक गालीलाई सैद्धातीकरण, दार्शनिकीकरण गरेर यो 'वादी' त्यो 'वादी' नामाकरण गर्दिहाल्छन्। यसको भद्दा सुरुआत ४० को दशकमै मोहनविक्रम सिंहले संस्थापक महासचिव पुष्पलाललाई नै 'गद्धार पुष्पलाल' भनेर सुरु गरे।

अर्कालाई होच्याएर आफू अग्लो देखिने परपीडक मनोरोग गुटसंस्कृतिमा एकअर्कालाई बर्साएको र खर्चिएको यस्ता तीक्ष्ण वाणले छियाछिया पारेको गाली-खत धेरै समयसम्म रहने गर्छ। माओवादी गुटलाई पार्टीमा फेर्न सपनाको हत्या नहुन, सहिद, बेपत्ता र घाइतेलाई देखाउनुपर्छ अर्थात् उपलब्धिको रक्षा र आगामी यात्रा सम्झाउनु पर्छ। अझ ऊ फुट्दा त गाली रित्तिएर पुत्ला जलाउनेसम्म भयो। २०५६ मै माले/एमाले भिन्न हुँदा टुडिखेलमा कुर्लिएका गुन्जनहरू अझै ताजा छन् भने ती 'आदर्श वाक्य' छापाबाट मेटिएका पनि छैनन्।

परिस्थितिमा हेरफेर हुँदै जाँदा पार्टीका मूल कार्यनीतिक अजेन्डामा केलाई जोड दिने र केलाई ध्यान दिने भन्ने विषय समयको नाडी छाम्न सफल नेतृत्वले फेरबदलको अगुवाइ गर्ने गर्छ। पार्टी भनेको समान धारणा, संस्कृति, लक्ष्य, अभियानमा लागिपर्ने स्वविवेकी र स्वयंसेवी कार्यकर्ताको स्वेच्छिक जमघट हो। तर त्यही विषयलाई गुटमा भने गौण सोचिन्छ र मूल नेतृत्वलाई गाली गर्दै उछितो खनेर पनि त्यही पार्टीको हुँ भन्ने निर्लज्ज नकच्चरो बन्न पाइन्छ, समीकरण फेरिँदा कालान्तरमा फच्चे भन्न पनि। अहिलेका सबै पार्टीमा राजनीतिक संस्कृतिको विकास गरेर पार्टी ठहरिने कि गुटको मतियार र मलामी बन्ने भन्ने प्रश्न ज्वलन्त रूपले खडा भएको छ।

गुटसंस्कृतिले जहिले पनि पराइलाई आफन्त ठान्ने र आफन्तलाई बिरानो ठान्ने गर्छ। अहिले अग्निपरीक्षामा एमाले-त्रिमूर्तिले बल, बुद्धि, युक्ति र वर्कत भिन्न एकअर्कालाई खुइल्याएर शक्ति आर्जन गर्नेमा देखिँदैछ। तर शक्तिको गुलामी र गुटको वैशाखी बनेका लालदासहरू भने अजेन्डाका आधारमा धारणा बनाउने र सोहीअनुसार सक्रिय हुनेभन्दा पनि आग्रह, कुण्ठा र सत्तालिप्साले लतारिन्छन्।

कार्यकर्ताको स्तर खस्केर पछुवा बनेपछि गुटको फुर्को पक्रेर मात्र जँघार तरिन्छ, विवेक बन्धकी राखेपछि टुचेन लगाएर अग्लो भइन्छ भन्ने सोच पलाउँदा मूल्य तिर्नुनपर्ने र जीवन व्यवहारमा उतार्नुनपर्ने आदर्श कुर्लन थालिन्छ। कन्तबिजोक गाली संस्कृतिमा फेरिएर अरूलाई बिनाटिकटको रमिता बन्छ। कसले, कति, कसलाई कसरी गाली गर्न सक्छ त्यसैमा उसको औकात सुरक्षित हुँदा सिद्धान्त र आदर्शको अन्त्य हुन्छ।

 गुटीय सक्रियतालाई आन्दोलनको आदर्शका जलप लगाएपछि उत्तेजित हुने पछुवाहरूले आखिर केका लागि, किन र कसको हितको लागि सञ्चालित भइएको छ भन्ने पत्तै पाउँदैनन्। कसले कठपुतली बनाएर अन्यत्रबाट नाचिएको छ भन्ने पनि हेक्का हुँदैन। अन्तरसंघर्ष तीव्र भएको बेला निर्वस्त्र भएका अगुवाको औकात र सांस्कृतिक स्तर पत्तै पाउँदैनन्। परिवेश फेरिनेबित्तिकै अगुवाले चोचोमोचो मिलाउन सक्दा बिलखबन्दमा पर्ने त विवेकहीन पछुवा नै हुन्। सामान्यजनले अतिछिटो बिसिदिँदा गुट मौलाएका बेला अगुवाले ओकलेका शब्दको स्वामित्व लिनुनपर्ने भएरै छाडा हुँदा त्यस्ताले नेताको औकात पनि गुमाउन पुग्छन्।

सबै दल, संघसंस्थामा मिलापमा देखिएका हादिर्कता गुटमा फेरिँदा शत्रुवत् व्यवहार भने उस्तैउस्तै छन्। धारेहात लगाउनमात्रै हैन, उछितो काढ्न पनि कोही पछाडि पर्दैनन्।
पार्टी फुट्छन्, गुट मौलाउँछन्, मित्र विमित्रमा फेरिन्छन् तब विमित्रका गाली गोली बनेर बर्सिन्छन्। अन्तरकलह बढ्दा गालीपण्डितको भाउ बढ्छ। शक्तिकेन्द्र आफ्ना भजनमण्डली तयार गर्दै विरोधीलाई टोक्ने कुकुरझैं जाइलाग्न गालीपण्डितलाई उकास्छन्।

कसले दुस्मनको कति चोटिलो हुर्मत काढ्न सक्छ, चतुरेचम्चाको त्यसै अनुकूल शक्ति सुरक्षित हुन्छ। वामपन्थी गुटमालिकले भने त्यसलाई सैद्धान्तिक बहसमा प्रत्यक्ष सहभागी भएको भनेर पिठ्युँ थप्थपाउँछन् पनि। अझ यो सामन्ती संस्कृति मौलाएका पार्टीमा त झन् ज्यादा हुन्छ। प्रेम र राजनीतिमा जे गरे पनि क्षम्य हुन्छ भन्ने मान्यताले गुटहरूबीच समीकरण फेरिँदै जान्छ, फुटेका पार्टी जुट्न पनि सक्छन् तब भने गालीपण्डितको ओजन खस्किन्छ। एकताको भजन कथ्दा उनीहरूको अवस्था भने दयनीय हुन्छ। यसले गुट, फुट, मिलन, पार्टीको मर्म र गुटजिम्दारको नालीबेली सहज बुझ्न सकिन्छ। त्यसैले एमालेभित्रको पुन: गालीउवाच सबैखाले नेपाली राजनीतिका अध्यार्थी र राजनीतिककर्मीलाई सन्दर्भ-सामग्री बन्न सक्छन्। गुट संस्कृतिले नेता-कार्यकर्तालाई आग्रही आवेग भर्दै सिद्धान्त, कार्यक्रम, कार्यदिशा र आत्मसमीक्षा कहिल्यै दिँदैन। अहिले भने क्रियामा नभई प्रतिक्रियामा मात्रै हाँकिएको नेपाली राजनीतिको असर उग्ररूपमा देखा परेको मात्र हो। जब कि जनयुद्ध र जनआन्दोलनका उपलब्धि संस्थागत हुन अझै सकेको छैन।

प्रतिक्रियाको राजनीति नै हाबी भएको हो त भन्ने प्रश्न अहिले फेरि त्यत्तिकै उठेको छ। प्रतिक्रिया भनेको या बदला भाव हो या त कुण्ठाको प्रलापमात्र। प्रतिक्रिया सिर्जनात्मक कहिल्यै पनि हुन सक्दैन। सबै दल, संघसंस्थामा मिलापमा देखिएका हादिर्कता गुटमा फेरिँदा शत्रुवत् व्यवहार भने उस्तैउस्तै छन्। धारेहात लगाउनमात्रै हैन, उछितो काढ्न पनि कोही पछाडि पर्दैनन्। हरेक पार्टी गुटमा फेरिँदा, फुट्दा वा जुट्दा लगाइएका आरोप र गालीहरू पार्टीलाई फेर्न गरिने कबुलमा भने कसैले पछुताउनु पर्दैन। देश र दुनियाँले मात्रै कहाँ हो र? पछुवाहरूले पनि हिजोका कर्तुत बिर्सियून् भन्ने अगुवाहरू सोच्छन्।

जब चालकशक्ति सिद्धान्त र मूल्य कमजोर हुन्छ तब आग्रह र पहिचान हाबी हुँदै जाँदा गुट बन्छन्। गुट हाबी भएर सत्ता नै सिद्धान्तको अन्तिम सत्य बन्नु उपभोक्तावादको राजनीतिक चरित्र हो। तब संस्थागत सोच मर्दै जान्छ, संवेदना रित्तिन्छ, पार्टी मर्दै र औचित्यहीन बन्दै गएर गुट झागिँदै जान्छ।

गुटको औचित्य साबित गर्न तर्क कोरल्न थालिन्छन्। आग्रहले आवेग भर्न र अस्तित्व धान्नुपरेपछि हिजोको आफन्तिलोपनालाई शत्रुतामा फेर्नुपर्ने हुन्छ। तब आपसी सम्बन्ध कूटनीतिक चरित्रमा फेरिन्छ। गुटलाई पार्टीमा फेर्न बाचा गर्ने एमाले त्रिमूर्तिले पनि अहिले त्यसैको निरन्तरताको धर्मपालन गरिरहेका मात्र हुन् भने अरू पार्टीका जस्तै एमाले गालीपण्डितहरू पनि त्यसैको औचित्य पुष्टि गर्न बुद्धि-विवेक खर्च गर्दैछन्।
Annapurnapost.com



तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment