Saturday, June 21, 2014

इराकमा अझै भीषण युद्ध ५ लाख नागरिक घरबार बिहिन

'समावेशी एजेन्डा लिएर आउने नेताहरुले मात्र इराकी जनतालाई एक थलोमा ल्याउन सक्छन्'
बग्दाद, असार ७ - उत्तरी इराकको बाईजी ओयल रिफाइनरी र ताल अफार विमानस्थल क्षेत्रमा इस्लामिक नेतृत्वको विद्रोही र सरकार समर्थित बलबीच भीषण युद्ध भइरहेको छ ।

मुलुकको सबभन्दा ठूलो उक्त रिफाइनरीलाई चारैतिरबाट विद्रोहीले घेरेका छन् । उनीहरूले विमानस्थलको प्रायः भागमा नियन्त्रण जमाएको दाबी गरेका छन् ।सुन्नीलाई नेतृत्वको आईएसआईएस विद्रोही समूहले रिफाइनरी क्षेत्रमा दुई सैन्य हेलिकप्टर खसाएको दाबी गरे पनि यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । विद्रोहीले विशाल तेल परिसरको भाग कब्जा गरेको हुनुपर्ने उत्तरी इराकको इरविलबाट बीबीसी संवाददाता जिम मुयरले भनेका छन् ।

 राजधानी बग्दाददेखि ७० किमि उत्तर-पश्चिमस्थित मुथानास्थित रासायनिक हतियार कम्पनीमाथि पनि आईएसआईएसले कब्जामा लिएको छ । त्यहाँ द्वन्द्वरत समूहले रासायिनक हतियार बनाउन सक्ने खालको कुनै सामग्री नरहेको अमेरिकाको दाबी छ । तर, अमेरिकाको विदेश विभागकी प्रवक्ता जेन प्साकीले भनेकी छन्, 'आईएसआईएसले कुनै सैन्य थलोमा आधिपत्य जमाउनु हाम्रो चिन्ताको विषय हो ।'

लडाकुहरूविरुद्धको युद्धमा सहयोग गर्न झन्डै ३ सय सैन्य सल्लाहकार पठाउने अमेरिकी घोषणापछि दुवै पक्षबीचको संघर्ष झनै चर्केको छ । राष्ट्रपति बाराक ओबामाले बिहीबार अबेर राति ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सेनाले इराकमा प्रत्यक्ष रूपमा नलड्ने बताए ।

ओबामाको धारणालाई इराकी सरकारले आश गरे अनुरूपको कदम मान्न सकिन्न । आईएसआईएस विद्रोहीलाई अघि बढ्न नदिन सरकारले अमेरिकासँग तत्काल हवाई आक्रमण चाहेको थियो । आफ्ना सेनाहरू फिर्ता भएपछि कमजोर भइसकेको इराकी नेसनल आर्मीको आधारलाई बलियो बनाउने विकल्पको रूपमा अमेरिकाले सल्लाहकारहरूको पठाउने भएको छ । अमेरिकाले हवाई आक्रमणको वाचा गरे पनि ऊ तत्कालै यस दिशामा अगाडि बढ्न चाँहदैन । ऊ पहिला त्यहाँको स्थिति स्पष्ट भएको देख्न चाहन्छ । सेनाबाट यो समस्याको समाधान नहुने भन्दै ओबामाले आवश्यकता परेमा जुन बेला पनि लक्षित र निश्चित सैन्य कारबाहीका लागि अमेरिका तयार रहेको बताए ।

उनले कुनै घुमाउरो भाषाको प्रयोग नगरी सिया नेतृत्वको सरकारलाई समावेशी हुन पनि आग्रह गरेका छन् । 'समावेशी एजेन्डा लिएर आउने नेताहरूले मात्र इराकी जनतालाई एक थलोमा ल्याउन सक्छन्,' ओबामाले भने, 'अमेरिकाले कुनै एक समूहको पक्षमा र अर्कोको विपक्षमा सैन्य आक्रमणलाई जारी राख्ने छैन ।' उनले त्यहाँको सिया र सुन्नी समुदाय आफ्ना लागि बराबर भएको स्पष्ट गरेका छन् ।

मुस्लिम संसारमा सुन्नी समुदायकै बहुल छ । विश्वभर झन्डै ८७ देखि ८९ प्रतिशत मुस्लिमहरू सुन्न र मुस्किलले ११ देखि १२ सिया छन् ।  तर, इराकमा भने यसको ठीक उल्टो कुल जनसंख्याको ६० देखि ६५ सिया छन् । त्यहाँ ३२ देखि ३५ प्रतिशत मात्र सुन्नी

छन् । इराकको दक्षिण भागका हजारौं सियाले सुन्नीविरुद्धको संघर्षमा सरकारलाई सहयोग गर्न इराकी सेनामा स्वयंसेवकको रूपमा आबद्ध भएका छन् । उनीहरूलाई मुलुकको मुख्य सिया धार्मिक स्थलको रक्षाका लागि परिचालन गरिएको छ ।

त्यहाँ सल्लाहकार पठाउनुका साथै गुप्तचर प्रयासलाई बढाउने तथा उत्तरी इराक र बग्दादमा संयुक्त अपरेसन सेन्टरहरू खोल्ने ओबामाले जानकारी दिएका छन् । अमेरिकी सेनासँग त्यहाँ कारबाही गर्न पर्याप्त गुप्तचरी सूचनाको अभाव रहेकोप्रति बुधबार जनरल मार्टिन डेम्पसीले सचेत गराएका थिए ।

प्रधानमन्त्री नुरी मलिकीले सुन्नी आकांक्षालाई लत्याउँदै बहुसंख्यक सियाको हकमा शासन गरेर इराकलाई खतरामा पारेको ओबामाको विश्वास छ । मलिकीका समर्थक यसलाई मान्न र राजीनामा दिन तयार छैनन् । यी सबबीच मलिकीका प्रतिद्वन्द्वीहरू बढिरहेका छन् । मलिकीले कम्तीमा नयाँ र समावेशी सरकार गठन गरेर राम्रो सुरुआत गर्न सक्ने विश्लेषकको भनाइ छ । सबै समुदायको अत्यधिक प्रतिनिधित्व हुने खालको मन्त्रिपरिषद्का लागि जोड दिन अमेरिकी विदेशमन्त्री जोन केरी चाँडै इराक पुग्ने अपेक्षा गरिएको छ । यसले उक्त मुलुकको दुई प्रतिद्वन्द्वी मुस्लिम समुदाय सिया र सुन्नीबीचको तनावलाई कम गर्ने आशा राखिएको छ ।

सिया समुदायलाई प्रतिनिधित्व गर्ने इराकी प्रधानमन्त्री मलिकीमाथि सुन्नीविरुद्धको नीतिलाई अघि बढाएको र सुन्नी लडाकुलाई जिहादी इस्लामिक स्टेट अफ इराक एन्ड द लेभन्ट (आईएसआईएस) मा आबद्ध हुन बाध्य पारेको आरोप छ । यो नै हालैका दिनमा देखिएका परिवर्तनहरूको कारक हो । आईएसआईएसले मुलुकको दोस्रो सबभन्दा ठूलो सहर मोसुल कब्जा गरेपछि झन्डै ५ लाख नागरिक घरबार छाडेर भागेका छन् ।
नेपाल सरकाले यसबारे के कदम चालेको छ इराकमा बस्ने नेपालीहरूको लागि यहाँ क्लिक गर्नुस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment