Monday, June 9, 2014

नेपाली नोटमा कोरे, स्टिच लगाए कारबाही

नोटमा केरमेट र स्टिच लगाएर बिगार्ने व्यक्तिलाई राष्ट्र ब्यांकले कारबाही गर्ने भएको छ। राष्ट्र ब्यांकले नोटमा केरमेट गर्नेलाई आर्थिक जरिबाना र नोटका बिटामा स्टिच लगाउने ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई सेवाबाट निलम्बनसम्मको कारबाही गर्ने भएको छ।

नेपाल राष्ट्र ब्यांकले २०६७/६८ को मौद्रिक नीतिमा नै सफा नोट नीति ल्याएको भए तापनि हालसम्म त्यसलाई सर्वसाधारण एवं ब्यांक तथा वित्तीय संस्थाले पालना नगरेपछि आफ्नो नीति कार्यान्वयनमा कडा रूपमा प्रस्तुत हुन लागेको हो। राष्ट्र ब्यांकका प्रवक्ता भाष्करमणि ज्ञवालीले सफा नोट नराख्ने ब्यांक तथा वित्तीय संस्थालाई राष्ट्र ब्यांक ऐनको दफा १०० बमोजिम कारबाही गरिने जानकारी दिए।

राष्ट्र ब्यांकले सफा नोट नीति कार्यान्वयन गर्न प्रभावकारी ढंगले लाग्ने निर्णय गरेबमोजिम नीति कार्यान्वयन नगर्नेलाई कानुनी कारबाही गर्ने परिपत्र नै जारी गरेको छ। राष्ट्र ब्यांक ऐनको दफा १०० मा राष्ट्र ब्यांकको ऐन उल्लंघन गर्दा हुने कारबाहीको बारे उल्लेख छ। यसमा कानुन उल्लंघनअनुसार आर्थिक जरिबानादेखि ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई र सञ्चालकलाई गर्ने कारबाहीको बारेमा उल्लेख छ।

ऐनअनुसार ब्यांक तथा वित्तीय संस्थाको अनुमती खारेजदेखि क र्मचारी तथा सञ्चालकलाई सेवाबाट अवकाश गर्न सक्नेसम्मको अधिकार राष्ट्र ब्यांकलाई छ। राष्ट्र ब्यांकले जारी गरेको निर्देशिका, परिपत्र कार्यान्वयन नगरे दफा १०० बमोजिम कारबाही गर्ने अधिकार भए पनि सफा नोट नीति उल्लंघन गरेको आरोपमा अहिलेसम्म कसैलाई कारबाही भने गरेको छैन।

राष्ट्र ब्यांकका प्रवक्ता ज्ञवालीले सफा नोटको नीति कार्यान्वयन नगर्ने संस्थालाई पनि अब क ानुनी कारबाहीको दायरामा ल्याउने बताए।

नोटको प्याकेटमा स्टिचको प्रयोग नगर्न ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको सफा नोट नीति कार्यान्वयन गर्नको लागि राष्ट्र ब्यांकले जारी गरेको परिपत्रमा नोटको बन्डलमा रबर वा प्लास्टिकको प्रयोग गर्न भनिएको छ। राष्ट्र ब्यांकले स्टिच प्रयोग गर्नुपर्ने अवस्था आएमा एउटाभन्दा अर्को प्रयोग नगर्न निर्देशन दिएको छ। वित्तीय संस्थाले प्रयोग गर्ने स्टिचका कारण नोट छिटो च्यातिने र यसको आयु पनि कम हुने गरेको थियो।

नेपालमा प्रयोग हुने नोट विश्वका अन्य देशको तुलनामा सफा नहुनेमा लिइन्छ। यसले नेपाली नोटको आयु छोटो रहने गरेको छ। तर राष्ट्र ब्यांकलाई सफा नोट नीति कार्यान्वयन गर्न चुनौतीपूर्ण छ। सानिमा ब्यांकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल राष्ट्र ब्यांकको सफा नोट नीति कार्यान्वयन वित्तीय संस्थाले गरिरहेको बताउँछन्।

'केही वित्तीय संस्थाले यो कार्यान्वयन नगरेको हुनसक्छ', उनले भने, 'अधिकांश संस्थाले यस्तो नीति कार्यान्वयन गरिरहेको अवस्था छ।' केन्द्रीय ब्यांकले सफा नोट नीति कार्यान्वयनका लागि बजारमा पठाउन हुने र नहुने नोट छुट्ट्याउन पनि ब्यांक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

यसअनुसार ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीले नोटमा लेख्ने काम नगर्न भनेको छ। नोटको बन्डलमा हुने सेतो कागजमा मात्र आवश्यक परेको जानकारी लेख्न भनेको छ।

अहिले ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीले नोटको गन्ती गरे ेपनि बनाएको बन्डलमा नोटमा आवश्यक पर्ने जानकारी लेख्ने गरेका थिए। यसले नोटमा अनावश्यक केरमेट बढी हुने गरेको थियो। राष्ट्र ब्यांकका अनुसार अहिले चलनचल्तीमा दुई खर्ब ५८ अर्ब ५८ करोड ६४ लाख रुपैयाँ नोट छन्। चलनचल्तीमा भएको नोटबाहेक राष्ट्र ब्यांकको ब्याकिङ अफिसमा पाँच अर्ब ४१ करोड २५ लाख रुपैयाँ रहेको छ। यस्तै सरकारको ८३ अर्ब ८४ करोड १९ लाख रुपैयाँ राष्ट्र ब्यांकसँग छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment