Saturday, June 7, 2014

कुकुरको ‘विवाह गराउन’ तीनपुस्ते वंशावली


काठमाडौं, जेठ २४ - मान्छेको वंशावली त सबैले जानेबुझेकै कुरा हो ।
निकै वर्ष पुराना पुस्ताको विवरण खोज्न वंशावली विस्तारको काम पनि भैरहेको छ ।

आफ्नो वंशावली बनाउने क्रमसँगै मान्छेको ध्यान जनावरको वंशावली खोज्नेतर्फ पनि केन्द्रित हुन थालेको छ । यही क्रममा नेपाल केनल क्लवले कुकुरको वंशावली बनाउने तयारी गरेको छ ।
‘नेपालमै पहिलोपटक घर पालुवा कुकुरहरु दर्ता गरी वंशावली राख्न लागिएको हो’ नेपाल केनल क्लवका अध्यक्ष सुरेश शाहले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो । वंशावलीमा कुकुरको तीन पुस्ते विवरण उल्लेख हुनेछ । ‘त्यो कुकुरको बाउतिरको तीनपुस्ते र आमातिरको तीनपुस्ते विवरण राखेर कुकुर धनीलाई प्रमाणपत्र दिइन्छ’ शाहले भन्नुभयो ।
क्लोज रिलेसन अर्थात आफ्नै वंशका कुकुरहरुबीच प्रजनन भएर जन्मिने छाउरा छाउरी स्वस्थ र गुणस्तर नहुने भएकाले भिन्नाभिन्नै वंशका कुकुरबीच प्रजनन गराउने यो अभियानको उदेश्य हो । ‘मान्छेमा जसरी अर्को थर र गोत्रबीच विवाह गर्ने चलन छ, कुकुरमा पनि यसै गर्न लागिएको हो’ शाहले भन्नुभयो, ‘कसैले आफुले पालेको कुकुरमा प्रजनन अर्थात विवाह गराउन खोज्यो भने उसले आफ्नो भन्दा अर्को वंशको कुकुर खोज्नुपर्ने हुन्छ ।’

उहाँका अनुसार विदेशमा उच्च नश्लको शुद्ध कुकुरको मात्रै वंशावली राख्ने परम्परा छ । वेलायतमा सन् १८७२ मा कुकुरको वंशावली राख्ने कार्यको सुरुवात भएको हो । नेपालमा कुकुर पाल्ने शौखिनहरुको संख्या बढ्दै गएको बेला नेपाल केनल क्लवले वंशावली राख्ने कामको सुरुवात गर्न लागेको हो । काठमाडौंबाट सुरु हुने कार्यक्रम देशभर विस्तार गरिने शाहले जानकारी दिनुभयो ।
किन पालिन्छ कुकुर ?

गाईवस्तु जस्तो कुकुरले दूध पनि दिँदैन । काटेर मासु खान पनि मिल्दैन । तर अरु जनावरजस्तै कुकुरको पनि आफ्नै गुण छ । घर टोलको रखबारी गर्ने भरपर्दो र विश्वसनीय प्राणी भएकाले सबैले कुकुरलाई माया गर्छन् र कुकुरको सहयोग लिन्छन् ।
प्रहरीलाई त झन् कुकुर नभई हुन्न । जासुसी गरेर अपराधी पत्ता लगाउन सजिलो हुने भएकाले प्रहरीले कुकुरको सहयोग लिन्छन् । समेत आफ्नो काममा कुकुरको साथ लिने गरेका छन् । सुंघ्ने र पत्ता लगाउने क्षमता अरुमा भन्दा बढी हुने भएकाले प्रहरीले अपराध अनुसन्धानका घटनामा कुकुरको प्रयोग गर्ने गरेको छ ।
नेपाल प्रहरीमा कुकुर सेवा विक्रम संवत २०२६ सालदेखि शुरु भएको हो । २०४७ सालपछि केन्द्रीय कुकुर तालिम स्कूल र पाँचै विकास क्षेत्रमा क्षेत्रीय कुकुर शाखाको स्थापना गरिएको छ । अहिले प्रहरीसँग अनुसन्धानको लागि ५० वटा कुकुर छन् ।
कुकुरको प्रयोगबाट प्रहरीले सफलता पाएका केही घटना :
२०४० सालमा दोलखा चरिकोटको मकैबारीमा आफ्नै काकाकाकी र बहिनीलाई सुतिरहेको अवस्थामा खुकुरी प्रहारबाट हत्या गरी फरार अभियूक्त शोभा श्रेष्ठलाई कुकुरद्वारा पक्राउ ।
२०५३ फागुनमा काठमाडौंको बुढानिलकण्ठमा एक ६० वर्षिया बृद्धालाई घाँटी थिचेर हत्या गरी फरार भएका अभियुक्तलाई कुकुरद्वारा पक्राउ ।
२०५४ साल असारमा सिन्धुपाल्चोक घुस्कन १ का अजोध्या तिमिल्सिना सहित ३ जनालाई सुतिरहेको अवस्थामा खुकुरीले घाँटी रेटी हत्या गरेको मुद्दामा कुकुरले संकेत गरेको व्यक्तिले अपराध स्वीकार गरेको ।
२०६४ मंसिरमा अमेरिकाका भूतपूर्व राष्ट्रपति जिमी कार्टरको सवारी चलाउने कार्गेड गाडीमा कुकुरद्वारा स्नेफिङ्ग गराउँदा हतियार फेला परेको ।
२०६४ अशोजमा माओवादी कार्यकर्ताको अपहरमा परी हत्या गरिएका पत्रकार बीरेन्द्र शाहको शव बाराको डुमरवाना ७ टागिया बस्तीको पूर्वी जंगजमा छ भन्ने शंकाको आधारमा उक्त स्थानमा कुकुरद्वारा खोजी कार्य गराउँदा पत्रकार शाहलाई हत्या गरि शव गाडिएको स्थानलाई २०६४ कात्तिक २३ गते कुकुरद्वारा पत्ता लगाइएको ।
२०६२ पुसमा पोखरा रंगशालाको गेटमा विशिष्ट व्यक्तिहरुलाई लक्षित गरी जमिन मुनी लुकाई बिष्फोट गराउन विद्युत्तीय तारको माध्यमद्वारा तयारी हालतमा राखिएको ठूलो परिमाणको झण्डै २० केजी बिष्फोटक पदार्थ लुकाएको स्थानलाई कुकुरले पहिचान गरी ठूलो मानवीय क्षति हुनबाट बचाएको ।
२०६५ पुसमा काठमाडौं ठमेलस्थित भिया होटल, बिन्दाबासिनी गेष्ट हाउस, सुप्रिम गेष्ट आउस र होटल पटलामा कुकुरद्वारा खोजी गराउँदा केही परिमाणमा लागुऔषध फेला परेको ।
२०५८ पुसमा सुनसरी पाँचकन्या गाविस ३ का पृथ्वीबहादुर थापा र जसबहादुर राईको हत्यामा संलग्न फरार अभियुक्तलाई कुकुरद्वारा पक्राउ ।
उज्यालो अनलाइनबाट साभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment