विश्वकपले सबैलाई खुसीमात्रै होइन पीडा पनि दिइएको छ। नेपालमा विश्वकपको रौनकले सबैभन्दा पीडित छन् भने ती हुन् चलचित्र निर्माता। महिना दिनयता रिलिज भएका चलचित्रलाई विश्वकपले यसरी छायामा पारिदियो कि कतिपय निर्माताले पोस्टरको लगानीसम्म उठाउन सकेनन्। सानो होस् वा ठूलो लगानीमा बनेका चलचित्र विश्वकपका बेला रिलिज भएका लगभग सबै चलचित्र व्यावसायिक रूपमा असफल भए।
कतिपय निर्माताले चलचित्र चलिरहेका बेला विश्वकपले आफ्नो चलचित्रलाई प्रभाव नपारेको, राम्रो व्यवसाय गरिरहेको तर्क गरे पनि चलचित्र हलमा लागेको केही दिनमै निकाल्नु परेको पीडा फुटबल हेरेरै भुले। 'नखाउँ भने दिनभरिको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार' भने जस्तै भयो धेरै चलचित्र निर्मातालाई। चलचित्र नचलाउँ भने लामो समयको पर्खाइपछि आएको पालो, चलाउँ भने विश्वकपको रौनकले हलमा जाने वातावरण नै छैन।
'विश्वकप फुटबल, खेतीको समय अनि वर्षाको मौसमले चलचित्रलाई खत्तम बनायो', चलचित्र मिसन ४२० का निर्देशक दयाराम दाहाल भन्छन्, 'डेढ वर्ष पर्खेर आएको पालो। रिलिजको नजिक आएपछि सार्न पनि गाह्रो भयो। तै पनि केही महिना कुरेको भए हुन्थ्यो यसमा हाम्रो गल्ती भएकै हो।'
दाहालको निर्देशनमा सुमन सिंह, सुनिल थापा, राजाराम पौडेल, कृष्टि पौडेल आदि अभिनीत मिसन ४२० ले निकै जोड गरे पनि दर्शक हलसम्म कमैमात्रै पुगे। विश्वकपको प्रभाव नपरेको भए चलचित्रले राम्रो व्यापार गर्न सक्ने निर्देशक दाहालको विश्वास छ। 'मिसन ४२० हेर्न जुन प्रकारका दर्शक आए यदि केही महिना पर्खेर चलचित्र चलाएको भए राम्रो व्यापार गर्ने थिए।'
मिसन ४२० मात्रै होइन विश्वकपका बेला प्रदर्शनमा आएका अनौठो प्रेमकथा, पाठशाला, लावारिस, सुटर, चिहान, कस्तो टेन्सनजस्ता चलचित्रले पनि निर्माता निर्देशकलाई 'टेन्सन' सिवाय केही दिन सकेन। विश्वकपका बेला चलिसकेका चलचित्र दोहोर्याउने बारेमा कसैले सोचेनन्। पालो पाएका निर्माताले लगानी दाउमा राखेर रिलिज गर्न बाध्य भए।
जेठ २९ गते विश्वकप फुटबल सुरु हुँदा नोभेम्बर रेन, कबड्डी, हँसिया, मेरो बेस्ट फ्रेन्ड, द मिस नेपाल, नाइँ नभन्नु ल, जोडी नम्बर एकजस्ता चलचित्र चल्दै थिए। यी चलचित्र विश्वकप सुरु हुनुभन्दा अगाडि प्रदर्शनमा आएकाले फुटबलको प्रभावमा खासै परेन। 'द मिस नेपाल राजधानीमा दोस्रो सातामा चलिरहेका बेला विश्वकप फुटबल सुरु भयो।विश्वकप नभएको भए सायद अझ केही दिन राम्ररी चल्थ्यो होला', निर्मात्री तथा अभिनेत्री शुभेक्षा थापाले भनिन्। विश्वकपभन्दा मोफसलमा दुई साता र राजधानीमा एक साताअघि आफ्नो चलचित्र रिलिज भएकाले त्यति धेरै मार खानु नपरेको उनको भनाइ छ।
विश्वकपकै कारण चलचित्रको व्यवसाय धराशायी भयो भन्ने पनि होइन। त्यसअघिका अधिकांश चलचित्र पनि असफल नै रहे। प्रदर्शनअघि व्यापक चर्चा र प्रचार गरिएको चलचित्र मुखौटा विश्वकपको पहिलो सिकारजस्तै भयो। 'चलचित्र धेरै दर्शकले रुचाउने बने पनि विश्वकपले असर पारेकै हो। रिलिज डेट सार्ने कुरा भए पनि सार्न मिलेन', निर्देशक अर्पण थापाले भने।
विश्वकपकै कारण मुखौटा नचलेको भने होइन। यो चलचित्रको पहिलो शोपछि नै 'माउथ पब्लिसिटी' निकै कमजोर भएको थियो। जसका कारण दर्शकले हलसम्म जाने जाँगर गरेनन्। राजेश हमाल, दयाहाङ राई, सौगात मल्ल, सुनिल थापा, अर्पण थापा, निशा अधिकारी, हर्षिका श्रेष्ठ, रविन तामाङ, प्रशान्त ताम्राकारजस्ता परिचित अनुहारको जम्बो टोली रहेको मुखौटापछिका चलचित्रले पनि विश्वकपको मार खेपिरहेको छ।








0 comments:
Post a Comment