काठमाडौं २, चितवन ४, बर्दिया १ र कैलालीको ६ निर्वाचन क्षेत्रमा आइतबार बिहान सात बजेबाट मतदान सुरु भएको हो।मतदान बेलुका पाँच बजेसम्म जारी रहने छ। मतदानका लागि प्रशासनिक तथा प्राविधिक सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको छ। मंसिर ४ मा भएको संविधानसभा निर्वाचनमा दुई क्षेत्रबाट निर्वाचित सभासद्ले छोडेका क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।
आयोगले सबै निर्वाचन क्षेत्रमा विद्युतीय प्रणाली प्रयोग गर्दैछ। मतदाताले विद्युतीय मेशिनमा बटन थिचेर आफूले चाहेको उम्मेदवारलाई भोट दिनेछन्। विद्युतीय मतदान भएकोले मत परिणाम सोमबार बिहानसम्ममा आइसक्ने जानकारी आयोगले दिएका छ।
निर्वाचन आयोगले संविधानसभा सदस्य चयनका लागि गर्न लागेको उपनिर्वाचनका चारवटै क्षेत्रमा सुरक्षा र व्यवस्थापन कार्य पूरा भएको जनाउँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ।
'सुरक्षा र मतदानको व्यवस्थापनकार्य पूरा भएको छु', प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, 'आफूलाई मन परेको उम्मेदवारलाई ढुक्क भएर मतदान गर्न मतदातामा आग्रह गर्छु।' आयोगका अनुसार चारवटा क्षेत्रमा एक सय ३७ मतदान स्थल र तीन सय ३४ मतदान केन्द्र राखिएको छ। उपनिर्वाचनमा तीन हजार ५ सय २० कर्मचारी खटिनेछन्। उपनिर्वाचनमा दलका ६० र स्वतन्त्र १६ गरी ७६ जना उम्मेदवार मैदानमा छन्।
उपनिर्वाचनका लागि १० करोड ९८ लाख रुपैयाँ खर्च हुने आयोगको अनुमान छ। निर्वाचनको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी र दोस्रोमा सशस्त्र प्रहरी परिचालन गरिने प्रमुख आयुक्त उप्रेतीले बताए। निर्वाचन अनुगमन गर्न आयोगले सहसचिव र उपसचिवको नेतृत्वमा काठमाडौं २ मा दुई र अन्यमा एकएक टोली खटाउने भएको छ। मतदाता परिचयपत्र छुटेमा नागरिकता, लाइसेन्स वा जग्गाधनी प्रमाणपत्रका आधारमा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ।








0 comments:
Post a Comment