आजसम्म तत्कालीन राजा वीरेन्द्रको वंश विनाशको दु:खद घटनाको रहस्य गर्भभित्रै छ। त्यो घटनाको कारक तत्कालीन युवराज दीपेन्द्र भनिए पनि तथ्यगत प्रमाणले त्यसलाई पुष्टि गर्न सकेको छैन। राजदरबार हत्याकाण्डको विषयमा पुस्तक लेखिए, डकुमेन्ट्री बनाइए, छानबिन आयोग (सरकारी र नागरिक स्तरबाट) का प्रतिवेदन तयार भए पनि दीपेन्द्रलाई नै दोषी देखाउने अनुमानमा सीमित रहे।
अनुमानका आधारमा मात्र कसैलाई पनि दोषी ठहर्याउन नसकिने प्राकृतिक न्यायको सिद्धान्त हो। दीपेन्द्रप्रति हामीले जस्तो धारणा राखे पनि 'जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ' भन्ने उक्तिको विश्लेषण पनि उत्तिकै न्यायोचित ठहरिन्छ।
सरकारी सेवाक्रममा २०५७ सालमा पंक्तिकार गोरखाको प्रमुख जिल्ला अधिकारी थियो। सदरमुकाममा रहेको ऐतिहासिक गोरखा दरबारको विकास गुरुयोजनाअन्तर्गत प्राचीन स्मारकको संरक्षण र संवद्र्धन तथा संग्रहालयसमेत स्थापना गर्ने उद्देश्यले गोरखा दरबार संरक्षण परियोजनाका अतिरिक्त, राजदरबारमा, युवराज दीपेन्द्रको संयोजकत्वमा राजदरबारका सचिवहरू र प्राविधिकसमेत रहेको कार्यदल गठन भएको थियो।
गोरखा राज्यको स्थापनाकाल, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहबाट भएको नेपालको एकीकरणदेखिका ऐतिहासिक सम्पदा संरक्षण, ऐतिहासिक सामग्री संकलन, दरबार क्षेत्रको भौतिक योजनाको प्रारूपअनुसार सीमांकन र भौतिक संरचना निर्माण गरी दरबार तथा गोरखानाथ, गोरखाकाली मन्दिर क्षेत्रलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुरूपका कार्यक्रम सञ्चालन भएका थिए। ती कार्यमा प्रजिअको समन्वयकारी भूमिका रहन्थ्यो भने दरबारका तत्कालीन सचिव, फणिराज पाठक, प्रदीप पोखरेललगायतका उच्च पदाधिकारीबाट निर्माण कार्यको अनुगमन भइरहन्थ्यो।
यही क्रममा २०५६ सालको जाडो महिनामा एकपटक दीपेन्द्रले आफैं चलाएको हेलिकोप्टर गोरखकाली मन्दिरको पश्चिमपट्टिको हेलिप्याडमा उत्रियो। उनको स्वागत गर्यौं। दीपेन्द्रको व्यवहार साधारण नागरिकको जस्तो देखिन्थ्यो- कुनै औपचारिक, मर्यादा र सम्मान नखोज्ने। आफ्नो परिचय दिएपछि दीपेन्द्रले गोरखा दरबारको गुरुयोजना कार्यान्वयन गर्न प्रजिअको ठूलो सहयोगको खाँचो पर्ने बताए।
दरबार र मन्दिरवरिपरि हरियालीको विकास गर्ने, प्राचीन पुरातात्विक सम्पदा संरक्षण गर्ने, खानेपानी, विश्रामस्थललगायतका पर्यटकीय आवश्यकता आधारभूत संरचना निर्माण गरी आर्थिकरूपमा दिगो बनाउन पर्यटकको प्रवेशमा शुल्क लगाउन सकिने युवराजको सुझाउ थियो। साँझको खाना स्थानीय सैनिक ब्यारेकमा सामान्य शैलीमा भयो। सुत्ने व्यवस्था पनि राजषी ढाँटको नभई सामान्य थियो।
अर्को दिन बिहान, मौसमको खराबीले अघिल्लो दिन फर्किएको हेलिकोप्टर आउन समय लाग्यो। बिहान दीपेन्द्रका साथमा निजी सचिव कर्णेल कुमार बुढाथोकी र एडीसीहरू सँगै हामी सबै हेलिकोप्टरको प्रतीक्षामा रह्यौं। उनको लगातार चुरोट खाइरहने बानी थियो, एउटा तानेर सकिनासाथ अर्को सल्काएर दिनुपर्ने।
चुरोट तानिरहने खराब बानीमात्र होइन, दीपेन्द्रसँग राष्ट्रनिर्माणको दूरगामी दृष्टिकोण, राजनीतिक सोच र गम्भीर सुझबुझसमेत रहेछ। केहीबेर मनोरञ्जन र पारिवारिक कुरा गरे पनि गोरखा दरबारलाई नमुना पर्यटकीय केन्द्र बनाउन लागिरहेको, राजदरबारको प्रशासनिकलगायतका सबै सचिवालयको संगठनात्मक संरचना पुनर्गठन गरी सानो र मितव्ययी बनाउने प्रयास भइरहेको, सवारी साधन, बिजुली, टेलिफोनमा भइरहेको आवश्यक खर्चको नियन्त्रण सुरु गरेको बताए दीपेन्द्रले। राजपरिवारको मोजमस्ती र आमोदप्रमोदमा हुर्किएको राजाको छोराबाट यस्तो सुधारवादी सिर्जनशील कुरा सुन्न पाउनु हाम्रा लागि क ल्पनाबाहिरको कुरा थियो।
अर्को वर्ष पंक्तिकारको सरुवा गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन (विभूषणसम्बन्धी कामसमेत हेर्नुपर्ने) शाखामा भयो। तत्कालीन राजाको शुभजन्मोत्सवमा विभूषण पाउनेहरूको नाम घोषणा हुन्थ्यो र केही महिनापछि राजदरबारमा सुशोभन समारोह हुन्थ्यो। तत्कालीन व्यवस्थामा विभूषण समितिको अध्यक्षता गर्न राजाबाट युवराजाधिराजलाई पृथुलाधीश तोकिन्थ्यो र उनैमा विभूषण, अलंकार र सम्मान प्रदान गरिने सुशोभन समारोह व्यवस्थापनको जिम्मेवारीसमेत पर्दथ्यो। समारोहको मिति तोकिएपछि विभूषण प्राप्त गर्ने पदाधिकारीलाई आमन्त्रण पत्र पठाउने, राजदरबारमा सुशोभन समारोहस्थलको सम्पूर्ण व्यवस्थापनलगायतका काममा व्यस्तता हुन्थ्यो। सुशोभन समारोहको तयारीमा दीपेन्द्रको सक्रियता असाधारण ढंगको हुन्थ्यो। उनी आफैंले तत्कालीन प्रधानसेनापति प्रज्ज्वलशमशेर राणा, गृहसचिव श्रीकान्त रेग्मी, सुदन पोखरेललगायतका राजदरबार पदाधिकारीलाई सल्लाह दिन्थे।
यतिमात्र नभएर, शौचालयको सरसफाइको तयारी बुझ्ने, आफैंले युरिनलहरू (पिसाब गर्ने ठाउँ) सुँघ्ने तथा खानेपानीलगायतका अन्य सुविधाको जानकारी लिन्थे। सुशोभनका लागि पंक्तिबद्ध व्यक्तिहरूलाई प्रधानसेनापतिले नाम बोलाउने, गृहसचिवले राजाको अगाडि पुर्याई राजदरबार पदाधिकारीको सहयोगमा प्रधानमन्त्रीको सहभागितामा राजाले विभूषण लगाइदिने औपचारिक प्रक्रिया हुन्थ्यो। करिब ३/४ घन्टा सम्म चल्ने यो औपचारिक समारोहमा सुशोभन अवधिभर राजालगायत सबै उभिनुपथ्र्यो।
त्यहीबेला केही दिनअघि संसद्मा सरकारलाई जवाफ दिने क्रममा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मुर्छा परेको स्मरण गराउँदै प्रधानमन्त्री उभिन असमर्थ रहेमा बस्ने व्यवस्था मिलाउन दीपेन्द्रले सुझाउ दिएका थिए। हरेक विषयको व्यवस्थापनमा वैकल्पिक योजना हुनुपर्ने, प्रत्येकको निर्दिष्ट जिम्मेवारी परिभाषित हुनुपर्ने र समारोह सञ्चालनको निरन्तर अनुगमन गर्नेजस्तो उच्च व्यवस्थापकीय सोचहरू थिए उनमा। दीपेन्द्रको सरल व्यवहार, सुझबुझ र कुशल व्यवस्थापकीय दृष्टिकोण प्रशंसायोग्य थियो।
-पाण्डे निवर्तमान रक्षासचिव हुन्। अन्नपूर्णपोस्ट








0 comments:
Post a Comment