असार ५ - इराकको बग्दादस्थित रोड जोनमा पोखराका देव थापा १० बर्षदेखि सुरक्षा गार्डको रुपमा कार्यरत छन् । उनी अन्तराष्ट्रिय सञ्जाल भएको जिफोरएसका सुपरभाइजर हुन् ।
बितेको केही हप्तापछि थापाको इराकको रोजागारी निरन्तर पाउने/नपाउने फेरि अनिश्चित बनेको छ ।
बितेको केही दिनदेखि इराकको आन्तरिक द्वन्द्वले उग्र रुप लिन थालेको छ । सरकारी फौज र विद्रोही पक्षबीच भिडन्तहरु बढ्दै गएकोले इराकमा कार्यरत नेपालीहरु अब सुरक्षित रुपमा फर्कने हतारोमा छन् । तर थापा अझै असुरक्षित महसुस भने गरिसकेको छैनन् ।
विद्रोहको रुप उनी बसेको ठाँउमा भइसकेको छैन् । तैपनि उनले सुरक्षा दिने 'ठूला विदेशी'हरुलाई कम्पनीले अर्को देशतिर सारिसकेको छ । भन्छन्, 'जतिखेर पनि इराक छोड्नु पर्ने भन्दै हामीलाई उच्च सर्तकतामा राखेको छ । अहिले सम्म त्यस्तो कुनै असुरक्षित महसुस भएको छैन ।
सन् २००३ देखि बग्दादमा रहेका थापाले भने,'त्यस्तो असुरक्षित हुने बित्तिकै सुरक्षित स्थानमा लैजाने बताएको छ ।'
उनी कार्यरत रोड जोनमा झन्डै ३ सय नेपाली सुरक्षा गार्ड छन् । रोड जोनमा धेरै जसो निजी कम्पनीहरु छन् । रोड जोनमा काम गर्नेहरु बाहिर जान भने पाउने गरेका छैन् । पहिलादेखि नै भित्रै रहेकोले बग्दादको अनौपचारिक क्षेत्रमा काम गर्ने नेपालीसँग उनको सम्पर्क खासै छैन् ।
बग्दादमै काम गर्ने अर्को क्षेत्र हो, ग्रीन जोन । जहाँ बाहिर तह इराकी फौजको कडा सुरक्षा घेरामा हुन्छ । त्यसभित्र विद्रोहीको आक्रमण असम्भब जस्तै छ ।
त्यसमित्र सरकारी संरचना, विदेशी कुटनीतिक नियोगको आन्तरिक पहरा दिने नेपालीहरु छन् । त्यसमध्ये एक हुन, पोखराका कृष्णा थापा । सन् २००६ देखि नेदरल्याण्डस् दुतावासको सुरक्षागार्डको रुपमा कार्यरत थापा पनि ढुक्क छन् । 'केही परिहाले कम्पनी छँदैछ', उनले भने, 'कसरी उद्दार गर्ने, सुरक्षा दिने भन्ने जिम्मा कम्पनीको हो ।' त्यस जोनमा नेपाली मात्रै ५ सय हारहारीमा काम गर्छन् ।
इराकको राजधानी बग्दादस्थित औपचारिक कम्पनीमा कार्यरत नेपालीले आफूहरु पूर्ण सुरक्षित रहेको बताउँछन् । तर, त्यहाँ चर्किंदो युद्धबाट भइपरी आउने सम्भावनाबाट समयमै बच्न ठूला ठूला कम्पनीले आफ्ना कामदारलाई सुरक्षीत स्थानमा सार्ने काम भइरहेको छ । अधिकांश कम्पनीले जोर्डन, दुबई र इराकको सुलेमानतिर कामदारलाई लगेर राख्न थालेको छ । बग्दादमा अनौपचारिक क्षेत्रमा कार्यरत नेपाली पनि छन् । जसको औपचारिक क्षेत्रमा गर्ने नेपाली र कुटनीतिक नियोगसँग सम्पर्क छैन् ।
गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले बग्दादमा घरेलु काममा रहेको महिला कामदारहरु बढी जोखिममा रहेको बताए । युद्ध भड्किए उनीहरुलाई कसरी उद्दार गर्ने भन्ने बिषय सबैभन्दा बढी चिन्ताको विषय रहेको उनले बताए । 'हामी पनि बढी भन्दा बढी नेपालीसँग सम्पर्क रहने प्रयास गरिरहेका छौं । औपचारिक क्षेत्रमा कार्यरत नेपाली सम्पर्कमा आएका छन् । तर, घरेलु कामदारहरु सम्र्पकमा छैनन्', गुरुङले भने ।
बग्दादमै घरेलु कामदारको रुपमा कार्यरत लमजुङकी खुमाया तामाङले आफूलाई भने डर लागिरहेको बताइन् । 'यहाँ के भइरहेको भन्ने बुझेको छैन् । मेरा घरमालिकहरु बन्दुक र गोलीहरु भिरेर हिड्ने गरेको देख्छु', दुई बर्षदेखि कार्यरत तामाङले भने, 'अरु घरमा काम गर्ने केटी साथीहरुलाई उनीहरुका मालिकले नेपाल पठाउन टिकट काटिसकेको बताएको छ । मेरो बारेमा केही भनिसकेको छैन ।'
इराकको मुख्य गरी बग्दाद, वार्सा र कुर्दीस्थानमा नेपाली कार्यरत छन् । सबैभन्दा बढी स्वशासित कुर्दीस्थानमा २० हजारसम्म नेपाली रहेको अनुमान छ । यसमा आफ्नै सेना, सरकार र प्रशासन रहेकोले कुर्दीस्थनाममा रहेको नेपाली ढुक्क छन् । 'बग्दादतिर तनाब होला । त्यसले हामीलाई कुनै समस्या छैन', क्यारिफोरका म्यानेजर खेम पौडेलले भने, 'समस्या पर्नेहरु आउने ठाउँ यतै हो । तर, बग्दादबाट यता आउन भिसा चाहिन्छ ।'
गोर्खा अम्पिपलका ध्रुव देवकोटा छेत्री इराकको कुदिस्तानमा काम गर्छन् । करिब ९ महिनादेखि उनी एर्बिल सहरको दिभान होटेलमा कार्यरत छन् । 'यहाँ आजसम्मका दिनमा पनि लडाईंले कुनै परिवर्तन देखिएको छैन,' उनी भन्दै थिए, 'रात भर गाडी चलेकै छ । सबै जसो महल र सपिङग मार्केट रातको ३ बजे सम्म चलेको छ ।'
तनाब बढेपछि फेरि इराकको जिम्मेवारी पाएको पाकिस्तान स्थित नेपाली मिसनको चासो र चिन्ता दुबै बढेको छ । त्यहाँको राजदुत भरतराज पौड्यालले हरेक दिन इराकमा रहेको नेपालीसँग नियमित सम्पर्कमा आउन थालेका छन् । 'इराकको सबै सहरमा रहेका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ । अहिलेसम्म नेपालीहरु हकमा दुखद जानकारी छैन,' पाकिस्तानको इस्लामबादस्थित आवासीय राजदुत पौड्यालले ईकान्तिपुरलाई फोनमा भने, 'सबै नेपालीलाई सुरक्षीत भएर बस्न आफ्नो च्यानलबाट सूचना प्रवाह गरिरहेको छु । आफ्नो सुरक्षालाई मुख्य ध्यान दिएर बस्न अनरोध गरेका छौं ।'
राजदुत पौड्यालले सोमबार पाकिस्तानका लागि इराकका राजदुतसँग यसबारे छलफल गरेका थिए । 'इराकमा कार्यरत नेपालीको पूर्ण सुरक्षा दिने काम इराकी सरकारले दिन्छ,' इराकी राजदुतको भनाई उद्धत गर्दै पौड्यालले भने । इराकी राजदुतले पौड्याललाई अहिलेको अवस्थामा त्यताको भ्रमण नगर्न भने सुझाब दिएका छन् । 'इराकको अबस्था सामान्य छैन्, जटिल छ', उनले भने, 'नेपालीलाई उद्धार गर्नुपरेमा सरकारले सबै उपाय अबलम्बन गर्नेछ ।' इराकमा संयुक्त राष्ट्र संघबाट खटिएका नेपाली सेना ७७ र सशस्त्र प्रहरी दुई जना रहेको उनले बताए ।
राजदुत पौड्यालले त्यस्तो केही समस्या आइपरे इराकबाट नेपालीलाई उद्धार गर्न सरकार तयारी अबस्थामा रहेको बताए । 'हामी तयारी अबस्थामा छौं । राष्ट्रिय अन्तराष्ट्रिय सबै निकायसँग समुन्वय गछौं', उनले भने ।
इराकको कुर्दीस्थानमा काम गर्ने नेपालीहरु
- See more at: http://bit.ly/SWeykt








0 comments:
Post a Comment