Thursday, June 19, 2014

क्यानलाई आईसीसीले दियो चेतावनी

काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को नियमअनुसार नचलेका कारण आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई चेेतावनी दिएको छ।

मेलबर्नमा बुधबार बसेको आईसीसी पदाधिकारी बैठकले नेपाल लगायत पाँच सदस्य राष्ट्रले नियम नमानेको भन्दै सुध्रनका लागि चेतावनी दिएको हो।

आइसीसीले क्यान नसुध्रिएको खण्डमा प्रतिबन्धको कारवाही गर्ने समाचार क्रिकेटको चर्चित आनलाइन 'क्रिकिइन फो' मा उल्लेख छ।

क्यानले आईसीसीको नियमअनुसार कार्यालयमा पूर्णकालीन काम गर्ने कर्मचारी नराखी क्यानलाई आफूखुसी चलाएको भन्दै कारवाहीको चेतावनी दिएको हो। आईसीसीले क्यानलाई यसअघि नै कार्यालय सञ्चालनको लागि कार्यकारी अधिकृत र आर्थिक व्यवस्थापनका लागि वृत्त प्रबन्धक राख्न सुझाउ दिएको थियो।

क्यानले आईसीसीको सुझाउलाई लत्याउँदै आएको आईसीसीले जनाएको छ। आईसीसीको विभिन्न नियम पालना नगरेको भन्दै नेपाल लगायत अमेरिका, जामाबिया, माली र मोरोक्कोलाई सुध्रनका लागि एकबर्ष मौका समेत दिएको छ। आईसीसीले क्यानलाई शुक्रबारसम्म कार्यकारी अधिकृत र आर्थिक व्यवस्थापक नियुक्तका लागि खुला विज्ञापन गरी आईसीसीमा पत्र पठाउन अनुरोध पनि गरेको छ।

क्यानका एक पदाधिकारीले यसविषयमा आइसीसीको औपचारिक पत्र नआएको बताए। 'तीनमहिना अघि नेपाल आएको आइसीसी प्रतिनिधिले यस विषयमा क्यानको ध्यानार्कषक गराएका थिए। क्यानको आन्तरिक कारणले गर्दा समयमै कार्यकारी अधिकृत र वृत्त प्रबन्धक नियुक्तिका लागि ढिलाई भएको हो', पदाधिकारीले भने।

आइसीसीले तीनमहिना अगाडी गरेको कुरालाई अफिसियल रुपमात्र दिएको हो। क्यानले २० दिनअघिनै कार्यकारी अधिकृत र वृत्त प्रबन्धकको लागि आवेदन खुला गरेको छ।

आवेदन आईसीसी र एसीसीको वेभसाइटमा समेत राखिएकाले दुईपदका लागि स्वदेशी र केही विदेशी नागरिकको समेत निवेदन परेको छ, उनले भने। वृत्त प्रबन्धक पदका लागि निवेदन दिनेको संख्या बढी रहेको पनि उनले बताए।

आइसीसीले ब्रुनाई, टोङ्गा र टर्कीलाई भने प्रतिबन्धको कारबाही गर्नसक्ने जनाएको छ। प्रतिबन्धका विषयमा यही जुन २४ गते बस्ने आइसीसीको बार्षिक साधारण सभाले निर्णय गर्नेछ।

क्यानका अध्यक्ष टंक आङबुहाङ लगायतका पदाधिकारीलाई आर्थिक अनियमितता गरेको आरोपमा अख्तिर दुरुपयोग अनुसन्धान आयोगले निलम्बलगरी छानविन गरिरहेको छ। अख्तियारले क्यान र अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक विषयमा छानविन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पत्राचार समेत गरिसकेको छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment