Monday, June 23, 2014

उग्रवादीहरुले इराकका थप शहरहरूमा हिसां फैलाउदै

बग्दाद: इराकी सुन्‍नी मुस्लिम उग्रवादीहरुले इराकको दोस्रो ठूलो सहर मोसुल र त्यसपछि टिक्रिट सहरलाई आफ्नो नियन्त्रणमा लिएपछि सुरु भएको हिंसा इराकका थप सहरमा पनि फैलाएको समाचार छ।
उनीहरुले आइतबार मात्र पनि इराकका थप दुई वटा सहर कब्जामा लिएको छ। राजधानी बग्दादमै उनीहरुले कब्जा गर्नसक्ने अनुमानहरु जारी नै रहँदा उनीहरुले इराकी सहरहरु कब्जामा लिनेक्रमलाई निरन्तरता दिएका छन्। प्राप्त पछिल्लो समाचार अनुसार इराकी जिहादी समूहले पश्चिमी इराकमा आफ्नो प्रभाव फैलाउन थालेका छन्। उनीहरुले पश्चिमी इराकका रावा र आना गरी दुईवटा सहरलाई कब्जामा लिएको बताइएको छ।

ती सहरमा उनीहरुले हिंसा पनि मच्चाएका छन्। उनीहरुले ती सहरका कम्तीमा पनि २१ जना स्थानीय नेतालाई नियन्त्रणमा लिई हत्या गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। इराकका सुन्नी मुस्लिमहरुले शनिबार मात्र सिरियासँगको सीमाक्षेत्र नियन्त्रणमा लिएका छन्। पछिल्ला दुई महिनादेखि इराकमा जारी रहेको हिंसाकै क्रममा शनिबार इराकी सुन्नी मुस्लिमले सो सहर कब्जामा लिएका बताइएको छ।
शनिबार प्राप्त समाचारअनुसार इराकको सिरियासँगको अल क्वाइम सीमा कब्जामा लिएका हुन् । उनीहरुले सो क्षेत्रमा रहेका सिरियाली विद्रोहीलाई लखेटेर सो क्षेत्रलाई कब्जामा लिएको बताइएको छ ।
बन्दुकधारीहरुले अल क्वामी सहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिएका बताइएको छ । उनीहरुले शनिबार बिहानीपख सो सीमा सहर कब्जामा लिएका हुन् । त्यसपछि सो सीमा भएर सर्वसाधारण नागरिकले ओहोरदोहोर गर्न पाएका छैनन्।कयौँ बन्दुकधारीहरुले हालैका दिनमा इराकका विभिन्न सहर कब्जामा लिएका छन्। सोही क्रममा उनीहरुले शुक्रबार रातिदेखि सहरमा हमला गरेका थिए । इारकी सुन्नी मुस्लिमहरुको यो हिंसाका कारण इराकबाट विभिन्‍न पश्‍चिमा मुलुकहरुले आफ्ना मिसनहरु पनि खाली गर्न सुरु गरेका बताइएको छ । राजधानी बग्दादमा रहेका पश्चिमा देशहरुका राजदूतावासहरुले इराकी राजधानी छोड्न थालेका बताइएको छ ।

उनीहरुले गतहप्तायतादेखि इराकका कम्तीमा पनि पाँचवटा ठूला र रणनैतिक हिसाबले महत्वपूर्ण मानिने सहर कब्जामा लिएका छन्।उनीहरुले अल क्वामी सीमा सहर नियन्त्रणमा लिएर सिरियासँगको सम्बन्धलाई पनि नयाँ हिसाबले प्रभावित पार्न खोजेका छन्। उनीहरुले विभिन्न सहरमा धावा बोलेपछि त्यहाँका सरकारी सुरक्षाकर्मीहरुले भने सजिलैसँग ती सहर छोड्ने गरेको पाइएको छ । खासै भिडन्त नै नगरी उनीहरुले सहरहरु कब्जा गरिरहँदा सरकारलाई भने अप्ठेरो पर्न थालेको समाचार स्रोतहरुले बताएका छन् ।

यसैबीच यसरी इराकका विभिन्न सहर उनीहरुले कब्जा गरिरहँदा यसको असर अन्यत्र पनि पर्नसक्ने र अरु सहरमा मात्र नभएर क्षेत्रीय रुपमा नै यसले असर पार्नसक्ने अमेरिकी राष्ट्रपति बाराक ओबामाले चेतावानी दिएका छन्। उनले भनेका छन्, 'हालैका दिनमा इराकमा फैलिएको हिंसाले इराकमा मात्र नभएर क्षेत्रीय रुपमा नै असर गर्नसक्छ।' सुन्‍नीहरुको यस हिंसाले अन्य राष्ट्रहरुका साथै क्षेत्रीय रुपमा पनि अस्थिरता छाउनसक्ने भन्‍दै आइतबारको एक अन्तरवार्तामा ओबामाले यस्तो धारणा व्यक्त गरेका छन्। रासस/एएफपी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment