यसले ओगटेको क्षेत्र भने घटिरहेको छ। अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको समूहले गत साता सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा तीन हजार आठ सय आठवटा हिमनदी छन्। यी हिमनदीले तीन हजार नौ सय दुई वर्ग किलोमिटर क्षेत्र ओगटेका छन्। सन् १९८० मा तीन हजार चार सय ३० हिमनदी थिए भने यिनले पाँच हजार एक सय ६८ वर्ग किलोमिटर क्षेत्र ओगटेका थिए।
'हिमनदीको संख्या बढ्नु र क्षेत्र घट्नु भनेको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरको दह्रो प्रमाण हो', हिमताल अनुसन्धानमा संलग्न अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठले भने। हिमनदी पग्लिएर बनेका हिमतालको आकार बर्सेनि बढिरहेको छ।
पछिल्लो दशकमा नयाँनयाँ हिमताल देखा परिरहेका छन्। हिउँ पग्लिने क्रम सन् १८५० देखि सुरु भए पनि सन् १९०० पछाडि भने मानवीय गतिविधिका कारण यो क्रम तीव्र भएको हो। पछिल्लो अध्ययनअनुसार बितेको ५० वर्षमा एक सय मिटर गहिरा धेरै हिमताल बनेका छन्।
हरेक वर्ष ५० मिटरका दरले हिउँ पग्लिरहेको छ। यस्तै गतिमा हिमनदी पग्लिने र हिमताल बन्ने क्रम जारी रहे सन् २०५० सम्ममा नेपालका साना सबै हिमताल हराउने अनुमान छ।
सन् २०५० सम्ममा जलवायु परिवर्तनकै कारण पिउने पानीको समेत अभाव हुने चेतावनी अध्ययन प्रतिवेदनले दिएका छन्।
हरेक वर्ष ५० मिटरका दरले हिउँ पग्लिरहेको छ। यस्तै गतिमा हिमनदी पग्लिने र हिमताल बन्ने क्रम जारी रहे सन् २०५० सम्ममा नेपालका साना सबै हिमताल हराउने अनुमान छ।
जलवायु तथा मौसमविज्ञान विभागको अध्ययनअनुसार नेपालको हिमाली क्षेत्रमा तापक्रम वृद्धिदर अन्यन्त्रभन्दा धेरै छ।
वैज्ञानिक श्रेष्ठका अनुसार सन् १९७५ यतासम्म नेपालको हिमाली क्षेत्रमा प्रतिवर्ष ०.०८ डिग्री सेल्सियस तापक्रम बढिरहेको छ। देशको अन्य भागको तापक्रम वृद्धिदर भने प्रतिवर्ष ०.०६ डिग्री सेल्सियस छ।
संयुक्त राष्ट्रसंघीय अन्तरसरकारी समूह (आईपीसीसी) ले आउँदो दशकमा पृथ्वीको तापक्रम दुई डिग्री सेल्सियस बढ्ने प्रक्षेपण गरेको छ। शताब्दीको अन्त्यसम्ममा त्यो दर बढेर चार डिग्रीमा पुग्ने अनुमान छ। वैज्ञानिकहरूका अनुसार त्यसको असर सबैभन्दा धेरै दक्षिण एसियाली सहरमा पर्छ। वरिष्ठ मौसमविद् मणिरत्न शाक्यका अनुसार पछिल्ला वर्षमा देशैभरिको तापक्रममा निरन्तर थपघट भइरहेको छ।
नेपाल विश्वकै कम हरितगृह ग्यास उत्सर्जन गर्ने राष्ट्र भए पनि असर भने सबैभन्दा धेरै भोगिरहेको छ। छिमेकी देश चीन र भारतले उत्सर्जन गर्ने हरित गृह ग्यासको प्रत्यक्ष असर नेपाली हिमालले भोगिरहेका छन्। नेपालले विश्वको कुल हरितगृह ग्यासको ०.०२५ प्रतिशत मात्रै उत्सर्जन गर्छ। मानवीय गतिविधिसँगै डढेलो, उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ नै जलवायु परिवर्तनको प्रमुख कारण हो।
हिमाली सुनामीको खतरा
कुनै ठूलो भूकम्प आएमा तापक्रम वृद्धिसँगै बनिरहेका हिमताल विस्फोट हुँदा हिमाली सुनामीको रूप लिने चेतावनी विज्ञले दिएका छन्। धेरै हिमताल उच्च हिमाल, हिमाली भाग र महाभारत छुट्याउने फल्स नजिक छन्। 'ठूलो भूकम्प आयो भने ती सबै हिमताल विस्फोट हुन्छन्', जापानी वैज्ञानिक टोलीले गत वर्ष नेपालमा गरेको हिमतालसम्बन्धी अध्ययन प्रतिवेदनमा उल्लेख छ।
अध्ययनअनुसार नेपालका हिमनदी ३० सेन्टिमिटरदेखि एक मिटरसम्म वार्षिक रूपमा बढिरहेका छन्। हिमतालको आकार बर्सेनि १० देखि २० मिटरसम्म बढिरहेको छ।
हिमाली क्षेत्रलाई केन्द्रबिन्दु बनाएर हालसम्म एक दर्जनभन्दा बढी भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। तर यी केन्द्र केही साना हिमतालनजिक परेका कारण ठूलो दुर्घटना भएन। गत वर्ष हिमताल अध्ययन गर्न हिमाली क्षेत्र गएको जापानी टोलीले पेरुमा हिमताल फुटेर सयौंको ज्यान गएको उदाहरण दिँदै नेपालमा पनि त्यो खतरा रहेको चेतावनी दिएको थियो। पछिल्लो अध्ययनअनुसार २१ वटा हिमताल विस्फोटको खतरामा छन्। तीमध्ये छवटालाई उच्च जोखिममा राखिएको छ।
दुई वर्षअघि पोखरामा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ। च्छोरोल्पा, थुलागी, वरुण, इम्जा, गंगापूर्ण हिमताल बढी खतरामा छन्। खुम्बु क्षेत्रमा रहेको इम्जा अहिले सबैभन्दा तीव्र गतिमा बढिरहेको हिमताल हो। यस तालमा तीन करोड ५० लाख घनमिटर पानी छ।
इसिमोडका अनुसार हालसम्म नेपाल, भारत, पाकिस्तान र भुटानमा गरी ३५ वटा हिमताल फुटिसकेका छन्। फुट्ने खतरा नजिक पुगेको दोलखास्थित च्छोरोल्पामा पूर्वसूचना प्रणाली जडान गरिएको थियो।
त्यस्तै दातृ निकायको सहयोगमा सरकारले तालबाट पानीसमेत निकालेर फालेको थियो। नेपालमा सन् १९८५ मा खुम्बु क्षेत्रको डिग्चो ताल विस्फोट हुँदा ठूलो क्षति भएको थियो।
हिमताल फुटेर आउने बाढीले कृषि क्षेत्र, जलविद्युत्, पर्यटन तथा अन्य भौतिक पूर्वाधार नष्ट गर्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।








0 comments:
Post a Comment