महाराजगन्जस्थित मिल्सबेरी किड्स वल्र्ड इन्टरनेसनल स्कुलमा यूकेजीमा पढ्ने सिद्धान्त बजाजलाई मोटरसाइकलमा आएका दुईजना अपहरणकारीले आमाकै हातबाट खोसेर लगे।
अर्का अढाइ वर्षीय चौधरीलाई भक्तपुरबाट तराईमधेस लोकतान्त्रिक पार्टीका नेता भाग्यनारायण चौधरीले नयाँ पार्टी खोल्न अपहरण गरेका थिए। प्रहरीको सक्रियतामा दुवै बालकको उद्धार भयो तर यस घटनाले अधिकांश अभिभावक तथा छात्रछात्रामा सन्त्रास सिर्जना गरेको छ। अपहरणका घटना नियन्त्रण गर्न सरकार, सुरक्षा अंग र सर्वसाधारणको सक्रियता हुनुपर्ने टड्कारो आवश्यकता देखा परेको छ।
काखैबाट बालबालिका अपहृत हुन्छन् भने अरु बालबालिका कसरी सुरक्षित होलान् ? यो घटनाले सबै अभिभावकमा असुरक्षाको महसुस गराएको छ। यसमा व्यापारी, उद्योगपति, धनीहरू बढी चिन्तित हुन पुगेका छन्। विगतमा विद्यालयका मात्र होइन, कलेजमा अध्ययन गर्ने छात्रछात्रासमेत अपहरणकारीको सिकारमा परेका थिए। तीनचार वर्षअघि राजधानीस्थित जुबिलियन्ट कलेजकी छात्रा ख्याती श्रेष्ठको अपहरण भयो र १७ दिनपछि उनलाई मारेर टुक्राटुक्रा पारेको अवस्थामा फेला पारियो।
अपहरणका घटनाले कलेज तथा विद्यालयमा अध्ययन गर्ने छात्रछात्रा तथा तिनका अभिभावक, व्यापारी बढी मात्रामा चिन्तित हुन पुगेका छन् तर सरकार र राजनीतिक नेतृत्वले यसतर्फ त्यति ध्यान दिएको पाइएन। ठूला राजनीतिक दलका नेताहरूलाई सरकारमा कसरी जाने भन्ने मात्र छ। यति मात्र होइन, मुलुकको शान्तिसुरक्षा गर्ने जिम्मेवारी सरकारको हो भन्ने गर्छन्। उता सरकार घटना भएपछि सुरक्षामा केही कडाइ गर्छ र घटनाको छानबिन गरी सत्यतथ्य प्रतिवेदन बाहिर आएपछि कारबाही अगाडि बढाउने निर्णय गर्छ मात्र। सरकारको यो व्यवहारले अपहरण कार्यलाई मलजल पुग्छ।
सरकारले विगतका घटना अध्ययन गरेर कानुन कार्यान्वयन र सुरक्षास्थितिमा सुधार ल्याएमा मात्र अपहरण नियन्त्रणमा आउनेछ।
विगत एकदशकदेखि देशभर बढ्दो अपहरण, लुटपाट, हत्याका घटनाबाट त्राण पाउन सर्वसाधारण जनताले वर्तमान राजनीतिक संकटको अन्त्य चाहेका छन्, तर राजनीतिक दलहरूको अकर्मण्यताका कारण दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्यो। वर्तमान संविधानसभाले संविधान निर्माण कार्यलाई गति दिएको छ, तर टुंगोमा पुग्छ वा पुग्दैन भन्नेमा आशंकै छ।
राजनीतिक दृष्टिकोणले होस् वा आर्थिक प्रलोभनमा परेर होस्, व्यापारी, छात्रछात्र, बालबालिका अपहरण हुने जुन कार्य भइरहेको छ, त्यो कानुनी दृष्टिकोणले अपराध मानिन्छ। समाजमा आतंकको वातावरण सिर्जना गर्छ। सरकारले यसलाई तत्काल नियन्त्रण गरी समाजलाई शान्तिसुरक्षाको अनुभूति दिनु आवश्यक छ। तर समाजमा शान्तिसुरक्षा जति फितलो हुँदै जान्छ, त्यति नै आपराधिक समूह पनि सक्रिय हुनेछ। अहिले अपहरणका घटना हुनुमा शान्तिसुरक्षा कमजोर हुनु हो।
समाजमा बढ्दो आपराधिक क्रियाकलाप रोक्न सरकारले सुरक्षा व्यवस्था कडा पार्नु जरुरी छ। मुलुक संक्रमणकालीन अवस्थामा रहेको भन्दै सरकार उदासीन भइरहने हो भने समाजमा अपराधका घटना र सर्वसाधारणमा सन्त्रासको वातावरण बढेर जानेछ।
संक्रमणकाललाई सबैले मौकाको रुपमा लिने जुन प्रवृत्ति छ, त्यसलाई रोक्नुपर्छ। नत्र कलेज तथा विद्यालयमा पढ्ने ख्याती श्रेष्ठहरू अपहरणमा पर्ने र मारिनेमा कुनै कमी आउने छैन। सर्वसाधारणले यतिमात्र भन्ने हुन्, कसैले पनि सिद्धान्त बजाज र बिट्टु चौधरीको नियति भोग्नु नपरोस्, सबैलाई निर्धक्कसँग हिँडडुल गर्ने र काम गर्ने वातावरण प्राप्त होस्।
शान्तिपूर्ण समाजले अपहरण कार्य स्वीकार्दैन तर लुटेरा, चोर डाँकाहरूले यसलाई बढी प्रयोग गर्छन्। अपहरण आजको समस्या होइन। केही वर्षयता यसले निरन्तरता पाइरहेको छ।
अपहरणले धेरैलाई सिकार बनाइसकेको छ। अपहरणका घटनाले उनीहरूको पुरानो घाउ बल्झाउने, नयाँ घाउ पैदा गर्ने र समाजमा त्रासको वातावरण ल्याउने गर्छ। सरकारले विगतका घटनाको अध्ययन गरेर कानुन कार्यान्वयन र सुरक्षास्थितिमा सुधार भएमा मात्र यस्ता घटना नियन्त्रण हुन सक्छन्। सिद्धान्त र बिट्टुका बाआमाको मनमा लागेको घाउमा मलम लग्नेछ।








0 comments:
Post a Comment