गुम्बाहरूको यस किसिमको गैरकानुनी क्रियाकलाप रोक्न पटकपटक लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको लुम्बिनी क्षेत्रका होटेल व्यवसायीले बताएका छन्। कोरियन गुम्बा (टेम्पल) को अतिथिगृहका कर्मचारी वीरेन्द्र यादवले कोरिया, चीन, जापानलगायत मुलुकका पर्यटकलाई जनही पाँच सय रुपैयाँ शुल्कमा एक दिनको आवास र तीन छाक खाना दिने गरिएको बताए।
कोषका सूचना अधिकृत हरि राईका अनुसार गुम्बाले एकपटकमा सातजना कर्मचारी र पाहुना राख्न पाउने गरी गैरव्यावसायिक ढंगले सातकोठे अतिथिगृह सञ्चालन गर्न पाउने सम्झौता भएको छ। लुम्बिनीमा श्रीलंका, थाइल्यान्ड, भियतनाम, फ्रान्स, अस्ट्रेलिया, जापान र चीनका १८ वटा गुम्बा छन्।
सरकारले नि:शुल्क उपलब्ध गराएको जग्गामा निर्मित गुम्बाहरूले सम्झौताविपरीत ठूला अतिथिगृह सञ्चालन गर्ने, बस, हवाईजहाज र रेलको टिकट उपलब्ध गराउनेजस्ता नाफामूलक कार्य गरेपछि होटेल व्यवसायी रुष्ट बनेका छन्।
भैरहवास्थित पर्यटन कार्यालयमा शुक्रबार भएको बैठकमा पनि यो विषय उठ्यो। होटेल एसोसिएसन अफ सिद्धार्थनगर (हान्स) को लुम्बिनी क्षेत्रका अध्यक्ष मिथुन श्रेष्ठले जर्मन र जापानको सेतो गुम्बाबाहेक अरू सबैले ठूला अतिथिगृह निर्माण गरी व्यापारिक कारोबार गरेको आरोप लगाए।
कोषका सूचना अधिकृत राईले पनि कोरियन टेम्पलले आफ्नो अतिथिगृह व्यापारिक प्रयोजनमा लगाएको पुष्टि गरे। कोरियन टेम्पलले मुनाफा कमाउनकै लागि एक सयकोठे र चिनियाँ टेम्पलले ७० कोठे अतिथिगृह सञ्चालन गरेको हान्सका अध्यक्ष श्रेष्ठले बताए। श्रेष्ठले यसबारे पटकपटक कोषको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको गुनासो गरे। उनका अनुसार गुम्बाहरूले पर्यटक राखेर व्यापार गर्छन् र राज्यलाई यसबापत हुने आम्दानीको कर पनि तिर्दैनन्। गुम्बाहरूको आर्थिक र विदेश भ्रमण प्रलोभनमा परेर कोषका पदाधिकारीले गुम्बा बनाउन जथाभाबी जग्गा उपलब्ध गराएको र गुम्बाका नाममा हुने व्यापारप्रति आँखा चिल्लिएको आरोप श्रेष्ठको छ।
लुम्बीनीमा धार्मिक उद्देश्यले निर्माण गरिएका गुम्बाहरुले सेवाका नाममा व्यापार गरिरहेका छन्। पर्यटकलाई गुम्बामा राखेर पैसा असुल्ने गरिएको छ। गुम्बाहरुलाई व्यापार गर्ने थलो बनाउँदा लाखौ कर छली भएको छ।
कोषका सूचना अधिकृत राईले भने गुम्बाहरूको बचाउ गर्दै धर्मशालाका रूपमा सञ्चालन भएका अतिथिगृहले सस्तो मूल्यमा पर्यटकलाई बास र गाँसको सुविधा दिने गरेको बताए। होटेलहरू महँगा भएकाले पर्यटक गुम्बातर्फ आकर्षित भएको उनको भनाइ छ।
कोषका सदस्यसचिव अजितमान तामाङले गुम्बाले चलाएका धर्मशाला होटेलभन्दा सस्ता भएकाले पर्यटकले धर्मशाला रोज्ने गरेको बताए। गुम्बाले अन्य अनियमित क्रियाकलाप नगरेको उनको दाबी छ।
लुम्बिनीमा सन् २०१३ मा पाँच लाख ७३ हजार नेपाली, डेढ लाख भारतीय र एक लाख २५ हजार तेस्रो मुलुकका पर्यटक आएको तथ्यांक छ। यस वर्षको जुनसम्ममा तेस्रो मुलुकका ५६ हजार, भारतीय ९८ हजार र नेपाली चार लाख ५१ हजार पर्यटक आएका छन्।
सरकारले लुम्बिनीलाई पर्यटकीय स्थलका रूपमा विकास र प्रवद्र्धन गर्न यहाँ अन्तर्राष्ट्रिय विमानस्थललगायत पूर्वाधार विकास योजना अघि बढाएको छ। तर होटेल व्यवसायीले पूर्वाधार विकासमा सिन्कोसम्म नभाँचेको राई बताउँछन्।
हान्सका अनुसार बेलहियादेखि लुम्बिनीसम्ममा सानाठूला गरी ५० भन्दा बढी होटेल सञ्चालित छन्। केही तारेस्तरका पनि छन्। कोषले दिएको जानकारीअनुसार भारत हुँदै स्थलमार्गबाट आउने विदेशी पर्यटकले लुम्बिनीमा रात बिताउँदैनन्। भारतीय पथप्रदर्शकले मायादेवी मन्दिरको पूजापछि उनीहरूलाई बास बसाउन भारतमै फर्काउँछन्। काठमाडौंबाट हवाई मार्ग भई आउने पर्यटकले भने लुम्बिनीमा रात बिताउँछन्। पर्यटकको लुम्बिनी बसाइ अवधि लम्ब्याउन कुशल नेपाली पथप्रदर्शक तयार गरी लुम्बिनीसँगै तिलौराकोट, रामग्राम (देवदह) क्षेत्र लगायत पर्यटकीय स्थलको भ्रमण प्याकेज बनाउनुपर्ने व्यवसायीको माग छ।








0 comments:
Post a Comment