निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघलाई बलियो बनाउने बेलामा विवाद गर्न नहुने भन्दै उनीहरुले सहमतिको प्रयास थालेका हुन् ।
प्रदीपजंग पाण्डेलाई भाष्करले अध्यक्ष नमान्ने विवाद मिलाउन पूर्वअध्यक्षहरुको अग्रसरता
गत चैत मसान्तमा सम्पन्न साधारणसभाबाट निर्वाचित अध्यक्ष प्रदीपजंग पाण्डेको बैधतामाथि प्रश्न उठाउँदै भाष्करराज राजकणिर्कार पक्षले महासंघका कार्यक्रम नै बहिस्कार गर्न थालेपछि पूर्वअध्यक्षहरु गम्भीर बनेका हुन् ।महासंघको अभिभावकीय भूमिका रहने पूर्वअध्यक्षहरुको भेला गत साता यसै विषयमा छलफल गर्नका लागि आयोजना भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेको एक पूर्वअध्यक्ष बिनोदवहादुर श्रेष्ठले बताए ।
भाष्कर पक्षले भ्रष्टाचारको विषयमा फौजदारी मुद्धा लागेर पूरा सजाय भुक्तान गरी नसकेका पाण्डेलाई अध्यक्ष मान्न नसकिने अडान राखेको छ । भाष्कर गत साधारणसभामा पाण्डेसँग अध्यक्षमा पराजित भएका थिए ।
यता अध्यक्ष पाण्डेले भने आफूले सो मुद्दामा एक वर्ष ५ महिना कैद भुक्तान गरिसकेको र बाँकी सजायँ माफी पाएको दाबी गरेका छन् । उनले बैधानिकरुपमै आफू उम्मेदवार बनेर, निर्वाचित भई कामकाज गरिरहेको र सारा दुनियाँले स्वीकार गरिसकेकाले विवादको अर्थ नहुने बताएका छन् ।
‘यो विवादको कुनै तुक छैन, पराजय स्वीकार गर्न नसकेकाहरुले उछालेको विवाद हो’ पाण्डे भन्छन् ‘महासंघ एकढिक्का भएर अघि बढिसकेको छ’ । पाण्डे २०४० सालमा खानेपानी बिभागमा काम गर्दा फौजदारी अभियोगमा मुद्दा चलेको थियो ।
उनले त्यस बेला १ वर्ष ५ महिना जेल सजायँ भुक्तान गरेका थिए भने बाँकी अवधिको कैद मिनाहा भएको हो या होइन भन्ने स्पष्ट नखुलेको बताइन्छ ।
महासंघको बिधानअनुसार फौजदारी अभियोगमा सजायँ तोकिएको व्यक्ति अध्यक्ष हुन नपाउने व्यवस्था रहेको भन्दै भाष्कर पक्षले यसलाई नै विवादको विषय बनाएको छ ।
गत साता भएको विशेष साधारणसभा भाष्कर लगायतका उनी पक्षधर केहीले बहिस्कार गरेका थिए । ‘बिधानतः अवैधानिक अध्यक्ष रहन्जेल हामी महासंघको कार्यक्रममा सहभागी हुन सक्दैनौं र उनलाई म अध्यक्ष मान्न सक्दिन’ भाष्कर भन्छन् ‘विशेष साधारणसभामै राजीनामा आउने भनिएको थियो्, म पाण्डेजीको राजीनामा कुरेर बसेको छु’ ।
एक पूर्वअध्यक्षले आगामी शनिवारभित्र यसको समाधान खोजेर महासंघलाई सशक्त बनाउँदै अघि बढाइने बताए । निजी क्षेत्र अझ बलियो, एकतावद्ध र प्रभावकारीरुपमा आउनुपर्ने बेलामा महासंघभित्र विवाद गर्न नमिल्ने बरिष्ठ उपाध्यक्ष पशुपति मुरारकाले बताए । पद्मज्योती, आनन्दराज मुल्मी, विनोदवहादुर श्रेष्ठ, प्रदीपकुमार श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी लगायतका पूर्वअध्यक्षहरुले विवाद समाधानका लागि अग्रसरता देखाएका छन् ।








0 comments:
Post a Comment