Saturday, June 7, 2014

राजधानीमै असुरक्षित पैदल यात्री हप्‍तैपिच्छे एकजनाको मृत्यु

हप्‍तैपिच्छे एकजनाको मृत्यु
काठमाडौं : कपिलवस्तु वनकट्टीका गणेश विक कम्पनीको कामले बुधबार काठमाडौं आए। बिहीबार काम सिध्याएर राति कुलेश्‍वरमा बास बसे। बुटवलका डिटर्जेन्ट सरफ कम्पनीका मालिक मुक्तार अहमदको गाडी कलंकीमा पार्क गरी गणेश कुलेश्वर आएका थिए। शुक्रबार बिहान ६ बजे ग्यारेजबाट गाडी झिक्न निस्किएका गणेशलाई हिँडिरहेको समयमा विपरीत दिशाबाट आएको बा १ ख ९४८८ नम्बरको पानी ट्यांकरले कुलेश्वर गणेश मन्दिरनजिक ठक्कर दियो। गणेशलाई उपचारका लागि बयोधा हस्पिटल पुर्‍याए पनि चिकित्सकले बचाउन सकेनन्।


दुई छोरा र एक छोरीकी बाबु गणेशका परिवारसहित कपिलवस्तुमै बस्थे। २२ वर्षदेखि सवारी चलाउँदै आएका गणेशको ज्यान सवारीसाधनकै कारण गयो। आफ्नै गाडी किन्ने योजनामा रहेका गणेशले केही समयका लागि राजुको गाडी चलाउन थालेका थिए।

मित्रनगरमा गेस्ट हाउस सञ्चालन गर्दै आएका गणेशका भाइ भूपालले भने, 'दाजु र मेरो १० दिनअगाडि मात्रै कपिलवस्तुमा भेट भएको थियो। गाडी किन्छु भन्थ्यो। काठमाडौं आएपछि मेरो भेट हुन सकेन।'

प्रहरीले ठक्‍कर दिने ट्यांकर र चालक मकवानपुरका याक्सो गोलेलाई नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा भएको वार्तामा पीडित पक्षलाई क्षतिपूर्ति र किरिया खर्चबापत आठ लाख रुपैयाँ दिने सहमति भएको छ। वृत्तका प्रमुख डीएसपी यज्ञविनोद पोखरेलले चालकमाथि सवारी ज्यान मुद्दा चलाइने जानकारी दिए।

पैदल यात्री गाडीको ठक्करबाट मृत्यु भएको यो पहिलो घटना भने होइन। गणेशजस्तै उपत्यकामा अन्य ४४ जनाको गत वर्ष असारदेखि जेठ २१ गते सम्म गाडीकै ठक्करबाट मृत्यु भइसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। आव २०७०/०७१ को जेठ तेस्रो सातासम्म सडक दुर्घटनामा एक सय २३ जनाको मृत्यु भएकोमा ४४ जना पैदलयात्री थिए। दुर्घटनाको मुख्य कारण चालकको लापरबाही रहेको महाशाखा प्रमुख डीआईजी केशव अधिकारी बताउँछन्।





कसरी बच्ने पैदल यात्री ?

- बाटो काट्दा जेब्राक्रसिङ प्रयोग।

- फुटपाथ भएको सडकमा सधैं फुटपाथबाट हिँड्ने बानी।

- रातो बत्तीमा बाटो नकाट्ने।

- नजिकै आएको सवारीसाधनले बाटो पार गरेपछि मात्रै बाटो काट्ने।

- रोकिराखेको ठूलो सवारीको अगाडिपछाडिबाट बाटो नकाट्ने।

- हतार गरेर बाटो नकाट्ने।

स्रोत : महानगरीय ट्राफिक प्रहरी महाशाखा

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment