Wednesday, June 18, 2014

वामदेवले क्याबिनेट बसाउन नपाउने

कार्यवाहक प्रधानमन्त्री वामदेवले क्याबिनेट बसाउन नपाउने

काठमाडौं : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री सुशील कोइराला स्वदेश नफर्केसम्म मन्त्रिपरिषद् बैठक राख्न नपाउने भएका छन्।

कार्यवाहक प्रधानमन्त्रीले मन्त्रिपरिषद्को माइन्युटमा हस्ताक्षर गरेर निर्णय गर्न पाउने अधिकार र प्रचलन छैन।'अहिलेसम्मको प्रचलनमा प्रधानमन्त्री बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्री पाएकाले मन्त्रिपरिषद्को बैठक राख्ने गरेका छैनन्', मुख्यसचिव लीलामणि पौडेलले भने। प्रधानमन्त्री कोइरालाले उपचारका लागि आफू अमेरिका जाँदा वरिष्ठ उपप्रधानमन्त्रीको हैसियतमा गौतमलाई कार्यवाहक प्रधानमन्त्री दिएका छन्।

कोइराला नहुँदा मन्त्रीस्तरीय निर्णय हुने भए पनि मन्त्रिपरिषद्ले गर्नुपर्ने निर्णय भने रोकिनेछन्। कुनै प्राकृतिक प्रकोप वा अन्य राष्ट्रिय विपत्तिको अवस्था आएमा भने पछि मन्त्रिपरिषद्ले निर्णय गर्नेगरी सरकारले उद्धार वा पैसा निकासा गर्न पाउने प्रशासनविद्ले बताए। 'हाम्रो प्रधानमन्त्रीय प्रणाली भएकाले कार्यवाहकले मन्त्रिपरिषद् बैठक राख्दैनन्', पूर्वमुख्यसचिव विमल कोइरालाले भने, 'तत्काल फुकाउनुपर्ने अति आवश्यक परेको खण्डमा बाहेक कार्यवाहकलाई बैठक राख्ने अधिकार हुँदैन र त्यस्तो प्रचलन पनि छैन।'

प्रधानमन्त्री कोइरालाले अमेरिका जानुअघि सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो अनुपस्थितिमा अनावश्यक नयाँ निर्णय नगर्न मन्त्रीहरूलाई निर्देशन दिएको स्रोतले बतायो। प्रधानमन्त्रीले सोमबारै जारी गरेको सन्देशमा पनि कार्यवाहक प्रधानमन्त्रीतर्फ लक्षित गरी साझेदारी संस्कारअनुसार काम गर्न आग्रह गरिएको छ। 'मेरो स्वास्थ्य उपचारमा हप्ता-दस दिन लागे पनि यसबीचमा राज्य सञ्चालनमा सरकारका साझेदार दलहरूबीचमा रही आएको उच्चस्तरको समन्वय कायम रहनेछ', सन्देशमा उल्लेख छ।

यसअघिका प्रधानमन्त्री पनि पटकपटक दुई सातासम्म लामो विदेश भ्रमणमा गएका थिए। तर अहिलेसम्म प्रधानमन्त्री बाहिर जाँदा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएकाले मन्त्रिपरिषद् बैठक डाकेको नजिर छैन। 'वेस्ट मिन्स्टरियल' प्रणालीमा मन्त्रिपरिषद्को सर्वेसर्वा प्रधानमन्त्री हुन्छ। मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव पास गर्ने वा नगर्ने अख्तियारी प्रधानमन्त्रीमा मात्रै सीमित हुन्छ।

मन्त्रिपरिषद्का सदस्य (मन्त्री) ले बैठकमा आएका प्रस्तावमा सुझाउ दिने गरे पनि अल्पमत र बहुमतका रूपमा राय दिन पाउँदैनन्। मन्त्रिपरिषद्का सबै निर्णयमा प्रधानमन्त्रीले मात्रै हस्ताक्षर गर्ने अधिकार हुन्छ।

मन्त्रीस्तरीय निर्णय हुने भए पनि मन्‍त्रीपरिषद्‌ले गर्नुपर्ने निर्णय रोकिनेछन्।
प्रधानमन्त्रीले राष्ट्रपतिलाई पठाएको पत्रमा स्वास्थ्य उपचारका लागि आफू अमेरिका जानुपर्ने भएकाले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासकीय कार्य समाल्ने गरी गौतमलाई जिम्मेवारी तोक्न सिफारिस गरेका थिए। 'म स्वास्थ्य उपचारका सिलसिलामा अमेरिका जाने भएकाले मेरो अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासकीय कार्य माननीय उपप्रधानमन्त्री वामदेव गौतमले समाल्नेगरी तोक्न अन्तरिम संविधान, २०६३ बमोजिम सिफारिस गरेको छु', प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष गरेको सिफारिसमा उल्लेख छ। प्रधानमन्त्रीको सिफारिसअनुसार मंगलबार राष्ट्रपति रामवरण यादवले गौतमलाई जिम्मेवारी तोकेका छन्।

प्रशासनविद्ले भने प्रधानमन्त्रीले लिखित रूपमा मन्त्रिपरिषद्को बैठक पनि बस्नेगरी अधिकार हस्तान्तरण गर्न सक्ने बताएका छन्। प्रधानमन्त्रीले आफू लामो समय उपचारका लागि अमेरिका बस्नुपर्ने भए अधिकारसमेत हस्तान्तरण गर्ने गरी लिखित रूपमै कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई कार्यवाहक प्रधानमन्त्री बनाउने सोचाइ बनाएका थिए।

गौतमलाई अधिकारसहित कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदा मन्त्रिपरिषद्को निर्णय प्रभावित हुनसक्ने अनुमान गर्दै कोइरालाले पौडेललाई उपप्रधानमन्त्री बनाउन खोजेका थिए। तर कोइराला दुई साताभित्रै फर्कने भएपछि तत्काल पौडेललाई उपप्रधानमन्त्री बनाउने तयारी स्थगित भएको हो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment