निगमले चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङमार्फत गत वैशाख १४ गते काठमाडौं भित्र्याएको ५६ सिट क्षमताको यो जहाज डेढ महिनादेखि विमानस्थलमै थन्किएको छ।
निगमले आवश्यक प्रक्रिया पूरा गर्न लाग्ने समयको अनुमान गरेर पटकपटक उडान सयम तय गरेको भए पनि पछिल्लो पटक चिनियाँ इन्जिनियरको असहयोगले उडान अनिश्चित भएको निगमले बताएको छ।
'यो जहाजको सोमबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने समय तालिका तय गरिएको थियो', निगमका प्रवक्ता रामहरि शर्माले भने, 'हामीले आवश्यक प्रक्रिया पूरा गरेर उडाउनका लागि ठिक्क पारेका थियौं तर जहाजको उडान अवस्था ठीक भएको प्रमाणित गर्ने लग बुकमा चिनियाँ इन्जिनियरले हस्ताक्षर गर्न नमानेका कारण परीक्षण उडान नै हुन सकेन।'
बेलुका सात बजेसम्म पर्खंदा पनि लग बुकमा हस्ताक्षर गर्न नमानेको ती इन्जिनियरले चीनको नागरिक उड्डयन प्राधिकरणले अनुमति नदिएसम्म हस्ताक्षर नगर्ने अडान लिएका कारण मंगलबार पनि यो जहाजको परीक्षण उडान हुन सकेन। जहाज परीक्षण उडान समयमा हुन नसकेका कारण यसको उडान फेरि अनिश्चित भएको छ।
यसअघि चीनमा दर्ता खारेज भएको पत्र (डी रजिस्ट्रेसन), नदिएका कारण नेपालमा जहाज नै दर्ता हुन नसक्नु, चीनले सम्झौताअनुसारको प्रशिक्षक पाइलट समयमा नै उपलब्ध गराउन नसक्नु तथा निगमको लागि आवश्यक सहयोग तत्काल गर्न नसक्नुले पनि डेढ महिनादेखि जहाज विमानस्थलमा नै थन्किएर बसेको निगमको भनाइ छ।
निगमले चिनियाँ जहाज निर्माता कम्पनी एभिक होल्डिङमार्फत गत वैशाख १४ गते काठमाडौं भित्र्याएको ५६ सिट क्षमताको यो जहाज डेढ महिनादेखि विमानस्थलमै थन्किएको छ।
'जहाज उडाउन पाइलट तयार थिए भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट परीक्षण उडानको अनुमतिसमेत पाइसकेका थियौं', शर्माले भने, 'तर चिनियाँ इन्जिनियरले नै अन्तिम समयमा आएर निगमलाई धोका दिए।'
जहाज निर्माता कम्पनीको पटकपटकको असहयोगका कारण निगमले भोलीका दिनमा आइपर्ने सानोतिनो समस्यामा पनि जहाज उडान असहज हुने शंका निगमले गरेको छ। निगमले तय गरेको समय तालिकाअनुसार जहाज उडान नसक्नुमा जहाज निर्माता कम्पनीको प्रमुख भूमिका रहेको बुझाइ निगमको छ।
चिनियाँ जहाजले गरेको असहयोगकै विषयमा मंगलबार निगमको कार्यसमिति बैठक बसेको थियो। यो बैठकले चिनियाँ जहाज उडानमा भएको इन्जिनियको असहयोग तथा अहिलेसम्मका गतिविधिका बारेमा पर्यटन मन्त्रालयमा जानकारी गराउने निर्णयसमेत भएको छ। पटकपटकको असहयोगका विषयमा निगमले कूटनीतिक तवरबाट नै जहाज निर्माता कम्पनीसँग कुरा गर्ने निष्कर्षमा पुगेको छ।
चीनबाट यो जहाज उडानका लागि दुईजना पाइलट, दुईजना इन्जिनियर र चारजना मेकानिक अहिले काठमाडौंमै छन्। प्राधिकरणमा एक साताअगाडि दर्ता भएको यो चिनियाँ जहाजले ९ एनएकेक्यू कलसाइन पाएको छ।
निगमले अख्यिारको निर्देशनअनुसार आगामी असार १५ सम्ममा जहाज उडान गर्ने तयारी गरेको छ। समयमा नै परीक्षण उडान हुन नसक्दा थप प्रक्रियामा बाधा पर्ने भएकोले निर्धारित समयमा उडान सुरु हुन नसक्ने आशंका बढेको निगमका प्रवक्ता शर्माले बताए।
निगमले परीक्षण उडान गर्ने प्रारम्भिक कार्य स्वरूप गत जेठ ३० गते शुक्रबार एअरक्राफ्ट सर्बे इस्पेक्सन तथा आपतकालीन यात्रु उद्धारकार्यको परीक्षणसमेत गरिसकेको छ।
निगमले यही असार २ गतेभित्रै परीक्षण उडानकार्य गरिसक्ने गरी समय तालिका बनाएको थियो। प्राधिकरणले एम ६० को भ्यालिडेसन गरी दर्तासमेत गरिसकेको अवस्थामा चिनियाँले आवश्यक सहयोगमा ढिलाइ गरेकै कारण यो जहाज समयमा नै उड्न नसकेको निगमको भनाइ छ।








0 comments:
Post a Comment