Monday, June 23, 2014

पोर्चुगलको आशा कायमै

मानाउस : सिल्भेस्ट्रे भारेलाले खेल सकिनु भन्दा ३० सकेन्ड बाँकी छँदा गरेको गोलको सहयोगले पोर्चुगलले अमेरिका विरुद्धको खेललाई २-२ गोलको बराबरीमा टुंगाएको छ। बराबरीसँगै समूह 'जी'बाट अघिल्लो चरणमा पुग्ने आशालाई पोर्चुगलले कायमै राखेको छ।

इन्जुरी समय सम्म आइपुग्दा अमेरिका २-१को जितका साथ अघिल्लो चरणमा पुग्ने अवस्थामा थियो। तर थपिएको इन्जुरी समयको अन्तिम ३० सेकेन्ड बाँकी रहदा पोर्चुगलका भारेलाले गोल फर्काएपछि पोर्चुगल विश्वकपमा रहीरहद सफल भयो।

खेलको पाँचौं मिनेटमा नानीको गोलमा पोर्चुगलले सुरुआती अग्रता लिएको थियो। पहिलो हाफमा पोर्चुगल १-०ले अघि रहेको थियो। तर दोस्रो हाफमा अमेरिकाले दुई गोल फर्कायो। अमेरिकाका जेरेमी जोन्सले ६४औं मिनेटमा गोल गर्दै खेललाई १-१को अवस्थामा ल्याए।

लगातार तीन वटा विश्वकपमा गोल गर्ने पहिलो अमेरिकी खेलाडी बनेका क्लिन्ट डेम्पसीले ८१औं मिनेटमा गोल गरेपछि अमेरिकाको अग्रता २-१ गोल भएको थियो। भारेलाले गोल गर्दै इन्जुरी समयमा पोर्चुगललाई २-२को बराबरीमा ल्याउँदै महत्त्वपूर्ण एक अंक दिलाए।

 फिफा वर्ष खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले खेलमा कुनै कमाल देखाउन सकेनन्। अघिल्लो सिजनमा रियल म्याड्रिडका लागि ३१ गोल गरेका रोनाल्डो घुडाको समस्याबाट पिडित छन्।

समूह जीमा शिर्ष स्थानमा रहेको जर्मनीको चार अंक छ। समान दुई खेल खेलेको अमेरिकको पनि चार अंक नै भएको छ। पोर्चुगल र घानाको भने १/१ अंक छ। -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment