Friday, June 13, 2014

किन बढ्दैछ अपराधिक मानसिकता

देशभरि नै किन बढ्दैछ अपराध? किन बढ्दैछ अपराधिक मानसिकता?
दृष्य १: नदिपुर, पोखरा। बेलुका ६.४५ बजे। बाटोभरि ५/६ जनाको समूह बसिरहेका हुन्छन्। पछाडिबाट मोटरबाइक आउँछ, हर्न बजाउँछ, तर बाटो छाडिँदैन। बाइकवाला भन्छ, ‘ए भाइ, बाटो छोड न।’, ग्याङबाट आवाज आउँछ— ‘ए हाम्लाई बाटो छोड् भन्ने तैँ होइनस् ..?’ बाइकको पछाडि बसेको एक युवकले अनाहकमा एक मुक्का खान्छन्।

दृष्य २: पोखराको नयाँबजार। एक रेष्टुरेन्टअगाडि दिउँसो २ बजे। दिन दहाडै एक युवकले हातमा नाङ्गो खुकुरी लिएर व्यस्त सडकमा एक अर्को युवकलाई प्रहार गर्न दौडिरहेको थियो।

दृष्य नं. ३: एक जग्गाधनीले जग्गाबेचेको केही दिनमा मोबाइलमा फोन आउँछ। तेरो जग्गा मैले गर्दा बिकेको हो ५ लाख दिने भए दे नत्र..... हामीलाई पैसा छुट्याउनु पर्छ भन्ने थाहा छैन।

दृष्य ४: पोखरा उपमहानगरपालिका भवनअगाडि एक भारतीय मूलका व्यापारी ठेलामा बदाम लिएर हिँडिरहेका थिए। ३÷४ जना समूहका केटाहरूले ठेला रोक्छन्। हातभरि बदाम लिएर लात्तीले ठेला हान्दै भन्छन्, ‘आगे चल’ व्यापारी लुरूलुरू बाटो लाग्छ।

यी सारा दृश्य कुनै एक्सन फिल्मका नभई दिनहुँजसो हुने र बाटो हिँड्दा हामीले प्रत्यक्ष देखेका घटना हुन्। यीबाहेक हत्या, बलात्कार, चोरी डकैती, दुव्यर्सनी, अपहरण लगायतका विभिन्न घटनाहरु पनि हामीले दिनहुँ जसो देख्ने, सुन्ने, पढ्ने गरेका छाैँ। बाटो हिँड्दा देखिने यस्ता घटनालाई साँच्चै हामीले सामान्य रुपमा लिन्छौँ।

समाजमा यसरी अपराधहरू बढिरहेका छन् कि, अति सामान्य भन्दा सामान्य घटनाबाट यसको विजारोपण भएर अन्ततः भयंकर रूप लिएर यही समाजमा देखिन्छन्। ठेला गाडामा मुठ्ठिभरी बदाम लिनु र गाडालाई लात्ताले हान्नु सामान्य लाग्न सक्छ। तर, यो अपराधी मानसिकताको विजारोपण हो। यसैबाट बढ्दै गएको संस्कार र निर्मित मानसिकताले हातमा दिनदहाडै तरबार लिएर हिड्ने साहस पलाएको हो।

आजकाल अपराधको खबर नभएका अखबारहरू पाउनै मुस्किल परिसक्यो, जसमा पनि सामान्य घटनाहरूका लागि त ठाउँ नै पाइँदैनन्। हत्या, अपाराध, बलात्कार, चोरी डकैती र अपहरणका लगायतका ठूलाठूला घटना मात्रै छापिन्छन्।

यसले के देखाउँछ भने समाज दिनानुदिन अपराध उन्मुख भइरहेको छ। तर, यसबारेमा कसैको पनि गम्भीर ध्यान जान सकेको छैन। समाज परिवर्तनका लागि भन्दै लाखौ रूपैयाँ तारे होटलमा भाषण गरेर सकिन्छ तर अपराध उन्मुख युवाहरूलाई सही बाटोमा ल्याउने उपयुक्त माध्यमको खोजी गरिँदैन। त्यसो त समाजमा यस्ता घटनाहरु दोहोरिनुले समाज कतातर्फ मोडिइरहेको छ भन्ने संकेत गर्छ।

देशमा राजनीतिक संक्रमण बढिरहेको छ। विकासका गतिविधिहरू ठप्प छन्। वर्षेनी शिक्षित बेरोजगारहरू बढिरहेका छन्। युवा शक्तिले विदेश पलायनको बाटो बाहेकको विकल्प देख्न छाडिसके। उनीहरूमा निराशा र आक्रोश बाहेक केही देखिदैन। यी यावत कुराहरुले युवाहरुलाई सिर्जनात्मकता भन्दा बढी अपराधतिर धकेलिरहेको छ।

समाज जति विकसित हुँदै गयो, त्यति मानिसका चाहाना र आवश्यकताहरू थपिनु समाजशास्त्रीय हिसाबले सही नै हो। यद्यपि मानिसमा दुःख र मेहनतले भन्दा पनि अपराधिक गतिविधिबाट अगाडि बढ्ने मनोकांक्षा बढ्दै गएको देखिन्छ। फलस्वरूप विकाससँगै अपराधले पनि आधुनिक रूप लिन थालेको छ।

विज्ञानले भित्र्याएको प्रविधिको दुरूपयोग गर्दै हत्या, अपहरण गर्ने र करोडौ फिरौती लिने एउटा कुसंस्कारकै विकास हुन पुगेको छ।

पृथ्वी नारायण क्याम्पस समाजशास्त्र मानवशास्त्र तथा ग्रामीण विकास विभागीय प्रमुख शान्ति भुषालका अनुसार अहिले समाजमा एक वर्गसँग ऐश आराम र विलासी जीवनशैली छ भने अर्को वर्ग गरिबबाट अझ गरिब हुँदै गएको छ। यी दुई वर्ग बीच देखिएको असमानताले पनि अपराधलाई प्रश्रय दिइरहेको उनको तर्क छ।

मानिसको उग्र स्वभावलाई नियन्त्रण गर्ने दुई कुरा छन्, औपचारीक (कानुन) र अनौपचारिक (धार्मिक मुल्य मान्यता, नैतिक शिक्षा, संस्कारहरू)। तर, मानिस यी दुवै कुरा भन्दा आफुलाई माथि राखेर क्रियाकलाप गरिरहेको छ। आफुले आफूलाई केन्द्रविन्दुमा राखेर व्यवहार गर्दै जाँदा उसमा आपराधिक मानसिकता बढ्दै गएको छ। ‘तामसी’ प्रवृत्तिको खानपानले पनि मानिसको मानसिकता उग्र बनाइरहेको हुन्छ। मानिसमा हुने ‘इगो’ले पनि अपराधलाई प्रश्रय दिइरहेको भूषाल बताउँछिन्।

अर्को पाटो समाज अपराध उन्मुख हुनुमा कामप्रति सम्मान नहुनु पनि हो भन्छन् –बालमनोविश्लेषक धुव्रराज खनाल। उनका अनुसार समाजले पनि काम गर्ने व्यक्ति दुःखी र गरिब भनिदिने र कामको सम्मान नगरिदिँदा लुकिछिपी अपराधिक क्रियाकलापमा युवाहरू लाग्न थालेको बताउँछन्। साथै अर्को तर्फ राजनैतिक दलहरूले राजनैतिक दर्शन, सिद्धान्त, मुल्य र मान्यता विपरीत भूमिगत होस् वा खुला आफ्ना मातहतका कार्यकर्तालाई जबरजस्ती चन्दा असुल्न लगाउने र पारदर्शिता नहुने हुँदा पनि युवाहरू विस्तारै गलत मानसिकताबाट प्रेरित भइरहेका उनको बुझाइ छ। युवाहरू अपराध तिर उन्मुख हुनुमा नैतिक शिक्षाको अभाव पनि हो। सु–सभ्य समाज निर्माणका लागि ज्ञान, सिप, नैतिक मुल्य, मान्यता सहितको शिक्षा दिइनुपर्नेमा त्यो शिक्षा व्यबहारिक रूपमा नदिइनु पनि अर्को पाटो हो। देशको फितलो कानुन र राजनीतिक संरक्षणको आडमा देशका होनहार युवाशक्ति अपराधिक क्रियाकलापबाट अघि बढिरहेका छन्। यसले देशको आर्थिक सामाजिक तथा बौद्धिक विकासको लागी एउटा प्रश्न खडा गरिदिएको खनालको तर्क छ।

साँच्चै अहिले व्यक्ति र वर्गको स्वरूप समेत बदलिएको छ। पहिला–पहिला हुने चोरी डकैती तथा पारिवारिक कलह लगायतका अपराधमा अशिक्षित, निम्न वर्गका श्रमिकहरू देखिन्थे भने अहिले शिक्षित, उच्च धनी वर्ग, राजनैतिक तथा बौद्धिक समुदायका मानिसहरू समेत अपराधमा संलग्न हुन थालेको पाइन्छ । समाज जसरी विकसित हुँदै गइरहेको छ, त्यसरी नै अपराधका घटनाहरू पनि विभिन्न माध्यमबाट बढिरहेका छन्। आज मोबाइल फोन, सामाजिक संजालहरू लगायतका विभिन्न माध्यमहरूको प्रयोग गर्दै अपराध गर्नेहरूको सांगठनिक संजाल समेत तयार भइरहेको छ। धाकधम्की, त्रासले रातारात मालामाल हुने दुसपना बोकेर कतिपय शिक्षित व्यक्तिहरू समेत अपराधमा संलग्न हुन थालेको देखिन्छ। त्यसो त कानुनी ज्ञानको अभाव, साथी संगतिको प्रभाव र अपराधीलाई कानुनी कठघरामा ल्याउन नसकिनुले पनि अपराधिक मनोवृत्ति बढ्दै गैरहेको हो कि भन्न सकिन्छ।

सामाजिक संजालको दुरुपयोग गर्दै अपराधले आधुनिक रूप धारण गरिरहेको छ। अपराधलाई प्रमुख बनाई क्षणिक मनोरञ्जनका लागि देखाइने कतिपय टि.भी च्यानल र फिल्मी दृष्यले प्रत्यक्ष रूपमा युवा बर्गलाई अपराध उन्मुख बनाउन प्रेरित गरिरहेको छ। अहिले नेपालमा सांगठनिक रूपमै अपराधिक समूहको विस्तार हुने र अन्तर्राष्ट्रिय अपराधिक संजालसँग जोडिने क्रम बढिरहेको छ। यसको उदाहरण जमिम शाह हत्याकाण्ड, मजिद मिनहार हत्याकाण्ड, शौकत बेग हत्याकाण्ड र कारागारमा रहेका अभियुक्त युनिस अन्सारि माथिको गोली प्रहार हुन्। समाजमा यति धेरै नकारात्क गतिविधिहरू देखिइरहेका हुन्छन्, हामी कसैले चाहेर पनि प्रतिकार गर्ने हिम्मत र साहस राख्दैनौँ। किनकि यसको विरुद्धमा लाग्ने र बोल्ने मानिस समाजमा सधै असुरक्षित भैरहेको हुन्छ। अपराधका शृंखलाबद्ध घटनाले समाज र राज्यको संयन्त्रमा अपराधी प्रवृत्ति निकै मौलाइरहेको देखिन्छ।

आर्थिक, सामाजिक, राजनैतिक तथा अन्य अपराधमा समेत अहिले विशिष्ट व्यक्तिहरूको संरक्षण हुने हुँदा पनि युवाहरू कसैको डर नमानि यस्ता गतिविधि तर्फ उत्सुक हुन थालेका छन्। विशिष्ट र सामाजिक खोल ओढेर आफुलाई भलाद्मी देखाउँदै आफ्नो मातहतका युवावर्गलाई अपराधमा संलग्न गराएर आफू पानीमाथिको ओभानो बनिरहेका छन्। समाजलाई अपराध मुक्त, विकसित र सु–सभ्य बनाई अगाडि बढाउने हो भने समाजमा हुने हरेक कुरालाई नियालेर अपराधलाई निरुत्साहित गर्ने संयत्र निर्माण गर्न जरुरी छ। अपराध भन्ने कुरा सामाजिक प्रक्रिया भएको र अपराध विनाको समाज नहुने हुँदा यसलाई पूर्ण निराकरण गर्न नसके पनि न्यूनिकरण गर्न सकिन्छ भन्ने तर्फ नागरीक समाज र राज्यको विशेष चासो हुनुपर्ने देखिन्छ।

Setopati बाट साभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment