June 6,नेपालगञ्ज : एक प्रहरी जवानले आफ्नै पत्नीलाई मट्टीतेल खन्याएर ज्यान लिने प्रयास गरेका छन्।
बाँके परसपुर-७ मा रक्सी पिएर टिल्ल प्रहरी जवान २५ वर्षीय मनोज वाल्मीकिले आफ्नी २२ वर्षीया पत्नी अमृता वाल्मीकिलाई मट्टीतेल खनाई आगो लगाउने प्रयास गरेका हुन्। बाँकेको कारकाँदोस्थित औद्योगिक गणमा कार्यरत छन्। अमृताका ८ वर्षीय छोरा र ७ महिनाकी छोरी छन्।
आमा काम गर्न बजार गएको र भाइबहिनी घरमै रहेका बेला मदिरा पिएर पत्नीलाई कोठाभित्र पिट्दै लगी मट्टीतेल खनाई जलाउने प्रयास गरेका थिए।
बचाउन खोज्ने भाइबहिनीलाई पनि मनोजले पिटेर कोठा बाहिर निकालेका थिए। भाइबहिनीले हल्ला गरेपछि गाउँलेहरू आएर अमृतालाई बचाएका थिए।
अमृतालाई बेहोस अवस्थामा छिमेकीको सहयोगमा महिला अधिकार मञ्च र नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र तथा महिला मानवअधिकार रक्षक संजालको पहलमा उद्धार गरी प्रहरीको जिम्मा दिइएको अधिकारकर्मी रुवी खानले जानकारी दिइन्।
अमृताको अहिले भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ। अमृताले झगडा भइरहने गरेको बताइन्। 'मदिरा पिएर आएपछि सधैं झगडा हुन्थ्यो', अमृताले होस खुलेपछि भनिन्।
वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक रामबहादुर केसीले अरोपित प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए।
पछिल्लो दिनमा बाँकेमा आगो लगाएर हत्या गर्ने प्रयास बढिरहेको छ। केही समयअघि २३ वर्षीय सद्दाम अलि सल्मानीले भाउजू २२ वर्षीया चाँदनी बानू सल्मानी, भतिजी ५ वर्षीया छोरी मोरिहिन, भतिजाहरू, १० महिनाका छोरा रिहान र ३ वर्षका छोरा रिहाजनलाई आगो लगाएर जलाएका थिए।
यो घटनामा ३ वर्षीय छोरा रिहाजनको मृत्यु भएको थियो। तीनजनाको काठमाडौंमा उपचार भइरहेका छ।
गत चैत ३ गते बाँके लक्ष्मणपुर गाविस-८ की २२ वर्षीया गर्भवती रिहाना बानूलाई पति फरिद शेषले दाइजो नल्याएको भन्दै मट्टीतेल छर्केर आगो लगाई मार्ने प्रयास गरेका थिए।
उनको पनि काठमाडौंमा उपचार भइरहेको छ। २०६४ सालमा नेपालगन्जकी हास्रुन इद्रिसीलाई पनि पति र सासूससुराले मिलेर आगो लगाई हत्या प्रयास गरेका थिए। दुवै घटनाका आरोपीलाई प्रहरी अनुसन्धानका लागि पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ।








0 comments:
Post a Comment