Wednesday, June 25, 2014

खेलाडी टोक्ने खेलाडी

असार ११ – लुइस सुआरेजले हिंस्रक ब्यबहारका कारण उरुग्वेका समर्थकलाई गु्रप अफ डेथबाट अन्तिम १६ मा छानिंदाको खुशीलाई नै ओझेल पारिदिएको छ ।

मंगलबार रातीको खेलमा इटालीका जर्जियो चिलिनीलाई जानाजान टोकेपछि सुआरेज घृृणा र आक्रोशको तारो बनेका छन् । सामाजिक सञ्जालहरु उनलाई मानिसको मासु खाइरहेको राक्षसका रुपमा चित्रित गरिएको छ ।
आफ्नो उदण्डतालाई मैदानमा रेफ्रीको अनुकम्पाका कारण केहीबेर ढाकछोप गर्न सकेपनि सुआरेज फिफाको कडा कारबाहीबाट नबच्ने पक्कापक्की जस्तै छ । बरु उनलाई कडा कारबाही हुनुपर्ने माग जोडतोडका साथ उठ्न थालेको छ । उनका लागि थप पीडाको समाचार पनि आउने सम्भावना देखिएको छ । किनकी उनको अक्षम्य ब्यबहारका कारण उनी आवद्ध क्लव लिभरपुल पनि वाक्कदिक्क भइसकेको छ ।

फिफाले यसबारे छानबिन थालिहाल्ने बताएको छ भने लिभरपुलले पनि यसबारे बुधबार नै उच्चस्तरीय छलफल गर्दैछ ।
उनलाई २४ खेल वा २ बर्षसम्मको कारबाही हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले अनुमान गरेका छन् । औपचारिक रुपमा म्याच रिपोर्ट आएपछि खेलका आवश्यक फुटेज समेत लिएर छानबिन थालिने फिफाका प्रवक्ताले बताएका छन् । लिभरपुलले क्लवमा यी २६ बर्षे आफ्ना मुख्य स्ट्राइकरको उपस्थितिबारे बुधबार गम्भीर छलफल गर्नेभएको छ । क्लब अधिकारीहरुले टीम म्यानेजर ब्रोडन रोडग्रेससंग छलफल गर्ने तय गरिसकेका छन्
पछिल्लो समय प्रदर्शनमा थप निखार ल्याएपछि लुइस सुआरेजको छवि विस्तारै सुध्रिदै थियो । उनको नकारात्क चरित्रलाई मानिसले भुल्दै गएका थिए । विश्वकप फुटवलको समुह चरणमा इग्ल्याण्डविरुद्धको खेलमा एक्लै २ गोल गर्दै उरुग्वेलाई जिताएकाले उनी झन हिरो बनेका थिए । तर इटालीबिरुद्धको खेलमा फेरि नियन्त्रणबाहिर गएपछि उनलाई धारेहात लगाएर गाली गर्नेहरु मात्र बढेनन् उनको फुटवल करियर मै प्रश्नचिन्ह तेर्सिएको छ । चिलिनीको कुममा दाँत गाडिने गरी टोकेपनि रेफ्रीको कृपा पाएर मैदानमा कारबाही भोग्न नपरेका सुआरेजले एकैसाथ राष्ट्रिय र क्लवको जर्सी फुकाल्नुपर्ने अबस्था पनि आउन सक्ने देखिएको छ ।
यसअघि पनि त्यस्तै
स्वारेजले पहिलो पल्ट यस्तो चरित्र देखाएका होइनन् । उनी मैदानमै विपक्षी खेलाडीलाई टोकेका कारण २ पटक प्रतिवन्धमा परिसकेका छन् । चेल्सीका ब्रानिस्लाभ इब्रानोभिकलाई मैदानमै टोकेका कारण १० खेलको प्रतिबन्ध झेलेका थिए । त्यस्तै पीएसभी इण्डोभेनका ओटमान बाकललाई टोकेका कारण ७ खेल खेल्न पाएका थिएनन् । पटक पटक पाएको मौका  पाउँदा पनि नसुध्रिएपछि अब उनलाई जतिसक्दो ठुलो कारबाही गर्नुपर्ने माग बढ्दै गएको छ ।
अघिल्लो विश्वकपमा घानाले प्रहार गरेको बललाई हातले रोक्दा केहीले जे भएपनि देशको संकटमोचन गरेको भन्दै उनको पक्षमा बोलिदिनेहरु पनि थिए । तर यसपटकको हिंस्रक ब्यहारको समर्थन शायद कसैले गर्ने छैनन् । मानिसले मैदानका केही गोल गरेको भन्दैमा खेलाडीका रद्दी ब्यवहार र चरित्र कसरि भुल्न सक्छन् र ?

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment