क्वार्टरफाइनल खेलका क्रममा जुनिगाको घुँडाले ढाडमा लागेपछि नेमारको मेरुदण्डको एउटा हड्डी भाँचिएको चिकित्सकले बताएका छन्। यसै कारण केही साता मैदानबाहिर बस्नुपर्ने भएपछि नेमारले जारी विश्वकप खेल्न नसक्ने भएका हुन्। 'विश्वकप फाइनल खेल्ने मेरो सपना जुनिगाले खोसे', ब्राजिल फुटबल संघले जारी गरेको भिडियो सन्देशमा नेमारले समर्थकलाई सम्बोधन गर्दै भनेका छन्। घाइते भएपछि नेमारले पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका हुन्।
सर्वाधिक पाँचपटकको विश्वविजेता ब्राजिल जारी प्रतियोगितामा नेमारकै प्रयासमा सेमिफाइनलसम्म आइपुगेको छ। १२ वर्षदेखि विश्वकपको उपाधि जित्न नसकेकाले पनि नेमारमाथि ब्राजिलको बढी भरोसा थियो। तर नेमारले आफू खेलबाट बाहिरिए पनि आफ्नो टोली विश्वविजेता बन्ने ठोकुवा गरेका छन्। 'म विश्वकपबाट बाहिरिए पनि टोलीलाई उपाधि जिताउने मेरो सपना पूरा हुनेछ। हामी अब विश्वविजेता बन्नबाट केवल दुई खेल टाढा छौं', नेमारले भनेका छन्।
नेमारले ब्राजिलियन टोलीका हरेक खेलाडी उत्तिकै क्षमतावान् रहेको दाबी पनि गरेका छन्। 'ब्राजिलियन टोलीका हरेक खेलाडी क्षमतावान् छन्। उनीहरूलाई मेरो साथ छ', निकै भावुक रूपमा प्रस्तुत भएका नेमारले भनेका छन्। नेमार साओ पाउलोस्थित गोरायुमा रहेको घरमा फर्किसकेका छन्। उनलाई ब्राजिलियन टोलीले भावनात्मक बिदाइ गरेको थियो। अस्पतालबाट उनलाई हेलिकोप्टरमा ब्राजिलियन टोली बसेको स्थानमा लगिएको थियो। त्यसपछि टोलीका साथीसँग बिदा भएर उनी साओ पाउलो प्रस्थान गरेका थिए।
भिडियोमा नेमार निराश देखिएका छन्। बोल्नेक्रममा उनले बेलाबेला जबरजस्ती आँसु रोक्न खोजेको देखिन्छ।
नेमारले आफू समालिनै नसक्ने स्थितिमा रहेको पनि बताए। 'टोलीका मेरा साथी, प्रशिक्षक र समर्थकहरू, अहिले म निकै अप्ठेरो परिस्थितिमा छु। मेरो मन र मस्तिष्कमा यतिबेला के कुरा खेलिरहेको छ, त्यसलाई शब्दमा व्यक्त गर्न सक्दिनँ', नेमारले भनेका छन्। नेमारले जारी प्रतियोगितामा चार गोल गरेका थिए। ब्राजिलले सेमिफाइनलमा अब तीनपटकको विजेता जर्मनीसँग खेल्दैछ।
नेमारको चोटमा रमाए अर्जेन्टिनी
विश्व फुटबलमा अर्जेन्टिना र ब्राजिल एकअर्काका चिर प्रतिद्वन्द्वी हुन्। एकले अर्काको प्रगति देखिसहँदैनन्। यी दुवै टोलीका समर्थकसमेत चाँडोभन्दा चाँडो आफ्नो प्रतिद्वन्द्वी प्रतियोगिताबाट बाहिरियोस् भन्ने कामना पनि गर्छन्।
ब्राजिलका स्टार स्ट्राइकर नेमार घाइते भएर विश्वकपका बाँकी खेलमा खेल्न नसक्ने भएपछि अर्जेन्टिनाका समर्थकले अचम्मको व्यवहार देखाएका छन्। नेमारले खेल्न नसक्ने भएको खबर बाहिर आएलगत्तै अर्जेन्टिनी समर्थकले मेरुदण्डको आकृति भएका सामान उचालेर खुसियाली मनाएका छन्। नेमार मेरुदण्डको हड्डी भाँचिएपछि खेल्न नसक्ने स्थितिमा पुगेका हुन्। नेमार विश्वकपका बाँकी खेलबाट बाहिरिएपछि अर्जेन्टिनी समर्थकले विभिन्न सामाजिक सञ्जालमार्फत पनि खुसी व्यक्त गरेका छन्।
नेमारको चोटप्रति अर्जेन्टिनाका कप्तान लियोनल मेसी र प्रशिक्षक अलेजान्द्रो साबेलाले भने दु:ख व्यक्त गरेका छन्। ब्राजिलका राष्ट्रपति, विभिन्न देशका वर्तमान तथा पूर्वखेलाडीले पनि उनीप्रति सहानुभूति व्यक्त गरिसकेका छन्। आफ्नो प्रहारले नेमार घाइते भएपछि जुनिगाले भने उनीसँग माफी मागेका छन्। जुनिगाले नेमारलाई जानीजानी घाइते बनाएका हुन् कि होइनन् भनेर फिफाले अहिले अनुसन्धान गरिरहेको छ। -एजेन्सी








0 comments:
Post a Comment