Wednesday, May 23, 2012

माथिल्लो तामाकोसी आयोजना ३० प्रतिशत सकियो I

दोलखा, जेठ १०,

निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ३० प्रतिशत काम सकिएको छ । दोलखाको लामावगर गाविसमा निर्माण हुन लागेको राष्ट्रिय प्राथमिकताको माथिल्लो तामाकोसी आयोजनाको हालसम्म आयोजना स्थलसम्मको पहुँचमार्ग, विद्युत्गृह र ट्रान्सफर्मर पुग्ने मुख्य सुरुङ्ग निर्माण भइसकेको छ ।

आयोजनाको सिभिल संरचना अन्तर्गत सबै किसिमका १७ किलोमिटर सुरुङ्ग मध्य मुख्य सुरुङ्गसहित अहिलेसम्म २ हजार ५ सय मिटर सुरुङ्ग निर्माण पुरा भएको आयोजना निमार्णका उप प्रवन्धक विष्णुबहादुर थापाले जानकारी दिनुभयो । आयोजनाको विभिन्न ६ स्थानमा हाल दैनिक २२ मिटर सुरुङ्गको काम भैरहेको छ । आयोजनाको बाँध निर्माणको काम पनि तीब्र गतिमा भैरहेको छ ।

आयोजनाको कामको जिम्मा पाएको चिनियाँ कम्पनी सिनोहाईड्रोले तिब्रगतिमा काम अघि बढाए पनि डिजेल, विस्फोटक पदार्थ, सिमेन्टलगायतका सामाग्री आवश्यक मात्रामा हुन नसकेका कारण आयोजनाको काम प्रभावित हुँदै आएको छ । कुल ३५ अर्ब २९ करोड लागतमा २०७१ सालमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको माथिल्लो तामाकोसी आयोजनामा हालसम्म ६ अर्ब रकम खर्च भैसकेको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment