दाहालले आफू घेराबन्दीमा पर्नुको कारण राष्ट्रिय स्वाधीनताका विषयमा लिएको अडान, पार्टीमा नेता बाबुराम भट्टराईसँग भएको अन्तरकलह, उच्चस्तरीय राजनीतिक समितिको नेतृत्व एमाओवादीलाई दिने पूर्वसहमतिबाट कांग्रेस-एमाले पछाडि हटेको, लडाकु शिविरमा भएको अनियमितता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देखाएको अग्रसरता र द्वन्द्वकालीन मुद्दा ब्युँताउन अगाडि बढाइएका गतिविधिप्रति लक्षित गरे।
'अन्तरमनले गम्भीर भएर राष्ट्रिय स्वाधीनतामा अडान कायम राखेर दस्ताबेज लेखेपछि सम्पूर्ण रूपले घेराबन्दी भएको छ। त्यसलाई तपाईंहरूले बुझ्नुहोला', पार्टीको ताम्सालिङ राज्य समितिका अगुवा कार्यकर्तालाई सोमबार ललितपुरको खन्ना गार्मेन्टमा प्रशिक्षण दिँदै दाहालले भनेका थिए।
उनले नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिस्ट केन्द्रका महासचिव मणि थापासहित आफ्नो पार्टीबाट बाहिरिएका नेतासँग भएको छलफल सकारात्मक दिशामा अगाडि बढेको जानकारी पनि गराएका थिए। 'माओवादी दर्शन बोक्ने राजनीतिक दलहरूबीच एक साताभित्रै मोर्चा बन्ने प्रक्रिया अगाडि बढ्छ, त्यसले एकताको ढोका खुल्छ, एकता पनि अब छिट्टै हुन्छ', दाहाललाई उद्धित गर्दै एक सहभागीले भने।
एमाओवादीले पहिचानसहितको संघीयताका पक्षधर संविधानसभाभित्र रहेका दलसँग पनि मोर्चा बनाएर अगाडि बढ्ने नीति बनाएको छ। ती दलसँगको छलफल पनि सकारात्मक रहेको उनले जानकारी गराए।
नेता भट्टराईलाई लक्षित गर्दै दाहालले केन्द्रीय सदस्यलाई पोलिटब्युरो सदस्यले पाउने जिम्मेवारी दिन नसकिने पनि प्रस्ट पारे।
'तपाईंहरूलाई पोलिटब्युरोमा बस्न नैतिक रूपमा जति अप्ठ्यारो भएको छ, त्यसैगरी पोलिटब्युरो सदस्यलाई नदिएर केन्द्रीय सदस्यलाई पोलिटब्युरोको जिम्मेवारी दिन पार्टीलाई पनि त्यत्तिकै अप्ठ्यारो हुन्छ। त्यो दिन सकिँदैन', उनले भने।
पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीमा जिताइएका भट्टराई पक्षका नेताले आफूलाई केन्द्रीय सदस्यमा सीमित राखेर जिम्मेवारी भने माथिल्ला कमिटीको खोजिरहेका छन्। भट्टराई पक्ष निर्वाचन प्रक्रियामा सहभागी नभए पनि पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोमा जिताइएको थियो। 'तपाईंहरू पनि आफ्नो हैसियतमा आउनुस्, जिम्मेवारी लिनुस्', भट्टराई पक्षका नेताप्रति लक्षित गर्दै दाहालले भने।
दाहालले उत्पादनको निम्ति संघर्ष गर्ने योजनालाई अभियानका रूपमा अगाडि बढाउने पनि बताए। 'जसरी हामीले जनयुद्धको तयारी गरेका थियौं, त्यसैगरी उत्पादनको तयारी गर्न हामीलाई केही समय लागेको छ। उत्पादनका निम्ति बहस चलाएर जनयुद्धको तयारी जसरी नै गर्ने हो।
अब धक्का र अभियानको रूपमा उत्पादन योजनालाई अगाडि बढाइन्छ', दाहालले भने, 'म पनि अब गाउँमा आउँछु, सहरमा को बस्दा रहेछन् हेरौंला। तपाईंहरूले पनि गाउँमा आउने कार्यक्रम बनाउनुस्।'
दोलखाका एमाओवादी नेता शंकर लामाले भट्टराईलाई कोदो र तोरीसँग तुलना गरेका थिए। 'बाबुराम कमरेड कोदो र तोरी जस्तै, देख्दा उस्तै पिस्दा र पेल्दा न पिठो बन्ने न तेल आउने जस्तो हुनुभयो', उनले भने। भट्टराईले भने आफूप्रति पूर्वाग्रही नबन्न र गुटगत मानसिकता भत्काउन कार्यकर्तालाई आग्रह गरेका थिए। कार्यकर्ताबाट 'रिपोर्टिङ' लिएलगत्तै प्रशिक्षण दिएर भट्टराई बाहिरिएका थिए भने त्यसपछि नेता नारायणकाजी श्रेष्ठ र अन्त्यमा दाहालले प्रशिक्षण दिएका थिए।








0 comments:
Post a Comment