Tuesday, June 10, 2014

बाटोमै चोर्ने गिरोह पक्राउ

नेपाल भित्र्याइएको पेट्रोलियम पदार्थ डिपोमा नपुर्‍याई बीच बाटोमै चोर्ने गिरोह पक्राउ परेको छ। रक्सौलबाट काठमाडौं ल्याउनुपर्ने डिजेल बाटोमै चोर्ने-चोराउने गिरोहलाई प्रहरीले सोमबार अपराह्न बाराबाट पक्राउ गरेको हो।
यसअघि रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डिपो भलबारी पुर्‍याउनुपर्ने पेट्रोलियम पदार्थ बीचैमा सिल तोडेर चोर्ने एक गिरोहलाई प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले पक्राउ गरेको थियो। सो घटनामा नेपाल आयल निगमकै उच्च कर्मचारीको संलग्नता देखिएपछि उनीहरू निलम्बनमा परेका छन्। क्षेत्रीय डिपो भलबारीको घटना सेलाउन नपाउँदै बारामा पनि बीच बाटोबाटै डिजेल चोर्ने पक्राउ परेका हुन्। भारतको रक्सौलबाट डिजेल लिएर काठमाडौं आउँदै गरेको ना २ ख ४५४९ नम्बरको ट्यांकर बारा रामपुर टोकनी ३ का रथिक अन्सारीको घर कम्पाउन्डमा राखेर तेल चोरी भएको हो। अन्सारीको घरको कम्पाउन्डमा तेल खन्याउँदै गर्दा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घरधनी अन्सारीसहित ट्यांकर चालक हेटौंडा ५ निवासी शम्भु ठकुरी र सहचालक सजन ठकुरी छन्। प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको छ।

प्रहरीका अनुसार अन्सारीले विगतदेखि नै डिपोमा नपु:याई तेल चोरेर बिक्री गर्दै आएका थिए। प्रहरीले अन्सारीको घरबाट ड्रम, ग्यालिन, पाइपलगायतका सामग्री र तेल बरामद गरेको छ। अन्सारीले ट्यांकरको सिल नतोडी बिर्कोबाट पाइप छिराएर तेल झिकेका थिए। प्रहरीले चोरी भएको तेलको परिमाणबारे अनुसन्धान भइरहेको जनाएको छ। अन्सारीले आफ्नै घरबाट तेल बेच्ने गरेको बयान दिएका छन्। मध्यमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्रबाहिनी पथलैयाको संयुक्त प्रयासमा उनीहरू पक्राउ परेका हुन्। घटनास्थलमा प्रहरी पुग्दा अन्सारी र उनका सहयोगीहरू धमाधम ड्रममा तेल भरिरहेका थिए।

मध्यक्षेत्रीय प्रहरी प्रमुख डीआईजी प्रकाश अर्यालले भने, 'यो हाम्रो संयुक्त अप्रेसन हो। लामो समयदेखि पेट्रोलियम पदार्थमा भएको बदमासी नियन्त्रणका लागि गरिएको प्रयास हो।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment