Wednesday, June 11, 2014

नया पार्टी खोल्‍न बालक अपहरण

 नयाँ भूमिगत पार्टी खोल्न चाहिने पैसा जुटाउन तराईमधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय नेता तथा संविधानसभा चुनाउमा रौतहट-३ बाट पराजित उम्मेदवार भाग्यनारायण बैठाले अढाइ वर्षीय बालक अपहरण गराएका छन्।

धनीका छोराछोरी अपहरण गरेर पैसा असुल्ने अनि भूमिगत पार्टी खोलेर हिंसात्मक गतिविधि गर्ने योजनाअनुसार यही जेठ १४ गते भक्तपुरबाट अढाइ वर्षीय बिट्टु चौधरीको अपहरण गरेको पत्ता लगाएपछि प्रहरीले भाग्यनारायणसहित चारजनालाई पक्राउ गरेको छ।

सूर्यविनायकबाट बिट्टुलाई अपहरण गरी भारत लगेर परिवारसँग डेढ करोड रुपैयाँ फिरौती मागिएको थियो। प्रहरीले फिरौती माग्ने अमलदेव ठाकुर र दिनेश सिंहलाई भारत विहारबाट तथा भाग्यनारायण र मनोजकुमार बैठालाई राजधानीबाट पक्राउ गरेको हो।

अपहरण गरी फिरौती मागेको पैसा जम्मा गरेर दल खोल्ने जिम्मा भाग्यनारायण र अमलदेवले लिएका थिए। अपहरणकारीमध्येका राजु यादवले बालकलाई अपहरण गर्न डेढ महिनासम्म उनका बुबा राकेश चौधरीको कबाडी संकलन केन्द्रमा काम गरेका थिए। अमलदेव र दिनेशलाई मंगलबार बारामा सार्वजनिक गरी प्रहरीले उक्त घटना बाहिर ल्याएको हो।

प्रहरीका अनुसार गत वर्ष वैशाखमा रौतहट देवाही करुणियाका भाग्यनारायण बैठा, बारा बेनौलीका अमलदेव, रौतहट सरमुजुवाका मनोजकुमार र भारत विहार घोडासन भेलवाका दिनेश सिंहबीच राजनीतिक दल खोल्ने र बम विस्फोट गराउने सल्लाह भएको थियो।

योजनाअनुसार बम विस्फोट गराएपछि त्यसको जिम्मा 'डन नेपाल' ले लिने सम्झौता भएको थियो। आपराधिक संगठन सञ्चालनका लागि दुईचारवटा ठूला अपहरण गर्ने योजनासमेत बन्यो। सोहीअनुसार भाग्यनारायणले टेकुमा कपडा व्यापार गर्ने व्यक्तिका छोराको अपहरण गरेपछि ठूलो रकम हात पर्ने अमलदेव र मनोजलाई बताएका थिए। तर त्यतिबेला उनीहरूले आँट नगरेपछि उक्त योजना विफल भयो।

अपहरणका लागि थप योजना बनाउन गत वर्ष चैतमा भाग्यनारायणले बारामा बस्दै आएका अमलदेवलाई काठमाडौं बोलाए। त्यतिबेला उनले अमलदेवलाई भनेका थिए, 'हामीले एउटा काम खोजेका छौं, धेरै पैसा आउँछ, काठमाडौंमा हामी व्यवस्था गर्छौ, यहाँबाट लैजाने र भारतमा राख्न व्यवस्था तैंले गर्।'

अमलदेवले मनोजलाई यसबारे सोधेपछि कबाडी व्यवसायी राकेशका छोरा बिट्टुलाई अपहरण गर्ने योजना बन्यो। त्यसपछि दिनेश र अमलदेवले भारत मोतीहारीका राजुलाई बिट्टुको अपहरण गर्न राकेशको 'न्यु मुस्कान सप्लायर्स' मा काम गर्न पठाउने सल्लाह भयो।

जेठ १२ गते राजुले अमलदेवलाई अपहरणको सबै योजना पूरा भएको खबर दिएर काठमाडौं बोलाएका थिए। अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख ईश्वरबाबु कार्कीका अनुसार राजुले खाजा खुवाउने बहानामा बिट्टुलाई पसलबाट फकाएर अमलदेवसँगै मोटरसाइकलमा राखेर कलंकीसम्म पु:याए। त्यसपछि बालकलाई पथलैयासम्म पुर्‍याउन उनीहरूले अर्की एक महिलालाई समेत प्रयोग गरे। पथलैयाबाट ट्रकमा हालेर बालकलाई वीरगन्ज पुर्‍याइयो। त्यहाँबाट टेम्पोमा राखी उनलाई रक्सौल पुर्‍याएर भारतीय सहयोगी दिनेशलाई जिम्मा लगाइयो। उनीहरूले दिनेशलाई चार लाख भारतीय रुपैयाँ दिने आश्वासन दिएका थिए।

नयाँ ठाउँमा चिनेका आफन्त कोही नभएकाले बालक रुन थाल्दा दुईजना भारतीय महिलाले फकाएको प्रहरीले जनाएको छ। जेठ १६ गते काठमाडौं फर्किएका अमलदेवले अर्को दिन राकेशलाई फोन गरी डेढ करोड रुपैयाँ फिरौती मागेपछि घटना प्रहरीसमक्ष पुगेको थियो। त्यसअघि राकेशले छोरा हराएको आशंकामा खोजी गरिरहेका थिए।

महानगरीय प्रहरी अपराध महाशाखाले फोन नम्बरका आधारमा भाग्यनारायण र मनोजकुमारलाई पक्राउ गर्‍यो। 'बिट्टु अपहरण गर्ने योजना बनाउने पहिलो बैठक भाग्यनारायणको गुर्जुधारास्थित कोठामा भएको थियो। बैठकमा भाग्यनारायण, अमलदेव र मनोजकुमार थिए', महाशाखाकी डीएसपी मीरा चौधरीले भनिन्।

मीराका अनुसार अपहरणका मुख्य योजनाकार भाग्यनारायण र अमलदेव हुन्। उनीहरूकै बयानका आधारमा बिट्टुलाई अपहरण गरी भारत पुर्‍याएको रहस्य खुलेपछि प्रहरी भारतसम्म पुगेको थियो। उनीहरूकै बयानका आधारमा प्रहरीले बिट्टुलाई सिकारगंज थानाअन्तर्गत रूपहरीबाट उद्धार गरेको हो। राजु भने पक्राउ परेका छैनन्।

मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय बारा परिसरमा खेल्दै गरेका छोरा बिट्टुलाई अँगालो हाल्न पाउँदा बुबा राकेश चौधरीका आँखा रसाएका थिए। उनले भने, 'मेरो छोराको उद्धारमा सहयोग पुर्‍याउने प्रहरीलाई धन्यवाद!

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment