नोबेल शान्ति पुरस्कार विजेता उनी ४० वर्षपछि नेपाल आएकी हुन्। म्यानमारको नेसनल लिग फर डेमोक्रेसीकी अध्यक्ष सुकीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजनीतिक दलका नेता, मन्त्री, नागरिक समाजका प्रतिनिधिलगायत ठूलो जनसमुदायले भव्य स्वागत गरेको थियो। उनी थाई एअरलाइन्सको विमानबाट आएकी हुन्। सरकारले सुकीको भ्रमणलाई राष्ट्रप्रमुखसरहको हैसियत दिने निर्णय गरेको छ। तर प्राविधिक कारणले उनको सम्मानमा 'गार्ड अफ अनर' भने नदिइने एक अधिकारीले बताए।सुकीलाई सरकारले दिने डिल्लीरमण अन्तर्राष्ट्रिय शान्ति पुरस्कार राष्ट्रपति रामवरण यादवले हस्तान्तरण गर्ने कार्यक्रम छ। उनी ४० वर्षअघि नेपालमा रहँदा दीक्षा लिएको काठमाडौंको नगालस्थित धर्मकीर्ति बिहारमा पनि पुग्ने कार्यक्रम छ। नेपालमा बौद्ध भिक्षुबाट दीक्षित सुकी फर्कने दिन सोमबार बिहान उक्त बिहारमा पुग्नेछिन्।
सुकीको भ्रमणलाई सरकारले उच्च महत्त्व दिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले बताए। यहाँ आयोजना हुने 'प्रजातान्त्रिक समाजवादको भविष्य' विषयक अन्तर्राष्ट्रिय सम्मेलनकी प्रमुख वक्ता सुकीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ। उक्त सम्मेलनमा सहभागी हुन एक दर्जन मुलुकका नेता नेपाल आइसकेका छन्। सम्मेलनपछि सुकीले संविधानसभाका सदस्यलाई सम्बोधन गर्ने कार्यक्रम छ। सुकीले बीपी कोइरालाले जेल जीवन बिताएको तत्कालीन सुन्दरीजल जेल (हालको बीपी संग्रहालय) पनि अवलोकन गर्ने कार्यक्रम छ।
बीपी स्मृति ट्रस्टका अध्यक्षसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणा स्वीकार गरेर बीपीको शतवार्षिकीका अवसरमा बीपी चिन्तन प्रतिष्ठानले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।








0 comments:
Post a Comment