Sunday, June 15, 2014

किन गरिन्छ वृद्धलार्इ हेला

ज्येष्ठ नागरिकको सम्मानजनक जीवन बनाउन वैदिक संस्कारलाई नै जीवनमा उतार्नुपर्छ। परिवारका ज्येष्ठ सदस्यलाई आदर गर्नु, उनको निर्देशनमा काम गर्नुको अर्थ नीतिवान् परिवार बनाउनु हो।
ज्येष्ठ नागरिकको अनुभवबाट सिकेर उनको आदर्श जीवनमा उतार्नु पनि तिनको सम्मान हो। यो जान्दाजान्दै त्यसको उल्लंघन हुँदै गएको छ। तिनको स्याहार गर्नु, जीवन सुखकर बनाइदिनु, उनले माया गरेर हुर्काएको बदलामा माया दिने कुरा कता हरायो?

राम्रा उच्च आदर्श बोकेका सामाजिक मान्यताका खम्बा यस्ता सामाजिक विचलनले गर्दा हल्लिन थालेका छन्। वैदिक संस्कारका विरुद्ध पश्चिमाको शैलीमा वृद्धाश्रम खुलिरहेका छन्। वृद्धाश्रममा बस्न चाहनेको संख्या पनि दिनानुदिन बढ्नुले पश्चिमीकरणले उग्ररूप लिँदै गएको प्रतित हुन्छ। यसरी यतिबेला नेपाली समाज पश्चिमा संस्कारको कोपभाजनमा परेको छ। छोराछोरीले बाबुआमाको त्याग बिर्सने गरेका छन्। आफूलाई बाबुआमाले मोज गर्दा जन्मेकाले उनलाई केही ऋण तिर्नुनपर्ने भन्न थालेका छन्। बाबुआमाप्रतिको कर्तव्य र दायित्वबाट पन्छिन चाहन्छन्। बूढाबूढी एक्लिएका छन्। पौरस्त्य संस्कार, सभ्यता र संस्कृति यस्तो थिएन। पितृदेवो भव, मातृदेवो भव भन्ने हो।

तिनको सेवाले स्वर्गको ढोका खुल्छ भन्ने विश्वास थियो। आज अशक्त अवस्थाका बाबुआमा पनि अपहेलित हुँदै गएका छन्। वृद्धाश्रमको संख्या बढ्दो छ। यो बाध्यताको उपज हो, वैदिक संस्कारको गिरावट हो। यसखाले विकृतिका कारण नेपाली बढी गम्भीर हुनुपर्ने अवस्था छ। गरिब र अशिक्षित परिवारमा भन्दा शिक्षित र सम्पन्न परिवारमा वृद्धको अपहेलना बढी हुनुले शिक्षा पद्धति र संस्कार सुधारतिर पनि उत्तिकै ध्यान दिनुपर्ने बेला आएको छ। आजको यो गलत दृश्यले कहालीलाग्दो भविष्य नबन्ला भन्न सकिँदैन। समाजको यो डरलाग्दो विकृति रोक्न अब राज्यले नै हात हाल्नुपर्ने देखिएको छ।

परिवर्तन नकारात्मकतिर छ। घरमा खाने बस्ने, सुत्ने, आतिथ्यताको व्यवहार गर्ने, कर्मकाण्डदेखि संस्कार र सभ्यताका सबै क्षेत्र भत्किएका छन्। त्यसलाई रुढिवादी भनिएको छ, कुनै खोज अनुसन्धान नगरीकनै। घरमा खानेकुराको नियम थियो। पहिले बालक र वृद्धले खान्थे। यी दुईले नखाई परिवारका अरू सदस्यले खाँदैनथे। पारिवारिक अनुशासन थियो। अहिले त्यो हट्यो, नित्यकर्म छैन। अनेक बहानामा वृद्धको मर्यादा मिचिएको छ। कतिपय घरमा त तिनले खाएनखाएको खोजीनीति गर्ने पनि कोही हुँदैन। वृद्धले आफैं खोजेर, मागेर हल्ला गरेर खाएनन् भने भोकै बस्ने गर्छन्। मानिस जति शिक्षित र सम्पन्न हुँदैछन् त्यति नै स्वार्थी, निर्दयी, मर्यादाहीन हुँदै गएका छन्। यो अनात्म शिक्षाको परिणाम हो।

धेरैजसो ज्येष्ठ नागरिकको हकको संरक्षणमा काम गर्ने अभियन्ताको राय कानुन नभएको भन्ने छ। भएका कानुन पनि फितलो भएको र कार्यान्वयन नभएको भन्ने छ। श्रीसम्पत्ति भएका र छोरानाति साथमै भएकाले पनि पेटभरि खान पाएका छैनन्। आनन्दको जीवन बिताउन पाएका छैनन्। तिनले सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणा, सन् १९६६ को अन्तर्राष्ट्रिय महासन्धिले दिएको आर्थिक, सांस्कृतिक, सामाजिक अधिकार खोज गर्ने गरेका छन्। नेपालका सबै संविधानले यी कुराले स्थान पाए पनि व्यवहारमा कहिल्यै उत्रेका छैनन्। त्यही बाटोबाट बूढाले सडक तताउने गरेका छन्। यसखाले सोच पनि पश्चिमाको हो, भौतिक सोचको उपज हो।

कानुनले संरक्षण दिने भनेको लौरो तेस्र्याएर लदान गर्ने कुरा हो। त्यो डरले पालना गर्ने हो। बाध्यताले स्वत:स्फुर्त सेवा भावना, ममता, प्रेम जागेर आउँदैन। ज्येष्ठप्रतिको जिम्मेवारी पूरा गर्न सकिँदैन। ज्येष्ठ नागरिकको सम्मानजनक जीवन बनाउन वैदिक संस्कारलाई नै जीवनमा उतार्नुपर्छ। त्यसका लागि नैतिक शिक्षा, वैदिक संस्कारको शिक्षा, संस्कृत वाङमयको उत्थानतिर लाग्नुपर्छ। अध्यात्म ज्ञान चाहिन्छ। पाप-पुण्यको आधार खोज्नुपर्छ। हक मात्र होइन, कर्तव्य पनि पालना गर्नुपर्छ। शिक्षाको जग नैतिक धरातलबाट खडा गरिनुपर्छ।

आजको वृद्ध पुस्ता पूर्ण प्राकृतिक (अर्गानिक) कृषि पैदावार खाएर र नैतिक आचरणबाट बालवस्था बिताएको भए पनि ती रासायनिक मल, कीटनाशक औषधिको व्यापक प्रयोग भएका वस्तु खाएर हुर्केका हुन्। त्यसमाथि राज्यले नियन्त्रण नगरेका अवस्थाका बासी, जंकफुड खाएका र खान दिएर हुर्काएको पुस्ता हो।

फलत: ती बाथ, नशारोग, मधुमेह, रक्तचाप, तनाउ आदिबाट विकसित हुने पहिलो वृद्ध पुस्ता हुन पुगेका हुन्। जस्तो- अन्न उस्तै मन, जस्तो मन उस्तै तन भन्ने कुरा किंवदन्ती मात्र होइन, यो विज्ञानमा आधारित छ। वास्तविकता के हो भने दु:खपछिको सुखले भन्दा सुखपछिको दु:खले बाँकी जीवनलाई बढी कष्टकर बनाउँछ। आजका वृद्ध पुस्ताको कन्तबिजोक उनकै गलत संस्कारको उपज हो।

छोराछोरीलाई अंग्रेजजस्तै बनाउने चाहना, खर्रर अंगे्रजी बोलेको सुन्दा मक्ख हुने बानीले आज प्राय: सबै वृद्धका छोराछोरी जापान, युरोप, अस्ट्रेलिया र अमेरिका गएर विदेशको उन्नति गराइदिने काममा संलग्न छन्। फलत: आफैंले कमाएको रोगबाट ती ग्रसित छन्। आफैंले छोराछोरीलाई दिएको संस्कारबाट तिनले एकल वृद्ध जीवन बिताइरहेका छन्। पारिवारिक सेवा, सहारा र स्नेहबाट विमुख भएका छन्। पश्चिमाको जस्तै वृद्धाश्रमको खोजमा भौंतारिएका छन्।

सरकारी तवरबाट ज्येष्ठ नागरिकको सम्मानका लागि केही प्रयत्न भएको छ भन्ने ज्येष्ठ नागरिक दिवस हो। यो पनि देशमा मनाइने सयौं दिवसजस्तै एउटा औपचारिकता मात्र हो। केही नगरपालिकाले सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप एकमुष्ट १० हजार रुपैयाँ दिँदै आउनुले पनि ज्येष्ठ नागरिकको सम्मान ठहर्दैन। यस्तो सम्मान उत्कृष्ट काम गरेबापत मात्र दिइन्छ। उमेरले पाको व्यक्ति त्यस्तो उत्कृष्ट होइन।

वीर अस्पतालमा ज्येष्ठ नागरिक तथा अशक्तका लागि विशेष सेवा दिन छुट्टै क्लिनिक सञ्चालनमा ल्याउने सोच सकारात्मक भए पनि त्यो पर्याप्त होइन। नीतिभित्र आएको छैन। देशका सबै ज्येष्ठले समानरूपले त्यो सुविधा पाउने अवस्था छैन। सहज तरिकाबाट पाउने प्रबन्ध छैन। वृद्धको हक बनेको छैन। ज्येष्ठलाई दिइएको समय र तिनीसँग काम गर्ने कर्मचारीको व्यवहार पनि वृद्धमैत्री छैन।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment