त्यो नै विशाल छ, 'आँखाको नानी' जस्तो वा 'मुटुको केन्द्रको भल्का' जस्तो, जहाँ? परमानन्द घनीभूत छ'। तर यो पौराणिक कथाजस्तो भइसकेको छ आज। नेपालमा अहिले परमानन्द होइन परमव्यथा घनीभूत छ।
नेपालीको अहिलेको व्यथा भनेको नेतृत्वतहमा विराजमान महानुभावमा सोचको खडेरी पर्नाले हो जसले गर्दा भ्रष्टाचार उनीहरूको अजेन्डा बन्न पुगेको छ। यसरी भ्रष्टाचार मूल प्रवाह राजनीति बनेकोले मुलुक गन्तव्यहीन बनेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनलले प्रकाशित गरेको विश्वमा हाल कहाँ कति भ्रष्टाचार छ भनेर हेर्ने इन्डेक्स अर्थात् सूचीपत्रअनुसार नेपालले एक सयमा ३१ अंक पाएको छ। यो भनेको खराब हो। अनि त भ्रष्टाचारले जनजीविका र मुलुकको पहिचानलाई भक्षण गर्दै गइरहेको छ। त्यसैले होला गत साता उद्योग वाणिज्य महासंघको कार्यक्रममा सभामुखले जसरी जे भने यो यही दु:खलाई नै अभिव्यक्त गरेका होलान्। उनले भने, 'मुलुक अहिले भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ।' कसरी? त्योभन्दा अझ महत्त्वपूर्ण प्र्रश्न हो, यस्तो अवस्थामा के बाँकी रहन्छ त?
समुद्रमा सम्पूर्ण रूपबाट हिउँले बनेको पहाडलाई 'आइसवर्ग' भनिन्छ तर यसको केवल १० भागको एक भागमात्र हिउँ पहाडका रूपमा देखिन्छ। बाँकी त पानीभित्र चुर्लुम्म डुबेको हुन्छ। त्यसैले होला त्यो कुनै चीजको वर्णन गर्दा त्यो टुप्पोमात्र हो र भित्र त कति छ कति भन्नका लागि अंग्रेजी भाषामा 'टिप अफ त आइसवर्ग' भन्ने चलन बन्यो। चुर्लुम्मको अर्थ हुन्छ पानीमा पूरै डुबेको। त्यसैले चुर्लुम्म डुबेको अर्थमा त डुब्नबाट जोगिएको चीज केही पनि बाँकी नरहेको भन्ने हुन्छ।
अर्थात् भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्नु त भ्रष्टाचारमा सबै डुबेको छ, सबै डुबेका छन्। अरू देखिने रूप कतै केही छैन। खाइसक्यो यसले वा भित्रभित्रै सब खाँदै गइरहेको वा मुलुकको सम्पूर्ण अर्थ-राजनीतिक क्रियाकलाप भ्रष्टाचारभित्र गमन भइसकेको छ भन्ने हुन्छ। अर्को अर्थमा भन्नुपर्दा शासन र प्रशासनका गतिविधि सबै भ्रष्टाचारबाट निर्देशित हुन्छन् र भएका छन्।
यस्तो अवस्था कसरी आउँछ? यसको उत्तर हो सामाजिक मान्यता जसरी बन्छ। वास्तविक अर्थमा यसरी बनेको मान्यताले यस्तो अवस्थाको निर्धारण गर्छ। यो मान्यता धर्म र राजनीतिले बनाउँछ। त्यसले नै हो धर्मका मठाधीशले शासकलाई र शासकले यी मठाधीशलाई टेवा दिँदै आएका हुन्। चाहे युरोपमा चर्चले राजतन्त्रलाई होस् वा हाम्रो मुलुकमा धर्माधिकारले राजतन्त्र वा उनको नाममा शासन गर्ने राणातन्त्रलाई होस्। यसरी शासकको चाहना र आमोद-प्रमोदका लागि शोषणपूर्ण अर्थ-राजनीतिलाई सामन्ती व्यवस्थाअन्तर्गत सामाजिक मनलाई कन्डिसन गर्दै लगिएको हुन्छ। छोरा पायौ रे होइन भनेर शासकबाट सोधनी हुँदा झुकेर जमिनध्वज हुँदै 'सरकारको निगाह' भन्ने सम्मको अभिव्यक्ति पनि स्वस्फूर्त निस्किन्थ्यो कुनै बेला।
यस्तो अवस्थामा पनि त्यसबाहेकका अरू कुरामा असल मान्छे बन्नुपर्छ भन्ने समग्रता बेस्सरी बाँचेको थियो। त्यसैले पहिलेको नेपालमा यो कुरोलाई ध्यान दिने हुँदा छोराछोरीको विवाह गर्दासमेत यो कुराको हेक्का राख्थे र भन्थे, फलानाको छोरी त विवाह गर्नु हुँदैन हाम्रो नातिलाई किनकि उसको बाजे अमिनीको लप्टान हुँदा घूस खाएका थिए। त्यस्तो कुअन्न परेको परिवारवारको कन्याबाट हाम्रो वंश राम्रो हुन सक्दैन। यो एक किसिमको समाजभित्र बनेको सन्तुलन व्यवस्था थियो। तर अहिले त्यसको ठीक विपरीत छ। अहिले बाबुले भन्न थाले, 'त्यो मेरो कान्छो छोरो त नालायक भएर निस्क्यो। एअरपोर्ट भन्सार एक वर्ष सुब्बा हुँदा एउटा घरसम्म पनि जोड्ने सकेन।'
परम्परागत मान्यता विस्थापित हुँदै जाने क्रम आधुनिकीकरणको पदार्पणसँगै हुन्छ। अब बन्ने सामाजिक मान्यता कस्तो हुने हो त्यो नयाँ परिवर्तनले अंगीकार गरेको राजनीतिक मान्यताले निर्धारण गर्छ। यसबाटै निर्देशित हुने हो शासन व्यवस्था कुशासन वा सुशासनतर्फ जाने। धर्म र शासकबीचको साँठगाँठबाट चलेको सामन्तवादी शोषणबाट हाँकिएको अर्थ-राजनीतिक व्यवस्था समयको अन्तरालमा ढिलोचाँडो अन्तत: विस्थापित हुने प्राकृतिक नियम हो। त्यसैले विस्थापित हुनमा सन्देह छैन। तर कहिले वा समयको कुन बिन्दुमा हुन्छ भन्ने भित्री-बाहिरी धेरै कुरामा निर्भर गर्छ। यस क्रममा दोस्रो विश्वयुद्धको परिणामस्वरूप उठेको राष्ट्रियताको ज्वारभाटाले भारतलगायत कतिपय एसियाली तथा अफ्रिकी उपनिवेशवादी मुलुक स्वतन्त्र राष्ट्र भए।
यस क्रममा नेपालमा पनि चलिरहेको थियो राणाशासनविरुद्धको सशस्त्र आन्दोलन। तर यसलाई रोकाइयो। कारण थियो तिब्बतको संकट। त्यो बढेर यस क्षेत्रमा सल्किए आफ्नै मुलुक पनि असन्तुलित होला भन्ने डरले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले राजा त्रिभुवन, नेपाली कांग्रेस र राणाशासकबीच त्रिपक्षीय सम्झौता गराइदिएर टुंग्याइदिए। यस अर्थमा आन्दोलन न्यायोचित मञ्जिलमा पुग्नुअगाडि नै तुहियो। आन्दोलनको नेतृत्व गरिरहेका कांग्रेस नेता बीपी कोइरालाले पछि भनेका छन्, 'दिल्लीको हैदराबाद हाउसमा बसेका हाम्रा राजा त्रिभुवनसँग भेट्न पनि नदिएर अनि छलफलमा भाग लिनसम्म पनि नदिएर यो सम्झौता हामीमा थोपरिएको थियो। नेपाल कम्युनिस्ट पार्टीले त्यतिबेलै 'दिल्ली सम्झौता धोका हो' भनेर विरोध गर्यो। अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरलाई प्रजातान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री अन्यत्रैबाट बनाइदिए। योभन्दा ठूलो व्यंग्य प्रजातन्त्रप्रति के हुन सक्ला?'
जे होस्, परिवर्तन एउटा ठूलो फड्को थियो यस अर्थमा कि नेपाली अब रैतीबाट जनता बनेका थिए। आजको तुलनामा त्यतिबेलाका नेता मुलुकलाई धेरै माया गर्ने थिए। चाहे टंकप्रसाद आचार्य हुन्, बीपी कोइराला वा डा. केआई सिंह। राष्ट्रप्रेम थियो उनीहरूमा र राजनीतिलाई तपस्या ठान्थे न कि अहिलेकाहरूले जस्तो पैसा कमाउने व्यवसाय। तर पनि प्रतिष्ठापित भएन प्रजातान्त्रिक मान्यता।
यसको कारण थियो सामन्तीले नै रूप फेरेर परिवर्तनलाई आफ्नो स्वाद र सन्तुष्टिको लागि प्रयोग र उपभोग गर्दै गए। राजनीतिलाई असन्तुलित पारियो अनि प्राकृतिक प्रक्रियामा जान ब्रेक लगाइयो। यस क्रममा भ्रष्टाचार हुर्किंदै गयो। नेपालीको सँगालिएको विश्वास जितेर नेपालको पहिलो प्रधानमन्त्री बनेका बीपी कोइराला सानो मुलुकले पाएको ठूलो व्यक्तित्व थियो, जसलाई नेहरूले पचाउन सकेनन्। जुन ८, १९६० मा भएको मुस्ताङ घटनापश्चात् त्यतिबेलासम्म जानकारी नभएको चिठी, जुन मोहन शमशेरलाई प्रधानमन्त्रीमा कायम राख्ने आश्वासन दिएर गराइएको सन् १९५० को सन्धिको अंग मानिएको थियो, सोका आधारमा नेहरूले गरेको घोषणा र बीपीले त्यसलाई लक्षित गरेर सुन्दर कूटनीतिक भाषामा प्रकाशित गरेको विज्ञप्तिले मात्र पनि यो कुरालाई प्रस्ट गर्छ। यसको प्रतिफल बनेर आयो २०१७ सालको राजा महेद्रको कदम। हो, प्रजातन्त्र खोसे उनले। त्यसको हुँदाहुँदै पनि उनी स्पष्ट दृष्टिकोण भएका मान्छे थिए।
भ्रष्टाचारमा मुलुक चुर्लुम्म डुबेको छ। यसको एकमात्र उपाय हो भ्रष्टाचार सुकाउँदै लैजान सक्नुपर्यो। त्यो अहिलेको यथास्थिति राजनीतिमा असम्भव छ। सम्भव त्यतिबेला मात्र हुनसक्छ जब हामी नेपाली मिलेर आफ्नै तागतले निर्णायक क्रान्ति गरेर यी लुड्याउन पल्केका कुडाकर्कट बढारेर फाल्न सक्छौं।
सीधासाधा, असल र मुलुकलाई माया गर्ने मान्छे थिए राजा वीरेन्द्र। त्यसैले २०४६ सालको जनआन्दोलको अन्तिम बेलामा विदेशीको सर्त मानेर मुलुकको हितसँग सम्झौता गरेर सक्रिय राजा हुन् भन्दा संवैधानिक राजा भएर बस्न तयार भए उनी। बीपीको संघर्ष यसैका लागि थियो। उनले मसँग पनि २०३७ सालमा भनेका थिए-प्रजातान्त्रिक फ्रेमवर्कभित्र रहने पुजनीय संस्था हो राजतन्त्र।
अर्थात् राज्य गर्ने भनेको जनप्रतिनिधिले मात्र हो। भनिहालौं, यसमा आन्तरिक सन्तुलन र विश्वास कायम गर्न नसक्दा विदेशी घूसपैठको कारण नेपालको राजनीति सधैं असन्तुलित हुँदै गएर नेपाली जनताले दु :ख पाए र राजतन्त्र विस्थापित हुन पुग्यो। तसर्थ राजा वीरेन्द्रको यतिबेलाको सोच र राज्य गर्ने भनेको जनताको प्रतिनिधिले मात्र हो भन्ने कुराको सुन्दर संगमको रूपमा पहिलो जनआन्दोलनपछिको त्यो क्षणलाई लिन सकिन्छ। यो ठूलो अवसर थियो प्रजातन्त्रका योद्धाहरूका लागि सुशासन दिने मान्यतालाई प्रतिष्ठापित गर्ने। तर उनीहरूले उल्टो गरे। मुलुकलाई कुशासनमा ब्रेक फुस्किएको साइकल जसरी दौडाए।
कुशासन भनेको मूलत: विधिको शासन हुन नदिने, अख्तियारको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने र मुलुकको हितविपरीतको काम गर्ने हो।
श्राद्धको खिर खाएजस्तो गरेर प्रजातन्त्रको खिर खान लुटतन्त्रलाई मूलप्रवाह राजनीति नै बनाए यी प्रजातन्त्रका योद्धाहरूले। चुनिएका व्यापारीलाई हाता लिए, जसलाई बाइ डेफिनेसन, 'चोर' भन्ने पनि गरिएको छ। त्यतिमात्र होइन, आआफ्नो सहयात्री नै बनाए। यसरी राजनीतिज्ञ, व्यापारी र अपराधकर्मीबीचको त्रिकोणात्मक गठबन्धन बन्यो। अलिक पछि ब्युरोक्रेसी पनि थपेर यसलाई चौमुखे बनाए। यसरी हट्टाकट्टा भएको भ्रष्टाचारको खुराक नेताले भाषणमा रूपान्तर गर्ने जनजीविकाको कुरो बन्यो। जनजीविका नै निलिदियो भ्रष्टाचारले। राष्ट्रिय संवेदनशीलता सखाप पा:यो। नयाँ प्रतिष्ठापित विकासको मान्यता बन्यो भ्रष्टाचार जसले राष्ट्रको ठूलो विनाश गर्दै आएको छ।
दोस्रो जनआन्दोलनमा आइपुग्दा आन्तरिक तागत घट्दै गइसकेको थियो भने परनिर्भरता डरलाग्दो रूपमा बढिसकेको थियो। राजा ज्ञानेन्द्रको घटेको राज्य गर्ने ऐतिहासिक वैधानिकता, स्लिपवाकर प्रवृत्ति र सरकारभित्रकै विध्वंसकारी करामतले उनी कमजोर बनेका थिए जसको हेक्का उनमा देखिएन। यसै मेसोमा विदेशीको घूसपैठ राष्ट्रिय शरीरको हरेक अंगमा प्रबल भएको थियो। यसरी कमजोर मुलुकलाई झ्न कमजोर पारेर आफूले चाहेअनुसार प्रयोग र उपयोग गर्ने विदेशीको अभिप्रायले दोस्रो जनआन्दोलनको तर्जुमा र उपयोग भयो। त्यसकारण यस आन्दोलनबाट सत्तामा ल्याइपु:याइएकाहरूको राजनीतिक आतसबाजी, जबर्जस्ती राजतन्त्र फाल्ने र मुलुक लुट्नेबाहेक अरू कुनै अजेन्डा नै रहेन।
यसरी यत्र, तत्र, सर्वत्र भ्रष्टाचारको राज भयो। यसरी नै हो सभामुखले भनेजस्तै भ्रष्टाचारमा मुलुक चुर्लुम्म डुबेको छ। यसको एकमात्र उपाय हो भ्रष्टाचारलाई सुकाउँदै लैजान सक्नुपर्यो। त्यो अहिलेको यथास्थिति राजनीतिमा असम्भव छ। सम्भव त्यतिबेला मात्र हुनसक्छ जब हामी नेपाली मिलेर आफ्नै तागतले निर्णायक क्रान्ति गरेर यी लुड्याउन पल्केका कुडाकर्कट बढारेर फाल्न सक्छौं। त्यतिबेला भन्न सक्छौं- तिनलाई पनि जसले हामीलाई सधैं असन्तुलित पारेको छ, 'हेर हामीलाई असनतुलित पारेर अन्तत: तिमी सन्तुलित रहन सक्ने छैनौ'। तब मात्र नयाँ थालनी हुनसक्छ। त्यसैले म फेरि भन्छु- क्रान्ति आवश्यक मात्र होइन, अनिवार्य छ।
अन्नपुर्ण पोस्टबाट साभार








0 comments:
Post a Comment