मलेसिया सरकारलाई नेपालको पाँचबुदे शर्त 'बायोमेट्रिक लागु गर्दा नेपाली कामदार ठगिन हुन्न'
५ असार, काठमाडौं । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि लागु गर्न लागिएको बायोमेट्रिक प्रणालीले नेपाली कामदारलाई आर्थिक भार थपिने र नेपालबाट वर्षेनी करोडौं रुपैया मलेसिया जाने देखिएपछि सरकार पुनर्विचार गर्न बाध्य भएको छ ।मलेसियन एजेण्न्ट र नेपाल स्वास्थ्य व्यवसायी महासंघबीच करोडौं रुपैयाँ कमिसनको चलखेल भएपछि श्रम मन्त्रालयले यो प्रणाली लागु गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो ।
यो प्रणाली लागु गरिएमा नेपाली कामदारले कम्तिमा १७ हजार रुपैया स्वास्थ्य परीक्षणकै नाममा तिर्नुपर्ने, वर्षेनी ३० करोड भन्दा भढी रकम मलेसिया जाने र २ सय ८९ ओटा स्वास्थ्य संस्थाहरु बन्द हुने अवस्था देखिएपछि सरकारमाथि पुनर्विचारको दबाब परेको हो । यो निर्णय विरुद्ध स्वास्थ्य व्यवसायी, बैदेशिक रोजगार व्यवसायीहरु आन्दोलनमा छन् ।
बायोमेटि्रक प्रणालीबारे विवाद भएपछि परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालयसँग सुझाव मागेको थियो । तर, बायामेटि्रक प्रणाली लागु गर्नका लागि नेपाल सरकारले मलेसिया सरकारसँग पाँचवटा शर्त राखेको श्रम मन्त्रालयका एक अधिकारीले बताए ।
जसमा बायोमेटि्रक लागु गर्दा आवश्यक पर्ने सफ्टवेयर मलेसिया सरकारले निःशुल्क दिनुपर्ने, स्वास्थ्य परीक्षण शुल्क नेपाल सरकारले तोकेअनुसार हुनुपर्ने, अतिरिक्त शुल्क लिन नहुने, स्वास्थ्य परीक्षणको गुणस्तरमा सम्झौता नहुने र बायोमेटि्रक लागु गर्न खोजिएका सबै मुलुकमा एकैचोटि लागू हुनुपर्ने शर्त अघि सारिएका छन् ।
श्रम मन्त्रालयबाट आएको यो सुझावसहितको शर्त परराष्ट्रले मलेसिया सरकारलाई पठाउन लागेको मन्त्रालय स्रोतले जनाएको छ ।
मलेसियाका गृहमन्त्रीका ज्वाइँको कम्पनी बेस्टिनेट अन्तर्गतको बायोमेटि्रक प्रणाली अन्य १४ देशमा लागु भएमात्र नेपालले पनि स्वीकृति दिने यसअघिका श्रमसचिव सुरेशमान श्रेष्ठले अडान लिएका थिए । तर, उनको सरुवा भएपछि रातारात यस्तो बायोमेटि्रक लागु भएको भन्दै स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष प्रविन तिवारीले पत्रकार सम्मेलन गरेका थिए ।
स्वास्थ्य व्यवसायीहरुका अनुसार महासंघले केही मेडिकलले मात्र बायोमेटि्रक जडान गर्ने र सिण्डिकेट चलाउने गरि एक मेडिकलबाट ५० लाख रुपैया उठाएको छ ।
श्रम मन्त्री, सचिव लगायत उच्च अधिकारीलाई घुस खुवाउनका लागि भन्दै सो रकम उठाइएको व्यवसायी जय गुरुङले बताए । के आर मेडिकल सेन्टरकी रन्जना वाग्ले र न्यु वल्र्ड भ्यू मेडिकल सेन्टरका शालिकराम बिकले आफूहरुले बायोमेटि्रककका लागि पचास-पचास लाख बुझाएको स्वीकार गरेका छन् ।
त्यसमध्ये बायोमेटि्रक मेसिनका लागि ८ लाख रुपैया पर्छ भने अरु महासंघका पदाधिकारीहरुले नेपालदेखि मलेसियासम्म सेटिङ मिलाउदा खर्च भएको जवाफ दिएका छन् ।
३८ ओटा मेडिकलबाट पचास-पचास लाख असुलेर यो प्रणालीको इजजात दिइएको र अन्य २ सय ५० भन्दा बढी मेडिकलहरु बन्द गराउन खोजिएको व्यवसायी गुरुङले बताए । सरकारले मलेसियालाई पाँच शर्त पठाउन लागेको हो भने त्यसमा आफूहरुको पनि सहमति रहने उनीहरुले बताएका छन् ।








0 comments:
Post a Comment