Thursday, July 3, 2014

खेलाडीको प्रहारले रेफ्रीको मृत्यु

न्युयोर्क : रेफ्रीलाई खेलमा अनुशासन कायम गर्ने जिम्मेवारी हुन्छ। खेलका क्रममा नियम तोड्नेलाई उसैले कारबाही गर्छ।

रेफ्रीको निर्णयलाई लिएर खेलाडीले आपत्ति जनाउन पाउँछन्, तर खेलाडीले रेफ्रीको शरीरमा भने छुन पाउँदैनन्। खेलाडीले आफ्नो शरीरमा छोए रेफ्रीले कारबाही गर्न सक्छन्। यति हुँदाहुँदै पनि असन्तुष्ट खेलाडीले रेफ्रीमाथि जाइलागेका घटना समाचारमा आइरहन्छन्।

मिचिगनस्थित लिभोनियामा गत साताको अन्त्यतिर रमाइलोका लागि खेलिएको फुटबल खेलका क्रममा खेलाडीको प्रहारबाट घाइते बनेका रेफ्री जोन बेनेबिचको मृत्यु भएको छ। आफूलाई मैदानबाट बाहिर निकाल्न खोजेपछि बासेल अब्दुल आमिर सादले ४४ वर्षीय बेनेबिचको टाउकोमा प्रहार गरेका थिए। बेनेबिचलाई तत्कालै उपचारका लागि लिभोनियास्थित डेट्रोइट मेडिकल सेन्टरमा लगिएको थियो।

चिकित्सकले उनलाई बचाउन यथासम्भव प्रयास गरे पनि मंगलबार बेनेबिचको मृत्यु भएको बेलायती समाचार संस्था रोयटर्सले जनाएको छ। घटनालाई लिएर ३६ वर्षीय सादविरुद्ध स्थानीय अदातलमा मुद्दा दर्ता भएको छ। बेनेबिच वेस्टल्यान्डमा बस्दै आएका थिए।

सामान्य खेल भए पनि रेफ्रीले आफूलाई निकाल्न खोजेपछि साद आक्रामक बनेका थिए। प्रहरीले प्रत्यक्षदर्शीलाई प्रमाण बनाएर मुद्दा चलाएको बताइएको छ। अमेरिकामा बेसबल, रग्वीलगायत खेल बढी लोकप्रिय भए पनि पछिल्लो समय यहाँ फुटबल पनि अगाडि आउन थालेको छ। आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । -एजेन्सी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment